१६-३१ भदौ २०६९ | 1-16 September 2012

हिमाली हाट

Share:
  
p11b

पहाडी जिल्लाहरूमा सडकसँगै पायकका ठाउँमा दोकानहरू खुल्न थालेपछि उहिल्यैदेखि चलिआएका त्रितिया, पञ्चमी बजारहरू सुकेका छन्। कतिपय जिल्ला सदरमुकामका साप्ताहिक हाटका पनि आकार घटेका छन्। नुन, तेल, चिनी, साबुन जस्ता उपभोग्य वस्तुहरू गाउँकै दोकानहरूमा पाइन थालेपछि अनि भाँडाकुँडा, ठेकी आदि सामग्रीको ठाउँ प्लाष्टिकले लिएपछि उपभोक्ताहरू बजार धाउन छाडेका छन्। सोलुको सल्लेरीमा भने यो नियम लागेको छैन। 

जिल्ला विकास समिति र मिलीजुली आमा समूहले नयाँ बजार व्यवस्थापन समिति बनाएर संचालन गरेको यो हाटले स्थानीय आवश्यकता पूर्तिसँगै सल्लेरीको अर्थतन्त्रलाई पनि टेवा दिएको छ। पहिला सल्लेरीवासी दैनिक उपभोग्य सामानका लागि रामेछापको बाम्ती र ओखलढुङ्गा बजारसम्म पुग्थे। अहिले आफ्नै बजारमा हरेक शनिबार सदरमुकाम बाहिरका लगभग ३००० क्रेता–बिक्रेता थपिन्छन्। हाटको दिन वारिपारिका गाविसका किसानहरू काउली, बन्दा, भन्टा, गोलभेंडालगायतका तरकारीसँगै राँगो, सुँगुर, कुखुरा र खसीको मासु बेचेर आफ्ना आवश्यकताको सामान लैजान्छन्। हाटको दिन सल्लेरीका होटलहरूको पनि व्यापार आकासिन्छ। सल्लेरीको शनिबारे हाट व्यवस्थित हुँदा जिल्लाका सल्यान, नेचा, देउसा, बासा, काँकु, नेले, तामाखानी, बेनी, गार्मा, केरुङ, पिङ्ला, टाकसिन्धु, गुराखानी, टाप्टिङ आदि गाविसवासी पनि लाभान्वित भएका छन्। 

समुद्र सतहबाट २४०० मिटर उचाइमा रहेको सल्लेरीमा २०२१ साल जेठबाटै हाट लाग्न थाले पनि असार २०६८ बाट मात्र व्यवस्थित भएको होटल व्यवसायी अभिनारायण राजभण्डारी (७५) बताउँछन्। 

शोभा अधिकारी, सल्लेरी



अनुसन्धानका एसपीद्वारा डनसँग चन्दा माग!

p11c

राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख अशोकदेव भट्टकी श्रीमती प्रतिभा सेन भट्ट रु.४७ लाख ठगीको अभियोगमा ७ भदौमा पक्राउ परिन्। तर, यतिबेला विभागमा यो काण्डलाई बिर्साउने अर्को विषय थपिएको छ– एसपी हुतराज थापाको, जसले भक्तपुरमा डीएसपी हुँदा चर्चित डन गणेश लामालाई विभागकै लेटर प्याडमा पत्र लेखेर पैसा मागेका थिए (हे. पत्र)। 

लामालाई 'दाजु' भन्दै ८ भदौ २०६८ मा लेखिएको पत्रमा भनिएको छ, “तपाईं (गणेश लामा) बाट प्रहरी प्रशासनको सहयोगमा अरनिको राजमार्गहुँदै चीनको कोदारीतर्फ रातको समयमा रक्तचन्दन लैजाने गरेको सन्दर्भमा राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय भक्तपुरको जानकारीमा आएको छ। तसर्थ स्ी राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय पनि एक सुरक्षा अङ्ग भएको नाताले केही आर्थिक सहयोग तथा सद्भाव गरिदिनुहुन विनम्र अनुरोध गर्दछु। आज्ञाकारी हुतराज थापा।” 

