असोज २०७८ | 17/09/2021

रैथाने सामग्रीको अपेक्षा

Share:
  
- यमबहादुर दुरा, काठमाडौं

केही समयको विश्रामपछि साप्ताहिक खबरपत्रिकाबाट मासिक म्यागजिनको रूप धारण गर्दा हिमाल विषयवस्तुको चयन र प्रस्तुतीकरणमा भिन्नता लिएर आयो ।

राजनीतिमा समाजवादी र साहित्यमा अराजकतावादी भन्दै पाठकलाई लठ्याइरहने बीपी कोइरालाका अस्ताचल क्षणहरू सम्बन्धी संस्मरण बेजोड लाग्यो ।

लोकतन्त्रको घाम उदाएर मध्यदिन भइसक्दा पनि टीकापुरका थारू समुदायले सहनुपरेको अँधेरा पल सम्बन्धी सामग्री धन्यवाद दिन लायक छ । न्यायको उज्यालो दिनको व्यग्र प्रतीक्षामा रहेका नागरिकको पक्षमा आवाज उठाएर हिमालले मिडियाको असली धर्म निर्वाह गरेको छ ।

हाम्रै अकर्मण्यताका कारण विदेश सङ्ग्रहालयको शोभा बढाएर बसेका मूर्तिहरूको स्वदेश फिर्ती सम्बन्धी आलेखहरू पठनीय र मननीय छन् । नेपालको पुरातत्व, अध्यात्म र कलाकारिताको त्रिकोणात्मक प्रतिविम्ब भेटिने यस्ता बहुमूल्य कलाकृतिको फिर्तीका लागि हिमालको खबरदारी र पहलकदमी वन्दनीय छ । विगतमा वसन्त थापाको लेखाइ अचम्मै सुस्वादु लाग्थ्यो । यस पटक उहाँको लेखाइमा उतिबिधि दम भेटिनँ ।

हिमालले राजनीतिकोे समसामयिक बिकाउ तस्वीर देखाउनुभन्दा देशमा लोकतन्त्र नामको ‘रामवाण’ प्रवेश गरेपछि राजनीतिक संस्कार कसरी शनैःशनैः विकृत बन्न पुग्यो र राजनीतिक नेतृत्व कसरी पथभ्रष्ट हुन पुगे भन्ने विषयमा अन्तरदृष्टियुक्त श्रृङ्खलाबद्ध सामग्री पस्किनु श्रेयष्कर हुनेछ ।

आउँदा दिनमा अल्पसङ्ख्यक समुदायका हक–अधिकार, रैथाने ज्ञान र संस्कृति, शिक्षा र स्वास्थ्य क्षेत्रमा भएको चरम व्यापारीकरण, राज्यले पूरा गर्न नसकेका संविधानप्रदत्त अधिकार आदि विषयमा हिमालले पठनीय सामग्री पस्कन सकोस् ।


वामनावतारको मूर्तिबारे

हिमालको भदौ अङ्कमा प्रकाशित लेख ‘नेपाली पुरावस्तुको बसाइँसराइ’ माथि हिमालखबरडटकममा गौतम वज्राचार्यको टिप्पणीमाथि सानो प्रतिक्रिया दिन मन लाग्यो । उनको टिप्पणी छ, ‘आफूले नजानेको विषयमा किन बोल्ने ? भारतमा राजा मानदेवको समयभन्दा तीन सय वर्ष अगाडिका त्रिविक्रम वामनावतारका मूर्ति पाइन्छन् (Gautama V. Vajracharya, “Kirtimukha, The Serpentine Motif, and Garuda… ” Artibus Asiae, vol. LXXIV, no. 2, 2014, p. 321).

