२०५७ मा माओवादी लडाकू बनेकी सल्यानको बामे गाविसकी लालकुमारी पुनले धेरै लडाईंमा भाग लिइन्। आफू जस्तै लडाकू नरेश रसाइलीसँग अन्तरजातीय विवाह गरिन्। २०६२ मा गाडी दुर्घटनामा पतिको निधन हुँदा पार्टी पनि शान्ति प्रक्रियामा आइसकेको थियो। त्यसलाई उनी जीवन भत्किनु र पार्टी बिग्रनु एकै पटक हुन पुगेको दुर्घटना बताउँछिन्। त्यसपछि लडाकू शिविरमा बसेर स्वेच्छिक अवकाश पाएकी लालकुमारी अहिले मजदूरी गरेर जीवन धानिरहेकी छिन्। स्वेच्छिक अवकाश लिंदा पाएको रकमले दाङमा एउटा घडेरी जोडे पनि अरू आयस्रोत नभएकाले दुईछाक टार्न र छोरालाई पढाउन समस्या परेको उनी बताउँछिन्। मजदूरी गर्दा पाइने दैनिक तीन सय रुपैयाँ पनि कहिलेकाहीं ठेकेदार भाग्दा नपाइने उनको भनाइ छ।
रोल्पाको लिवाङ–३ रेउघाका खडकबहादुर सिंह ठकुरी (६०) भारतीय सेनाबाट अवकाश पाएपछि माओवादी लडाकू बने। परिवर्तनको नाममा त्यत्रो दुःख गरे पनि पार्टी सत्तामा पुगेपछि पूर्व लडाकूहरूलाई परिवार पाल्न धौ–धौ परेको उनको गुनासो छ। दाङको घोराहीमा डेरा गरी बस्ने उनले गुजारा चलाउन सानो स्टेशनरी पसल खोलेका छन्। तर, पसल राम्रो नचलेकाले लडाकूबाट अवकाश लिंदा पाएको रु.६ लाख खाएर सकिन लागेको उनी बताउँछन्।
घोराहीको शहीद गेट अगाडि होटल चलाउने रुकुमकी पूर्व लडाकू ओमकुमारी नेपालीको पीडा पनि उस्तै छ। पति र उनले स्वेच्छिक अवकाश लिंदा पाएको रु.१० लाख सकिन लागेकोले उनको चिन्ता अरू बढाएको छ। रुकुमबाट घोराही झ्रेकी पूर्व लडाकू खिमा बुढाको दैनिकी पनि सहज छैन। पतिले मजदूरी गरेर कमाएको पैसाले छाक टार्दै आएकी खिमाले सरकारले सीपमूलक तालीम दिएमा आत्मनिर्भर बन्न सजिलो हुने बताइन्। “सीपमूलक तालीम लिनका लागि १५ पटक फारम भरियो तर, केही पाइएन” उनले भनिन्, “त्यहाँ पनि हुनेखाने र पहुँचवालाको मात्र पकड हुने रहेछ।”
पूर्व लडाकू कमान्डर सुकबहादुर रोका भने राहतलाई व्यवस्थापन गर्न सक्दा मात्र जीवन सहज हुने बताउँछन्। राहतले घोराहीदेखि देउखुरी र तुलसीपुरमा घडेरी किन्नेहरूले सीप नसिक्दा समस्या परेको उनको भनाइ छ। पूर्व लडाकू ओमकुमारी भने बालबच्चाको भविष्य सपार्न बाध्य भएर शहर बस्नु परेको बताउँछिन्।
देविका घर्ती मगर, घोराही