छिमेकी भनेको मर्दाको मलामी र जिउँदाको जन्ती भनेर हामीले बुझदै आएको हो। छिमेकीलाई दुःख पर्दा साथ दिनुपर्छ, उसको सुखमा रमाउनुपर्छ। छिमेकी भनेको गाउँघरको कुरा मात्र होइन, दुई देशबीचको सम्बन्धमा पनि लागू हुन्छ। तर, यतिखेर दक्षिणी छिमेकका कारण नेपाल असाध्यै अप्ठेरोमा छ। आठ वर्षपछि बनेको संविधानको विरोधमा तराई–मधेशमा शुरू भएको आन्दोलनलाई साथ दिने क्रममा भारतले नेपालमाथि अघोषित नाकाबन्दी लगाएर सम्पूर्ण नेपालीको दैनिकी कष्टकर बनाइदिएको छ।
नेपाली बजारमा दैनिक उपभोग्य वस्तुहरू कम हुँदै गएका छन्। यातायातका साधन कम गुडिरहेका छन्। मानिस पुग्नुपर्ने गन्तव्यमा पुग्न सकिरहेका छैनन्। ग्याँसको अभावले चूलो बल्न छाडेको छ। औषधिको अभावले बिरामी छट्पटिइरहेको अवस्था छ। यस्तो स्थितिमा अब भारतलाई असल छिमेकी कसरी मान्ने?
आन्दोलनको स्वरुप पनि गजबको छ― नेपाल–भारत नाकाहरू ठप्प पार्ने। इण्डियन आयल कर्पोरेशन (आईओसी) ले चाहेजति इन्धन नेपाललाई नदिने। यो रणनीतिले अंग्रेज र नेपालबीच भएको नालापानी युद्धको झ्ल्को दिएको छ। त्यो वेला अंग्रेज फौजले नालापानी किल्लामा खानेपानीको मुहान थुनिदिएको थियो। अहिले भारतका शासकले मधेशवादी दलका नेताहरूलाई साथ दिने निहुँमा आम नेपाली बिरुद्ध इन्धन नाकाबन्दी लगाइदिएको छ।
मधेशवादी दलका नेता र भारत नेपालमा पेट्रोलियम पदार्थको आपूर्ति रोकिदिएर काठमाडौंलाई झ्ुकाउने रणनीतिमा छन्। तर, यो नाकाबन्दीले मधेश आन्दोलनलाई बल पुग्दा यहाँ सरकार होइन, आम नेपाली गल्नुपर्ने अवस्था आएको छ। यो घडीसम्म आम नेपाली नागरिक मधेशी जनताको हित (मधेशी नेताको हैन) प्रति सहानुभूति राखेर चूप बसिरहेका छन्। सबैलाई थाहा छ, मधेशका सीमान्तकृत समुदायको अधिकार यसअघि जति नै संघर्ष गरे पनि स्थापित हुन सकिरहेको छैन। खास अनुहारका नेता–कार्यकर्ताले आवाजविहीन समुदाय र वर्गको अधिकार स्थापित हुन दिएनन्।
भारतीय प्रधानमन्त्री मोदीले नेपालको संसद्मा मीठो भाषण गरेर यतिखेर तीतो बनाइदिएका छन्। अब यो तीतोलाई अवसरमा बदल्न सक्नुपर्छ। नेपाललाई सक्षम बनाउन देशभित्रै पनि पेट्रोलियमको अन्वेषण र वैकल्पिक ऊर्जाको विकास गर्नुपर्छ। डिजल र पेट्रोलको सट्टा विद्युतीय र सौर्य ऊर्जामा जोड दिनुपर्छ। नेपाली नेताहरूले आफ्नो आन्तरिक समस्या आफैं समाधान गर्ने क्षमता देखाउनुपर्छ।
फुर्पा तामाङ