३० चैत २०७० - ६ वैशाख २०७१ | 13-19 April 2014

बाटोमै बच्चा जन्माउँछन् भोटे महिला

Share:
  

प्रकाश सिंह
अछाम पाण्डुसेन–७ अगाउपानीकी भोटे जातिकी अबकति थापा (२५) ले गर्भ रहेको ९ महीना नाघे पनि चिकित्सकसँग परामर्श लिएकी छैनन्। जाडो छल्न परिवारसँग ६ महीनाअघि जिल्लाको बुढाकोट गएकी उनलाई बाटोमै बच्चा जन्मिने चिन्ताले सताएको छ। पहिलेका दुई वटा बच्चा पनि उनले बेंसी र्झ्दा बाटोमै जन्माएकी थिइन्।

अगाउपानीकी तनी थापाले पनि मंसीरमा अछाम जाँदै गर्दा बूढीगंगा गाविसको रापकमा बाटोमै छोरी जन्माइन्। चिसो र स्याहार नपुगेकाले जन्मेको केही दिनमै छोरी गुमाउनुपरेको उनको भनाइ छ। मार्तडी–१ ढम्कनेकी लाप्का बोगटीले पनि गत वर्ष बाटोमै बच्चा जन्माएकी थिइन्।

मार्तडी–१ बस्ने पक्क थापा (४५) ले पनि ५ मध्ये ४ सन्तान बसाइँ सर्ने क्रममा बाटोमा जन्माएकी थिइन्। ७ महीनाकी गर्भवती हुम्ला सरकीदेउ गाविस–३ की रमिता बुढाथोकी (२३) हिउँदमा बेंसी झ्रेकाले सुत्केरी जाँच नगराएको तथा खोप र आइरन चक्की नलिएको बताउँछिन्। अछामको घुगुकोटमा पाल टाँगेर बसेको उनको परिवारलाई घर पुग्न दुई हप्ता लाग्छ।

चिसो छल्न भेडा–च्याङ्ग्रा र परिवार सहित हिउँदका ६ महीना बेंसी र्झ्ने भएकाले अधिकांश महिलाले बाटोमै बच्चा जन्माउने गरेको भोटे जनजाति महासंघका अध्यक्ष नृप थापा बताउँछन्

बाजुरा, बझाङ, मुगु, हुम्ला र जुम्लाका भोटे जातिका मानिस हिउँदमा बेंसी र्झ्छन् भने गर्मी लागेपछि गाउँ उक्लिन्छन्। पाण्डुसेनकी लछु बोगटी गाउँमा धेरै जाडो हुने भएकाले मौसमी बसाइँ सर्ने गरेको र त्यस क्रममा बाटोमा सन्तान जन्माउने गरेको बताउँछिन्। त्यसरी बसाइँ सर्दा स्वास्थ्य चौकी नभेटिने तथा खोप लगाउने चलन आफ्नो जातिमा नभएको उनको भनाइ छ।

पाण्डुसेन स्वास्थ्य चौकीकी अनमी मधु श्रेष्ठ पनि भोटे जातिका महिलाले गर्भवती जाँच र सुत्केरी सेवा नलिने गरेको बताउँछिन्। त्यही कारण गत वर्ष दुई जना भोटे जातिका महिलाको मृत्यु भएको उनको भनाइ छ।

प्रकाश सिंह, बाजुरा


सक्रिय भए महिला

रुकुमका द्वन्द्वपीडित र एकल महिलाले समूहमा आवद्ध भएर आय बढाएका छन्।

तुफान न्यौपाने
रुवी खत्री, हिमा बिक र यमुना बाँठा (बायाँबाट क्रमशः)।
२०५४ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट गाविस अध्यक्षमा निर्वाचित भएका दुली–४ खलाटाकुराकी रुवी खत्री (५५) को घरखेत माओवादीले लुटेपछि सपरिवार सदरमुकाम मुसिकोट विस्थापित भए। त्यही बीचमा माओवादीले उनका पति सेतुको हत्या गर्‍यो।

शान्ति प्रक्रिया शुरू भएपछि गाउँ फर्केकी रुवीले चरम आर्थिक संकट भोग्नु पर्‍यो। तीन छोरा मजदूरी गर्न भारतको कालापहाड गए। नातिनातिना हुर्काएर बसेको वेला गाउँमा रहेका उनी जस्तै एकल महिलाको सक्रियतामा खुलेको 'जमुनानाथ लगनशील नागरिक सचेतना' मा उनी सदस्य बनिन्। सदस्यहरूलाई आयआर्जन गर्न मद्दत पुगोस् भनेर सो संस्थालाई गैरसरकारी संस्था केयर नेपालको समुदाय सहयोग कार्यक्रमले करीब डेढलाख रुपैयाँ अनुदान दियो। त्यसबाट रु.१६ हजार ऋण लिएर बाख्रापालन थालेकी उनले अहिले त्यसैको आम्दानीबाट घरखर्च चलाएकी छन्। शुरूमा लिएको ऋण समूहलाई तिरेपछि ऋण थपेर बाख्रा बढाएको बताउने रुवी समूह बनेकाले चाहिएको वेला ऋण पाइएको बताउँछिन्। बाख्रापालनको आम्दानीले तीन नातिनातिना पढाएर अरूलाई सापटी समेत दिन सकिएको उनको भनाइ छ।

