१९-२५ मंसिर २०७३ | 4-10 December 2016

गाउँमा भारुले गाह्रो

Share:
  
भारतमा रोजगारी गरेर ल्याएको ५०० र १००० को भारु नोट नचल्ने भएपछि गाउँका बासिन्दा समस्यामा परेका छन्।

बाजुराको बाह्रबिस गाविस–५ जुवापानीका तेजबहादुर सिंह घरमा भएको ५० हजार भारतीय रुपैयाँका कारण चिन्तित छन्। छोराले भारतमा चौकीदारी गरेर पठाएको भारु नोट नचल्ने खबर पाएपछि उनलाई छटपटी भएको छ। “छोराले पठाएको भारतीय रुपैयाँ जग्गा किन्नलाई राखेको थिएँ। अहिले त नचल्ने भएछ” तेज भन्छन्।

भारतमा काम गरेर पठाएको ५०० र १००० का भारु नोट नचल्ने भएपछि यहाँका बासिन्दा समस्यामा परेको बताउँछन्। भारतमा काम गर्ने यहाँका बासिन्दाले सजिलो हुने भएकाले ५०० र १००० का नोट ल्याउने गरेका छन्। ती नोटहरूमा प्रतिबन्ध लागेपछि गाउँमा पनि हरहिसाब राख्न थालिएको हो।

एउटै जुवापानी गाउँमा ४० लाखसम्म प्रतिबन्धित भारतीय नोट भेटिएको बाह्रबिस गाविस–५ का टेकबहादुर शाही बताउँछन्। १३५ परिवारबाट ४० लाख बराबरको नोट जम्मा भएको हो। जुवापानीका सबैजसो युवा भारतमा मजदूरी गर्दै आएका छन्।
नोट नचल्ने भएपछि अप्ठ्यारो अवस्था आएको काँडा गाविस–६ का दानबहादुर रोकाया बताउँछन्। गाउँमा २० लाखभन्दा बढी भारु संकलन भएको बताउँदै उनी भन्छन्, “मसँग एक लाख छ। अब के गर्ने चिन्ता लागेको छ।”

बाजुरासँगै सुदूरपश्चिमका पहाडी जिल्ला र कर्णालीमा प्रतिबन्धित भारतीय नोटले सर्वसाधारणलाई चिन्तित बनाएको छ। “यहाँका सबै काम गर्न भारत जान्छन्। सजिलो हुने भएकोले ठूला नोट ल्याउँछन्, अहिले समस्या भएको छ” नेकपा (एमाले) हुम्ला जिल्ला कमिटीका सदस्य देबचु सार्की भन्छन्।

स्थानीय बजारमा व्यापारीले ५०० र १००० को भारतीय नोटलाई त्यति नै नेपालीमा साट्ने गरेका छन्। स्थानीय बासिन्दा आत्तिएकाले यो अवस्था आएको कोल्टीका व्यापारी बागदल मल्ल बताउँछन्। भारत सरकारले यस्ता नोटमा प्रतिबन्ध लगाएपछि गाउँमा हल्ला फैलाउने र सस्तोमा नोट साट्ने समूह पनि सक्रिय भएको छ। बाह्रबिस–५ का भरत सिंह स्थानीय व्यापारीले ६० प्रतिशतमा नोट खरीद गरिरहेको बताउँछन्। “एकातिर त्रास फैलिएको छ, अर्कातिर सस्तोमा नोट खरीद भइरहेको छ” उनी भन्छन्।

राष्ट्रिय वाणिज्य ब्यांक, बाजुरा शाखाका सहायक प्रबन्धक जितजङ्ग सिंह सर्वसाधारण प्रतिबन्धित भारतीय नोट साट्न दैनिक ब्यांकमा आइरहेकोे बताउँछन्। केन्द्रीय कार्यालयबाट अनुमति नभएकोले नसाटेको बताउँदै उनी भन्छन्, “सर्वसाधारणलाई नआत्तिन आग्रह भने गरिरहेका छौं।”

प्रकाश सिंह

comments powered by Disqus

रमझम