३‍-९ साउन २०७२ | 19-25 July 2015

'मेरो मर्जी' को पक्षमा

Share:
  
- अरुणा उप्रेती
महिलाको शरीरलाई पुरुषले आफ्नो अधिकार नसम्झिउन्, 'मेरो मर्जी' को सत्य यही हो।

हालै तराईको एक जिल्लामा गएकी थिएँ। जिल्ला अस्पतालका डाक्टरले महिला हिंसाको एउटा घटना सुनाए। “राति एक महिला गुप्ताङ्गमा काटिएको घाउ लिएर आइन्। दिउँसो खेतमा गोरुले हानेर घाउ भएको भनिन्। तर, मलाई थाहा थियो, उनी सत्य लुकाउँदै थिइन्। उनको उपचार गरें र फेरि त्यही कुरा सोधें। उनले रुँदै राति तेस्रो पटक पतिले यौनसम्पर्क राख्न खोज्दा 'सक्दिनँ' भनेकै कारण रीसले हँसियाले काटिदिएको बताइन्।”

समाजले पत्नीले जसरी पनि पतिको यौनेच्छा पूरा गर्नै पर्छ भन्ने विचार पुरुषमाथि लादेको छ। त्यसैले यौन हिंसालाई गम्भीर रूपमा लिइँदैन। कुनै महिला वा किशोरी बलात्कृत हुँदा उनले लगाएको छोटो लुगाले पुरुषलाई लोभ्याएको हुनुपर्छ भनिन्छ। यो गलत विचार समाज र पुरुषको दिमागबाट हटाउन नै 'मेरो मर्जी' भनिएको हो।

कानूनी रूपमा गर्भपतनको मुद्दा महिलाको प्रजनन् अधिकार हो, महिलाको मर्जी हो। यो आवाज उठाउनु भनेको महिलाको आमा बन्ने हक पनि सुनिश्चित गर्नु हो। महिलाको मर्जी विरुद्ध आमा बन्न र गर्भपतन गराउन कसैलाई हक नभएको तथ्य पनि स्पष्ट पार्नु हो।

गतांकको हिमाल मा शेखर खरेलको 'मेरो मर्जी' को विपक्षमा लेख पढ्दा लाग्यो, मानौं 'मेरो मर्जी' का पक्षधरहरूले यौनलाई मात्र प्रमुख मुद्दा बनाएका छन्, महिला हिंसाका थुप्रै पक्ष गौण छन्। तर, वास्तविकता चाहिं यो महिलाप्रति हुने सबै किसिमका विभेद विरुद्धको आवाज हो।

जब महिलाले 'मेरो मर्जी' भन्छिन्, 'कोसँग कस्तो सम्बन्ध राख्ने, कस्तो लुगा लगाउने, कुन काम गर्ने आदि सबैमा उनको स्वविवेक हुनुपर्छ' भनिएको हो। उनले कसैसँग कुनै प्रकारको सम्बन्ध राख्दा हिंसा हुनुहुँदैन भन्ने आधारमा नै भनिएको हो, 'मेरो शरीर, मेरो मर्जी।'

'मेरो मर्जी' को अर्थ जिम्मेवारीबोध विना विवेकहीन झैं जता पायो उतै यौन सम्पर्क राख्ने अधिकारको पैरवी होइन। यो त कुनै एचआईभी संक्रमित पतिले/साथीले सम्बन्ध राख्न खोज्दा कि नाइँ भन्ने कि कण्डम लगाएर आऊ भन्ने अधिकार स्थापित गर्न खोजिएको जस्तै हो। एचआईभी संक्रमित महिला गर्भवती भइन् भने उनको मर्जी अनुसार गर्भपतन हुनुपर्छ भन्ने हो।

'मेरो मर्जी' ले स्वच्छन्द यौनको समर्थन गर्दैन। आफ्नो शरीर दुरुपयोग गर्नुहँुदैन, एड्स र यौन रोगबाट बच्नुपर्छ, पाठेघर खस्ने र पिसाब चुहिने समस्याबाट बच्नुपर्छ भन्ने तर्क गर्छ। जथाभावी परिवार नियोजनको साधन प्रयोग गर्नुहुँदैन भन्ने आवाज उठाउँछ। यसले समानताका आधारमा हिंसारहित यौन सम्बन्धको वकालत गर्छ।

महिलामाथि यौनको सेरोफेरोमा हुने हिंसाको मात्रा सबैभन्दा बढी छ। त्यसैकारण 'मेरो मर्जी' ले यौन हिंसा विरुद्ध बोलेको हो। हामी महिला, पुरुष दुवैको यौन स्वच्छन्दताको पक्षमा छैनौं।

यति अधिकारका लागि के महिलाले आवाज उठाउन सक्दैनन्? जुन समाजमा महिलालाई आफ्नै शरीरको अधिकार हुँदैन, महिला हिंसा त्यहीं बढी हुने गर्छ। सबैभन्दा बढी बालविवाह हुन्छ। नेपालका मधेशी दलित महिलाको अवस्था ठ्याक्कै उस्तै छ। उनीहरूले भोगिरहेको शारीरिक र मानसिक हिंसाको पीडा कल्पना गर्दा समेत आङ सिरिङ्ग हुन्छ।

'मेरो मर्जी' को विपक्षमा बोल्नेहरूले महिलाका यस्ता वेदना बुझिदिनुपर्छ।

comments powered by Disqus

रमझम