२४ मंसिर - १ पुस २०७४ | 10-16 December 2017

‘भ्रूण हत्या’ होइन, लिंग पहिचान गरेर गर्भपतन

Share:
  
- अरुणा उप्रेती

१०–१६ मंसीरमा हिमाल मा छापिएको ‘भ्रूण हत्याः हुनेखानेको अपराध’ समाचारले सोच्न बाध्य बनायो । यो समाचारले महिलाको सामाजिक अवस्था कस्तो छ भन्ने देखाउँछ । तर, समाचारमा प्रयोग भएको ‘भ्रूण हत्या’ र ‘हुनेखानेको अपराध’ शब्दहरूको प्रयोग सही लागेन । हुनेखानेले मात्र होइन, गरीबले पनि छोराका लागि गर्भ तुहाउँछन् ।

कानूनी मान्यता पाएको गर्भपतनलाई ‘स्त्री हत्या’ ‘बाल हत्या’ र ‘भ्रूण हत्या’ भनिनु ठीक होइन । यसले गर्भपतनको अधिकार महिलालाई दिनु नै गलत थियो कि भन्ने बुझउँछ । जुन किमार्थ सत्य होइन । यसलाई ‘भ्रूण हत्या’ होइन कि ‘लिंग पहिचान गरेर गर्भपतन गरिनु सामाजिक समस्या हो’ भनी लेखिनुपर्छ । सरकारले कानूनी मान्यता दिएपछि गाउँघरका महिलामा पनि गर्भपतन सहज बनेको छ । नेपालगञ्जस्थित भेरी अञ्चल अस्पतालका एक स्त्री रोग विशेषज्ञका अनुसार, कर्णाली र सुदूरपश्चिमका जिल्लाहरूका लागि यो शहर गर्भपतनको केन्द्र नै बनेको छ ।

उपल्लो डोल्पामा भने यसरी लिङ्ग पहिचान गर्ने चलन खासै देखिन्न । यसमा भोटको सांस्कृतिक प्रभाव, नेपालगञ्ज आउन हिंडेरै ६–७ दिन लाग्ने वा विमानमै आउनुपर्ने भएकाले पनि हुनसक्छ । हिन्दू संस्कृतिको प्रभाव परेको मध्य डोल्पा भने मुलुकका अन्य भागमा जस्तै ‘दागबत्ती दिन र वंश जोगाउन छोरा नै चाहिने’ सोचाइबाट प्रेरित छ ।

नेपाली समाजमा ‘लिङ्ग पहिचान गरेर’ छोरी देखिएमा ‘गर्भपतन’ गराउने अहिलेको मात्र समस्या होइन । पहिले गर्भपतनलाई कानूनी मान्यता नहुँदा खर्च गर्न सक्ने निश्चित परिवारका महिला निजी अस्पताल वा भारत गएर गर्भपतन गराइरहेका थिए । तर अहिले देशभित्रै गर्भ पहिचान गर्ने र गर्भपतन गराउने चलन बढ्दैछ ।

हामीले लडेर ल्याएको गर्भपतन कानूनको मुख्य उद्देश्य महिलाको मातृ मृत्युदर घटोस्, असुरक्षित गर्भपतनले जीवनभर बिरामी हुनु नपरोस् भनेर हो । तर, अहिले विज्ञान प्रविधिको दुरुपयोग गरेर समाजमा छोरी भ्रूण जन्मनै नदिने प्रवृत्ति बढेको छ । यसले गर्दा पछि महिलाको संख्या कम भई सामाजिक विचलन आउन सक्छ । भारतका पञ्जाब, हरियाणा जस्ता राज्यमा यस्तो समस्या देखिइसकेको छ ।

कानूनमा आमाको मानसिक वा शारीरिक स्वास्थ्य ठीक नभएमा गर्भपतन गराउन पाउने अधिकार दिइएको छ । यही आधारमा गर्भपतन गर्न चाहने महिलालाई सेवा दिनु चिकित्सकको कर्तव्य हो । तर, अधिकांश परिवार गर्भपतनका लागि यही कानूनी छिद्र प्रयोग गरिरहेका छन् । तर, समस्या स्वास्थ्यकर्मीमा नभएको भने होइन । कानूनमा भिडियो एक्स रे पछि ‘छोरा कि छोरी’ भन्ने अधिकार स्वास्थ्यकर्मीलाई छैन । तर स्वास्थ्यकर्मीले परिवारको आग्रहमा यो ‘गैरकानूनी सूचना’ दिने गरेको पाइन्छ ।

गर्भमा छोरी रहेकै आधारमा गर्भपतन गरिनुमा परिवार वा स्वास्थ्यकर्मी भन्दा धेरै बढी हाम्रो सामाजिक संरचना र चिन्तनको दोष छ । छोरीलाई दोस्रो दर्जाको ठान्ने, छोरी नभए पनि हुन्छ तर छोरा नभई हुँदैन भन्ने हाम्रा धार्मिक, सामाजिक र दहेजलगायतका कुसंस्कार यस्ता गर्भपतनका ‘अपराधी’ हुन् ।

गर्भपतन रोक्ने उपाय भनेको सकेसम्म गर्भपतनको अवस्था नै आउन नदिनु हो, जसका लागि पुरुष र महिलाले परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्नुपर्छ । ती साधनहरू असफल हुँदा अनिच्छित गर्भ रहेमा त्यो बेला गर्भपतनको सुविधा लिने हो । गर्भपतन कानूनको अभीष्ट पनि यही हो । त्यसभन्दा पनि जबसम्म धार्मिक र सामाजिक रूपमा छोराछोरीलाई समान हैसियत दिइन्न, कानूनतः महिलाको अधिकार पुरुषसरह मानिन्न, तबसम्म लिङ्ग पहिचानसहितको गर्भपतन रोकिने छैन । तर, यसो भन्दैमा चूप बस्नुहुन्न । लिङ्ग पहिचान गरी गर्भपतन गराउने कार्यविरुद्ध सामाजिक चेतना जगाउनुपर्छ ।

comments powered by Disqus

रमझम