खलाटाकुराकै हिमा बिकका पति चन्द्रबहादुर (५१) को उपचार नभएर गत वर्ष मृत्यु भयो। समूह बनेपछि हिमाले रु.१० हजार ऋण लिएर दुई वटा बाख्रा किनेर पाल्न शुरू गरिन्। फागुनमा रु.३० हजारका खसी बेचेकी उनको गोठमा अझ्ै ८ वटा बाख्रा छन्। समूहले आफ्नो जीवनमा ठूलो परिवर्तन ल्याएको उनको भनाइ छ। यो समूहमा लालसरी खत्री, यमुना बाँठा, हिरा बाँठा, गौनी बिक, पविता सुनार लगायत द्वन्द्वपीडित र एकल महिला छन्।

दिदीको घर जाँदै गरेका खलंगा–८ पिपेका वीरबहादुर पुनलाई २०५८ मा प्रहरीले बारिकोटमा गोली हानी हत्या गर्‍यो। त्यो वेला ८ महीनाकी उनकी छोरी १३ वर्ष र पाँच वर्षका छोरा ११ कक्षामा पढ्छन्। उनीहरूकी आमा चुरा पुन (३८) 'हरियाली नागरिक सचेतना केन्द्र' की कोषाध्यक्ष हुन्। समूहबाट लिएको रु.१६ हजार ऋणले बाख्रापालन गरेकी उनी पहिले जस्तो ज्यालादारीमा हिंड्नु नपरेकोले परिवार पाल्न सजिलो भएको बताउँछिन्।

दिगो बनाउने प्रयास

गाउँमा बनेका कैयौं यस्ता समूह दाताको लगानी पाउन छाडेपछि बन्द भए पनि रुकुम दुली–४ र ५ का ५२ जना महिलाले भने 'श्री सल्लेरी डाँडा कृषि सहकारी' गठन गरेर समूहलाई दिगो बनाउन प्रयास गरेका छन्। उनीहरूले रु.३०० उठाएर भदौ २०७० देखि शुरू गरेको यो सहकारीको कोषमा सचेतना केन्द्रको समेत पैसा राखिएकाले रु.३ लाख १२ हजार जम्मा भएको कोषाध्यक्ष पविता सुनार बताउँछिन्।

बाख्रापालन, भैंसीपालन, तरकारी खेती तथा ब्रोइलर कुखुरा पालेर आम्दानी बढाएका उनीहरूमध्येका एकल महिलाहरूले रातो साडी, निलो स्वेटर र चुरापोते लगाउन थालेका छन्। समूहकी सदस्य लालसरी खत्री भेदभाव हटाउन रातो सारी लगाएको बताउँछिन्।

यो समूहले वडालाई खुला दिसापिसाब मुक्त घोषणा गर्दै साप्ताहिक रूपमा सरसफाई पनि गर्ने गरेका छन्।

तुफान न्यौपाने, रुकुममा


उत्कृष्ट शिक्षकलाई पुरस्कार

पर्यटन व्यवसायी तथा समाजसेवी प्रजापति प्रसाईं (पीपी प्रसाईं) फाउन्डेशनले देशभरबाट एक जना शिक्षकलाई उत्कृष्ट शिक्षक पुरस्कार तथा पाँच जना शिक्षकलाई विशेष शिक्षक पुरस्कार दिने भएको छ।

शिक्षा तथा पर्यटनलाई ग्रामीण क्षेत्रसम्म पुर्‍याउने प्रसाईंको योजनालाई पूरा गराउन गठित फाउन्डेशनले यसअघि भने एक जना मात्र शिक्षकलाई उत्कृष्ट शिक्षक पुरस्कार दिंदै आएको थियो। फाउन्डेशनका अनुसार उत्कृष्ट शिक्षक पुरस्कारको राशी रु.५० हजार छ भने विशेष शिक्षक पुरस्कार रु.२५ हजारको छ। यसका साथै तीन वटा विद्यालयलाई प्रोत्साहनस्वरुप रु.१० हजार बराबरको शैक्षिक सामग्री प्रदान गरिने प्रतिष्ठानले जनाएको छ।

पुरस्कारका लागि कम्तीमा प्रवीणता प्रमाणपत्र तह वा सोसरह शैक्षिक योग्यता हासिल गरी सामुदायिक विद्यालयमा दुई वर्षदेखि अध्यापन गराइरहेका शिक्षकले मात्र आवेदन दिन पाउने छन्। १५ जेठ २०७१ भित्र काठमाडौं कमलादीस्थित हेरिटेज प्लाजामा रहेको फाउन्डेशनको कार्यालयमा आवेदन, व्यक्तिगत विवरण, विद्यालय व्यवस्थापन समितिको सिफारिश सहित नेपाली नागरिकताको प्रतिलिपि र शैक्षिक तथा अन्य अनुभवका प्रमाणपत्र हुलाक, इमेल मार्फत पठाउन वा कार्यालयमा सीधै बुझाउन सकिने फाउन्डेशनले जनाएको छ। २० भदौमा हुने फाउन्डेशनको वार्षिकोत्सवमा पुरस्कार प्रदान गरिने जनाइएको छ।

comments powered by Disqus

रमझम