७-१३ वैशाख २०७१ | 20-26 April 2014

अदालतमा गाँजाको धूवाँ

Share:
  
मोरङ जिल्ला अदालतमा गाँजा जलाउँदा निस्किने धूवाँले छेउछाउमा रहेकालाई मताउने गरेको छ।

११ चैत २०७० मा शरीरमा गाँजा बाँधेर तस्करी गर्ने ६ जना मोरङ प्रहरीले पक्राउ गरेपछि।
२३ चैत दिउँसो मोरङ जिल्ला अदालतको छेउमै रहेका नापी र मालपोत कार्यालयमा आएका सेवाग्राही खोक्न र नाक थुन्न थाले। अदालतबाट आएको धूवाँको मुस्लो ती कार्यालयहुँदै कोशी अञ्चल अस्पताल पनि पुग्यो। इजलासमा पनि धूवाँ छिरेपछि अतिरिक्त जिल्ला न्यायाधीश ऋषिराम निरौलाले श्रेस्तेदार धु्रवकुमार ढकाललाई बुझन लगाए, कर्मचारीले १२ किलो गाँजा जलाइँदै गरेको बताएपछि न्यायाधीश निरौला चूप लागे।

अदालत भवनभन्दा २० मिटर उत्तरपूर्वको पर्खाल छेउमा बलिरहेको गाँजाको धूवाँ अञ्चल अस्पतालको बच्चा वार्ड पनि छिर्‍यो। त्यो बेला ड्यूटीमा रहेका बालरोग विशेषज्ञ डा. प्रवीण झाका अनुसार ४० शैच्चयामा रहेका बच्चालाई गाँजाको धूवाँले समस्या पार्न थालेपछि वार्डको झयालढोका बन्द गरेर हावा बाहिर फाल्ने फ्यान चलाउनु पर्‍यो। वार्डमा फोक्सोको इन्फेक्सन, निमोनिया र श्वास–प्रश्वासका बिरामी रहेको र त्यही दिन डिस्चार्ज हुन लागेका एक बालकलाई थप केही दिन अस्पताल राख्नु परेको डा. झा बताउँछन्।

८ चैतमा इलाका प्रहरी कार्यालय रानीले विराटनगर भन्सार नाकाबाट ६ जनालाई १२ किलो गाँजासहित पक्राउ गरेको थियो। श्रेस्तेदार ढकाल महीनामा त्यसरी पाँच पटकसम्म गाँजा जलाइने गरेको बताउँछन्। गाँजा तथा अन्य लागूऔषध गाड्दा दुर्व्यसनीले खनेर लग्ने गरेकाले जलाइन थालेको उनको भनाइ छ।

अदालतको आदेश

प्रहरीले गाँजा बरामद गरेपछि अदालत, प्रशासन र स्थानीय निकायको रोहबरमा आफैंले जलाउने गरेकोमा डेढ वर्षअघि जिल्ला अदालत मोरङको मुद्दा शाखाका कर्मचारीले 'श्रीमान्को आदेश' भन्दै अदालतमै लागूऔषध नष्ट गर्न प्रहरीलाई लगाएका थिए।

२३ चैतमा अदालत परिसरमा जलाइएको गाँजाबाट धूवाँ फैलिएपछि नाक, मुख थुनेर हिंडेका बटुवा।
प्रहरीले लागूऔषध नष्ट नगरी बिक्री गर्ने वा सर्वसाधारणलाई फसाउने गरेकोले नष्ट गर्नुपरेको अदालतका कर्मचारी बताउँछन्। इलाका प्रहरी कार्यालय रानीले चालु आर्थिक वर्षमा पक्राउ गरेको २२ किलो गाँजा यसरी नै डढाइएको थियो। जिल्ला प्रहरी कार्यालयले ११ चैतमा बरामद गरेको ११ किलो, ६ असोजमा ७ किलो ७०० ग्राम र ४ असोजमा ६ किलो गाँजा जलाइएको थियो। मोरङका ८ प्रहरी कार्यालयले बरामद गरेका गाँजा पनि त्यहीं जलाउने गरिएको छ। अधिवक्ता बालकृष्ण आचार्य नजिकै रहेको दाहसंस्कार स्थलमा जलाउनुपर्नेमा अदालतमा गाँजा जलाउनु गैरजिम्मेवार भएको बताउँछन्। पूर्वाञ्चलका डीआईजी नवराज सिलवाल पनि मानिसहरूको चहलपहल नहुने ठाउँमा गाँजा जलाउनुपर्ने बताउँछन्।

