२६ माघ–३ फागुन २०७६ | 9-15 Feb 2020

अरुण तेस्रोमा लगानी सुनिश्चित

Share:
  

नेपालको सबैभन्दा ठूलो जलविद्युत् आयोजना अरुण तेस्रोका लागि आवश्यक लगानी सुनिश्चित भएको छ । ९०० मेगावाट क्षमताको यो आयोजनामा स्टेट ब्याङ्क अफ इन्डिया, पञ्जाब नेशनल ब्याङ्क, केनरा ब्याङ्क, एक्जिम ब्याङ्क, युनियन ब्याङ्क गरी पाँच भारतीय तथा दुई नेपाली ब्याङ्क एभरेष्ट र नबिलले कुल रु.१ खर्ब १ अर्ब ३३ करोड ऋण लगानी गर्ने भएका छन् । अरुण तेस्रोको प्रवद्र्धक सतलज अरुण तेस्रो पावर डेभलपमेन्ट कम्पनी हो ।

२२ माघमा बसेको लगानी बोर्ड बैठकले अरुण तेस्रोद्वारा पेश गरिएको वित्तीय व्यवस्थापनको प्रस्ताव स्वीकृत गरेको थियो । नेपालको जलविद्युत् क्षेत्रमा भित्रिएको यो अहिलेसम्मकै ठूलो लगानी हो । आयोजनाका लागि भारतका ब्याङ्कले करीब रु.८६ अर्ब र नेपालका ब्याङ्कले रु.१५ अर्ब ३३ करोड ऋण लगानी गर्ने सम्बन्धी सम्झौतामा आयोजना प्रवद्र्धक कम्पनी र ब्याङ्कहरूबीच २३ माघमा काठमाडौंमा हस्ताक्षर भएको छ ।

लुम्बिनीमा बौद्घ महोत्सव

२४ माघदेखि लुम्बिनीमा शुरु तीनदिने अन्तर्राष्ट्रिय बौद्ध कला, संस्कृति र साहित्य महोत्सवको प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गरे । महोत्सव प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र लुम्बिनी बौद्ध विश्वविद्यालयले आयोजना गरेका हुन् । महोत्सवमा मोलाम पूजा, बौद्ध कला तथा संस्कृतिको प्रदर्शनी हुनेछ ।

महोत्सव उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले लुम्बिनीको विकासमा स्वार्थको राजनीति हावी भएको बताए । उनले स्थानीय जनप्रतिनिधि र राजनीतिक दललाई विकासमा राजनीति नगरी मिलेर अघि बढ्न आग्रह गरे । प्रदेश–५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले लुम्बिनी अन्तर्राष्ट्रिय पर्यटकीय स्थल मात्र नभएर विश्वशान्तिको उद्गमथलो भएको बताए ।

प्रज्ज्वल ओलीलाई स्पोर्टस् मिडिया अवार्ड

पत्रकार प्रज्ज्वल ओलीले द काठमाडौं पोस्ट मा लेखेको समाचारले विश्वकै उत्कृष्ट खेलकुद समाचार अवार्ड जितेको छ । ‘मुश्किलले ५० वटा खेल खेलिने नेपालमा २०० भन्दा बढी संघ पालिएका छन्’ शीर्षकको समाचारलाई विश्वका खेलपत्रकारको छाता सङ्गठन ‘इन्टरन्याशनल स्पोर्टस् प्रेस एशोसिएसन (एआईपीएस)’ ले पुरस्कृत गरेको हो । ओलीलाई २० माघ हंगेरीको बुडापेस्टमा आयोजित कार्यक्रममा ‘एआईपीएस स्पोर्टस् मिडिया अवार्ड’ दिइएको हो । ‘राइटिङ बेस्ट कोलम’ विधामा अवार्ड जितेका उनले ८ हजार अमेरिकी डलर पुरस्कार समेत प्राप्त गरेका छन् ।

नेपाली खेलकुद पत्रकारिताले जितेको यो पहिलो र ठूलो अन्तर्राष्ट्रिय अवार्ड हो । १२५ राष्ट्रका खेलपत्रकारहरूले प्रकाशन गरेका समाचारमध्येबाट ओलीको समाचार उत्कृष्ट घोषित भएको हो ।

ट्रम्प विरुद्घको महाभियोग अस्वीकृत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध लगाइएको महाभियोग प्रस्ताव माथिल्लो सदन सिनेटले अस्वीकृत गरेको छ । सिनेटमा २२ माघमा भएको मतदानमा ट्रम्पको पक्षमा ५२ र विपक्षमा ४८ मत परेको थियो । डेमोक्र्याटहरूको बहुमत रहेको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभबाट २ पुसमा ट्रम्प विरुद्ध महाभियोग प्रस्ताव पारित भएपछि उक्त प्रस्ताव माथिल्लो सदनमा पेश गरिएको थियो ।

अन्तरिक्षमा एक वर्ष

अमेरिकी अन्तरिक्ष यात्री क्रिस्टिना कोच अन्तरिक्षमा सबैभन्दा बढी दिन बिताउने महिला बनेकी छिन् । उनी अन्तरिक्षमा ३२८ दिन रहेर २३ माघ पृथ्वीमा फर्केकी छन् ।

४१ वर्षीया इन्जिनियर कोच कजाकस्तानमा अरु दुई अन्तरिक्ष यात्रीसहित अवतरण गरेको अमेरिकी अन्तरिक्ष संस्था (नासा) ले जनाएको छ । उनीसँग फर्किएका अन्य दुई सदस्यमा युरोपेली अन्तरिक्ष निकायका लुका पार्मिटानो र रसियाका अलेक्जान्डर स्केभोर्सोभ छन् ।

comments powered by Disqus

रमझम