३१ असार २०६९ मा एसपीमा बढुवा भएर सिंहदरबारस्थित विभागको वरफबाग प्रधान कार्यालय सरुवा भइसकेका थापा भने आफ्नो बढुवा रोक्न विभागभित्रकै 'दुश्मनहरू' ले त्यस्तो पत्र लेखेको बताउँछन्। पत्रको मिति, आज्ञाकारी भन्ने शब्द र हस्ताक्षर आफ्नै भएको तर बीचको व्यहोरा आफ्नो नभएको उनको भनाइ छ।

“यो विषय प्रधानमन्त्री कार्यालय, राष्ट्रपति कार्यालय, गृह मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत पुगेको छ”, आफूलाई फँसाइएको दाबी गर्दै एसपी थापाले भने, “तर, म निर्दोष भएको जानकारी विभागका प्रमुख आइजी मोती गुरुङलाई गराइसकेको छु।” आइजी गुरुङले भने आफूलाई यस विषयमा कुनै जानकारी नभएको तर अनियमितता गरेको प्रमाण भेटिए जो–कोहीलाई कडा कानूनी कारबाही गर्ने बताए। 

सन्त गाहा मगर, काठमाडौं


१५ मध्ये ९ स्नातकोत्तर गाउँमै

p11d

देश उँभो लाग्न जिल्ला उँभो लाग्नुपर्छ, जिल्ला उँभो लाग्न गाउँ परिवर्तन हुनुपर्छ अनि गाउँमा परिवर्तन हुन पढालेखा युवा गाउँमै बस्नुपर्छ। सुन्दा राम्रो लाग्ने यो कुरा व्यवहारमा उत्रेको हेर्न खोटाङ जिल्लाको जालपा गाविस जानुपर्छ।

लपाका १५ स्नातकोत्तरमध्ये नौ जना गाउँमै काम गरिरहेका छन्। बाँकी ६ जनामध्ये एक टंक राई राजनीतिमा (पूर्वसांसद्) छन् भने अरू बाहिरको जागिरमा छन्। 

“हामी संयोगले हैन, 'डिग्रीपछि गाउँ फर्क' अभियान नै चलाएर गाउँमा क्रियाशील छौं”, समाजशास्त्रमा स्नातकोत्तर गरेका जालपा जनसेवा सामुदायिक अस्पताल व्यवस्थापन समितिका संयोजक विकास राई भन्छन्, “जालपा उच्च माविमा पढाइ पूरा गरेकाहरूलाई पढाइ पूरा गरेपछि गाउँ फर्कन सल्लाह दिइन्छ।” स्नातकोत्तर गरेर गाउँ फर्केका जालपालीहरू जनसेवा समाज नामको संस्थामा आबद्ध छन्। उनीहरूमध्ये धेरैजसो शिक्षण पेशामा छन् भने बाँकी जनसेवा समाज, नेपालमार्फत गाउँको विकासमा जुटेका छन्। 

पढालेखा युवा गाउँ फर्केर क्रियाशील भएको परिणाम नदेखिने कुरै भएन। जिल्लामै पहिलो सहकारी संस्था र सामुदायिक पुस्तकालय खुलेको जालपामा पहिलो सामुदायिक अस्पताल पनि खुल्दैछ। यस गाविसका विद्यालयहरूको पढाइ अंग्रेजी माध्यममा हुन थालेको छ। गाविसमा सडक पुगेको छ, पूराका पूरा वडामा विद्युतीकरण भएको छ। खोटाङमा विकासे मल र रासायनिक विषादि निषेध गरिएको गाविस पनि जालपा नै हो। 

दमन राई, खोटाङ

comments powered by Disqus

रमझम