धूवाँको असर

गाँजाको धूवाँले मानिसलाई नशा लाग्ने लागूऔषध सेवनकर्तालाई सुधार्न विराटनगरमा पुनर्स्थापना केन्द्र चलाउने संजीव चापागाई बताउँछन्। गाँजा सेवनले शरीरको केन्द्रीय स्नायु प्रणाली शिथिल बनाउने पनि उनको भनाइ छ।

लागूऔषध नियन्त्रण कानून कार्यान्वयन इकाइ विराटनगरका प्रमुख तथा प्रहरी निरीक्षक धु्रवकुमार श्रेष्ठ चुरोटमा मिसाइएको गाँजाको धूवाँले भन्दा त्यसरी बालिएको धूवाँले बढी असर पार्ने बताउँछन्। गाँजा जलाउँदा माक्स लगाउनु उपयुक्त हुने उनको सुझाव छ।

कमल रिमाल, विराटनगर


अनमी पढ्दै मुक्त कमलरी

शर्मिला बुढाथोकी
जिरीमा अध्ययन गरिरहेका मुक्त कमलरी।
पूर्व कमलरी दाङकी सविता चौधरी अहिले दोलखाको जिरी प्राविधिक शिक्षालयमा २९ महीने अनमी कोर्स गर्दैछिन्। आठ वर्षको उमेरदेखि चार वटा घरमा कमलरी बसेकी उनी अरूको घरमा काम गर्दा थुप्रै शारीरिक र मानसिक यातना भोग्नुपरेको बताउँछिन्। अनमी बनेर दुःखीको सेवा गर्ने उनको योजना छ।

दाङ, बाँके, बर्दिया, कञ्चनपुर र कैलालीका उनी जस्ता ४० जना मुक्त कमलरी अहिले जिरीमा अनमी कोर्स गर्दैछन्। उनीहरूलाई यो अवसर गैरसरकारी संस्था 'नेपाल युथ फाउन्डेशन' ले जुराइदिएको हो।

जिरीमा अनमी गरिरहेकी बर्दियाकी लक्ष्मी चौधरी तीतो विगत बिर्सन मन लगाएर पढिरहेको बताउँछिन्। कमलरी बस्दा पेटभरि खान नपाएको तथा गालीगलौज र कुटपिट सहेको सम्झ्ँदै लक्ष्मी भन्छिन्, “हाम्रा लागि चाडपर्व पनि कहिल्यै आउँदैनथ्यो।” त्यहीं पढिरहेकी कैलालीकी मुक्त कमलरी विना चौधरीको भने अनमीपछि स्टाफ नर्स पढ्ने धोको छ।

तर, ३ देखि ६ कक्षाबाट औपचारिक पढाइ शुरू गरेका र एसएलसी पनि उत्तीर्ण नगरेकाले मुक्त कमलरीलाई अनमी पढाउनु सजिलो नभएको जिरी प्राविधिक शिक्षालयका प्रिन्सिपल रामहरि खनाल बताउँछन्। नेपाल युथ फाउन्डेशन क्षेत्रीय कार्यालय नेपालगञ्जका परियोजना अधिकृत विनोद कँडारा चाहिं मुक्त कमलरीलाई अध्ययनपछि रोजगारी दिलाउने प्रयत्न गरिने बताउँछन्। फाउन्डेशनले यसअघि पनि दुई जना मुक्त कमलरीलाई जुनियर कम्प्युटर प्राविधिक र एक जनालाई सीएमएको रोजगारी दिलाइएको उनको भनाइ छ। यो वर्ष एक हजार मुक्त कमलरीले प्रवेशिका (एसएलसी) परीक्षा दिएको र प्राविधिक विषय अध्ययन गर्न चाहनेलाई फाउन्डेशनले सहयोग गर्ने उनले बताए।