वामनावतारको मूर्तिको प्राचीनताको विषयमा मैले आफ्नो पहुँचमा भएका सामग्रीका आधारमा लेखेको थिएँ । नयाँ नयाँ खोजी हुँदै जाँदा पुराना कुरा काटिन सक्ने हुनाले निकै आतुरी गरी गौतम वज्राचार्यको त्यो लेख खोजी पल्टाएँ । त्यसमा त उनले मथुराको त्यस त्रिविक्रम मूर्तिको कालनिर्णयको विषयमा विशेष केही नलेखी खालि ‘सी. २न्ड् सेन्चुरइ सीई’ अर्थात् ‘अन्दाजि ईसवीको दोस्रो शताब्दी’ मात्र लेखेका रहेछन् ।

त्यसबाट मेरो काम चलेन र खोज्दै जाँदा अर्को एउटा लेखमा मेरो आँखा पयो । के.एस. देसाईको आइकोनोग्य्राफ्इ अफ् विष्णु, (नयाँ दिल्लीः अभिनव पब्लिकेशन्ज, सन् १९७३) को आधारमा वामन–त्रिविक्रमको सबभन्दा पुरानो मूर्ति मथुराको कात्रा भन्ने ठाउँको एउटा ढिस्कोमा पाइएको मूर्ति हो, त्यसको समय पछिल्लो कुषाणकाल वा अघिल्लो गुप्तकालको अर्थात् अन्दाजि ईसवीको तेस्रो–चौथो शताब्दीको हो भनी त्यहाँ लेखिएको रहेछ (वीणा मुड्डी, ‘वामन–त्रिविक्रम इन् बादामी चालुक्य स्कल्प्चर्’,* ग्लोबल् रिसर्च् अन्यालिसिस्* २ ठेली, ९ अङ्क, सन् २०१३, १७४ पृ.) ।

देसाईको त्यो किताब त मैले देखेको छैन, तर त्यस मूर्तिको समय स्पष्ट पार्ने कुनै अभिलेख छैन, मूर्तिरचनाको शैलीको आधारमा यसको मोटामोटी समय निर्धारण गरेको देखिन्छ । गौतम वज्राचार्यले त्यस मूर्तिको समय ‘अन्दाजि ईसवीको दोस्रो शताब्दीको’ र देसाईले चाहिँ ‘ईसवीको तेस्रो–चौथो शताब्दीको’ भनी लेखेकैबाट कुनै प्रामाणिक शास्त्रीय परिपाटीबाट समय निर्धारण भएको रहेनछ भनिरहनु नपर्ला ।

वीणा मुड्डीको लेख छापिएको पनि ८ वर्ष भइसक्यो, यस अन्तरालमा मथुरामा पाइएको त्यस मूर्तिको समयको विषयमा बढी खोजी भइसकेको छ कि ? त्यस विषयमा प्रकाश पार्न गौतमसँग आग्रह गर्छु ।

मलाई त मेरो त्यो लेख छापिएपछि ५० वर्ष अगाडिदेखि नेपाली मूर्तिहरूसँग खेल्दै आएका गौतम वज्राचार्यले मेरो लेखको उपशीर्षक ‘कलैतिहासिकहरू नै कलाकृतिका व्यापारी !’ मा आपत्ति उठाउँछन् जस्तो लागेको थियो, त्यो गर्न उनलाई कुन शक्तिले रोक्यो, उनै जानून् ।

डा. महेशराज पन्त
काठमाडौं


मूर्ति फिर्तीको थप पहल

लामो समयदेखि बन्द भएको हिमाल २०७८ भदौदेखि मासिक रूपमा प्रकाशन हुन थालेकोमा खुशी लाग्यो । विविध विषयका आलेख र सामग्री विश्लेणात्मक र पठनीय लागे । खासगरी, चोरिएर विदेश पुयाइएका र संरक्षणविहीन अवस्थामा रहेका देवदेवीका मूर्तिहरूबारेको आवरण प्याकेज विशेष लाग्यो । हाम्रा अमूल्य निधि प्राचीन मूर्तिहरू हराई विदेशका संग्रहालयमा भेटिनु खेदजनक छ । ती मूर्ति फिर्ताका लागि सरकारले पछिल्लो समय गरेको प्रयत्न सकारात्मक भए पनि पर्याप्त भने छैन । हामीसँग भएका सांस्कृतिक सम्पत्तिको संरक्षण गर्न र हराएका/चोरिएका मूर्ति फिर्ता ल्याउन अझै ठोस र प्रभावकारी अग्रसरता आवश्यक छ । यसतर्फ हिमालले सुझाएंको बाटो राज्यको निम्ति मार्गदर्शक बन्न सक्छ । रञ्जित खड्का

त्रियुगा नगरपालिका, उदपुर


comments powered by Disqus

रमझम