१०-१६ साउन २०७२ | 26 July - 1 Aug

भाञ्जाराजाको दरबारबारे थप तथ्य

Share:
  
राजा डम्बरध्वज शाह र शाहजादी प्राणराज्यलक्ष्मीका एउटै मात्र सन्तान छत्रविक्रम शाह श्री ५ पृथ्वीका भाञ्जा भएकैले 'भाञ्जाराजा' का नामबाट चिनिन्थे।

सौजन्यः मपुपु
अन्वेषक तथा साहित्यकार शिव रेग्मीले सुप्रख्यात साहित्यकार कमलमणि दीक्षितले साप्ताहिक खबरपत्रिका हिमाल को आफ्नो स्तम्भमा भाञ्जाराजाको दरबारबारे लेखेको बताएपछि ८–१४ चैत २०७१ को अंक खोजेर पढियो।

मैले भाञ्जाराजाको विषयमा थाहा पाउँदा श्रीमान्/श्रीमती दुवैको स्वर्गे भइसकेको थियो। उनी वालेट महाराज श्री ५ त्रैलोक्यका विवाहितापट्टिका जातवाला छोरी श्री ५ शाहजादी प्राणराज्यलक्ष्मी शाहका छोरा भएकाले धिराज श्री ५ पृथ्वी वीरविक्रम शाहका भाञ्जा पर्दथे। शाहजादी प्राणराज्यलक्ष्मीको विवाह बाजुराका राजाका भाइका सन्तान मदनमोहन शाहका कान्छा छोरा डम्बरध्वज शाहसित भएको थियो।

उनी साहित्यकार गम्भीरध्वज शाहका कान्छा बुबा पर्थे। गम्भीरध्वजले बङ्गला साहित्यका सुप्रसिद्ध बङ्किमचन्द्र चटोपाध्यायको उपन्यास 'चन्द्रशेखर' को १९७२ साल र १९९५ सालमा 'युगलांगुलीय' को अंग्रेजी अनुवाद गरेका थिए। यहाँ गम्भीरध्वज शाहको उल्लेख किन गरियो भने उनी आफ्ना कान्छा बुबा अर्थात् 'भाञ्जाराजा' को दरबारमा बसेर दरबार स्कूलमा पढेका थिए। यो कुराको पुष्टि उनले अनुवाद गरेको उपन्यास 'युगलांगुलीय' को भूमिकाबाट हुन्छ।

श्री ५ पृथ्वीले जावलाखेलमा एउटा दरबार बनाई बहिनीलाई दाइजो दिएका थिए। श्री ५ शाहजादी प्राणलक्ष्मीसित विवाह भएपछि डम्बरध्वज शाह धिराजका बहिनी ज्वाईं भएका नाताले उनले 'राजा' को उपाधि पाए। राजा डम्बरध्वज शाह र शाहजादी प्राणराज्यलक्ष्मीका एउटै मात्र सन्तान भए– छत्रविक्रम शाह। श्री ५ पृथ्वीका भाञ्जा भएकाले छत्रविक्रम 'भाञ्जाराजा' को नामबाट चिनिए। पछि श्री ५ पृथ्वीले ठकुरीकी छोरी सानो महारानी अविवाहितातर्फकी आफ्नी छोरी राजकुमारी गुणराज्यलक्ष्मीको विवाह आफ्नै भाञ्जा छत्रविक्रमसँग गरिदिए।

भाञ्जाराजा र रानी गुणराज्यलक्ष्मीको शेषपछि त्यो दरबार उनीहरूकी एक मात्र सन्तान देवराज्यलक्ष्मी राणाको हुन गयो। देवराज्यलक्ष्मीको विवाह श्री ३ महाराज जुद्धको अविवाहितातिरका छोरा मानशमशेर राणाका विवाहितापट्टिका ठाहिंला छोरा ताराशमशेर राणासँग भयो। ताराशमशेर राणा मेरा बुबा स्व. रथी रङ्गविक्रम शाहका जिगरी दोस्त भएका कारणले त्यो दरबारबारे मैले अलिअलि जानकारी पाएको थिएँ।

अहिले म सम्झ्न्छु– साहित्यकार गोविन्द भट्ट रहेका भए त्यो दरबारबारे पूरा जानकारी दिनेथिए। कमाण्डर इनचिफ (प्रधान सेनापति) खड्गशमशेर राणाले रौतहट जिल्ला सदरमुकाम गौरमा बनाएको दरबार 'विलास कुञ्ज' परिसरभित्र जन्मेहुर्केकाले भट्टलाई भान्जाराजाको दरबारबारे पनि राम्रो जानकारी थियो।

विलास कुञ्ज त्यस वेलाको भव्य दरबारहरूमध्ये एक मानिन्थ्यो। रौतहटमै श्री ३ महाराज चन्द्रको त्यस्तै राम्रो अर्को हिउँदे दरबार 'हजमिनीया दरबार' पनि थियो। तर, हजमिनीया दरबार स्याहारसम्भार नपुगी त्यसै पाताल हुनपुग्यो। फुपू सीताबज्यै भाञ्जाराजाको दरबारमा बसेकाले पनि त्यो दरबारमा वेलावेलामा पुगेको भट्ट बताउँथे।

भाञ्जाराजाकी छोरी देवराज्यलक्ष्मी २०४८ फागुनमा र ज्वाईं ताराशमशेर राणा २०४५ असारमा स्वर्गे भए। उनीहरूका छोरा नूतनशमशेर तथा दुई छोरी डली र लिली मानभवन परिसरमै छन्। नूतनशमशेर धेरैजसो सिमरा बस्छन्।

क.दी.ले चर्चा गरेका साहेबज्यू होमविक्रम शाह श्री ५ सुरेन्द्रका नाति होइनन्, पनाति हुन्। वालेट महाराज श्री ५ त्रैलोक्यका एक मात्र भाइ साहेबज्यू नरेन्द्रविक्रम शाहका जेठा छोरा रतीन्द्र विक्रमका अविवाहितापट्टिबाट जन्मिएका कान्छा छोरा हुन्, उनी। साहेवज्यू रतीन्द्रको बोलाउने नाम 'जुनाराजा' थियो। श्री ५ त्रिभुवनको जन्म नभएको भए नेपालको राजा हुने क्रममा थिए, उनी। 'यी...' भन्दै आफूलाई लोप्पा खुवाइरहने जुनाराजाको अजवको आदत थियो। यो आदतले उनलाई ठट्टाको पात्र पनि बनाएको थियो।

शङ्कर शाह

आशियाना, गल्कोपाखा मार्ग, ठमेल

comments powered by Disqus

रमझम