शर्मिला बुढाथोकी, दोलखा


गैंडा मरेनन्

यो वर्ष शिकारीका कारण एउटा गैंडा पनि मरेन।

सविता श्रेष्ठ
गस्ती।
चितवन राष्ट्रिय निकुञ्जले गैंडा संरक्षण गर्न चलाएको कार्यक्रमका कारण एक वर्षयता एउटा गैंडाको पनि चोरी शिकारी भएन।

पछिल्लो गणना अनुसार नेपालमा ५३४ गैंडा रहेकोमा चितवनमा ५०३ छन्। चितवनमा सन् १९५० मा ८५० गैंडा रहेकोमा सन् १९६६ मा घटेर १०० थिए। सन् २००० मा गणना गर्दा ५४४ गैंडा पाइए। २००५ को गणनामा ३७२ गैंडा भेटिएकोमा २०११ मा गणना गर्दा ५०३ वटा थिए।

५ फागुन २०६९ मा निकुञ्जको पश्चिमी भेगमा एउटा गैंडा मृत भेटिएपछि चोरी शिकारीबाट गैंडा मारिएका छैनन्। वि.सं २०३० मा गैंडा संरक्षणका लागि बनाइएको चितवन राष्ट्रिय निकुञ्ज ९३२ वर्ग किमी क्षेत्रफलमा फैलिएको छ भने आसपासका ७५० वर्ग किमीलाई मध्यवर्ती क्षेत्र बनाइएको छ।

सफल संरक्षण

एक वर्षसम्म चोरी शिकारीले गैंडा नमारिएकाले पछिल्लो ३६५ दिनलाई 'शून्य चोरी शिकारी समय' भनिएको छ। सन् २०११ लाई पनि शून्य चोरी शिकारी वर्ष भनिएको थियो। २०१२ र २०१३ मा एक/एक गैंडा चोरी शिकारीबाट मारिएका थिए। सशस्त्र द्वन्द्व चरम रहेको वि. सं. २०५८ मा चोरी शिकारीबाट ३७ गैंडा मारिएका थिए। चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवर खागका लागि वार्षिक १० भन्दा बढी गैंडाको शिकार हुने गरेकोमा शून्यमा झ्ार्नुले संरक्षणको सफलता देखाएको बताउँछन् ।

गैंडा चोरी शिकार हुनबाट जोगाएकोमा निकुञ्जलाई विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) ले यो वर्ष सम्मान पनि गरेको छ। विश्व वन्यजन्तु कोषका अन्तर्राष्ट्रिय अध्यक्ष योलान्दा काकावात्सेले चितवन आएर सम्मान प्रदान गरेका थिए। सो सम्मानले संरक्षणका गतिविधि गर्न थप हौसला मिलेको सहायक संरक्षण अधिकृत टीकाराम पौडेलले बताए।

१२३ पोष्ट राखेर सुरक्षा गरेको नेपाली सेनाले यो निकुञ्जको थप सुरक्षाको लागि गत पुसदेखि हवाई गस्ती पनि थालेको छ। सुरक्षाको लागि गस्ती, क्याम्पिङ्ग अपरेशन, समुदायसँग सहकार्य र युवा परिचालन पनि गरिएको कुँवरले बताए। सुरक्षाका लागि निकुञ्जले तालिमप्राप्त कुकुर पाल्ने तयारी पनि गरिएको पौडेलले बताए।

गैंडा मारेमा वा त्यसको अंग बेचबिखन गरेमा रु.५० हजारदेखि रु.१ लाखसम्म जरिवाना, पाँचदेखि १५ वर्षसम्म जेल वा जेल र जरिवाना दुवै सजाय हुने कानूनी व्यवस्था छ।

सविता श्रेष्ठ, चितवन

comments powered by Disqus

रमझम