२९ भदौ - ४ असोज २०७१ | 14 September 2014

यातनागृह बन्दै सुधारगृह

Share:
  

कुलतमा लागेकाहरूलाई सुधार्न खोलिएका सुधार गृहहरू यातना गृहमा परिणत हुनथालेको रूपन्देही र कपिलवस्तुका घटनाले देखाउँछन्। रूपन्देहीको देवदहमा रहेको सुधारगृहमा १९ मंसीरमा एकराज शर्मा पौडेल (२३) को मृत्यु भएको ९ महीनापछि कपिलवस्तुको 'आस्था लागूपदार्थ तथा मद्यपान उपचार केन्द्र' मा २६ भदौमा बुटवल–१४ बेलवासका रामप्रसाद भट्टराई (२८) ले ज्यान गुमाए। रामप्रसादका पिता कृष्णप्रसादले यातनाका कारण छोराको मृत्यु भएको किटानी जाहेरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ।

रक्सीको लत छुटाउन छोरालाई २२ भदौमा रु.२० हजार दिएर त्यहाँ भर्ना गरेको कृष्णप्रसाद बताउँछन्। चार दिनपछि छोरा बिरामी भएको भन्दै केन्द्रबाट फोन आएपछि पुग्दा मृत अवस्थामा भेटिएको उनले बताए। छोराको मुख, हात, खुट्टा लगायत शरीरका विभिन्न भागमा नीलडाम रहेको उनी बताउँछन्।

दीपक ज्ञवाली
त्यसपछि इलाका प्रहरी कार्यालय बुटवलमा केन्द्रका प्रमुख सुजन सेनमाथि उजुरी दिन पुग्दा प्रहरीको सल्लाहमा कपिलवस्तु प्रहरीमा जाहेरी दिएको कृष्णप्रसाद बताउँछन्। केन्द्रका प्रमुख सेन चाहिं रातिदेखि छटपटाएका रामप्रसादलाई बिहान ५ बजे उपचार गर्न कपिलवस्तु सामुदायिक अस्पताल पुर्‍याउँदा तत्काल मृत घोषणा गरिएको दाबी गर्छन्। मृतकका पत्नी र एक नाबालक छोरा छन्। प्रहरीले सेन र अर्का एक कर्मचारीलाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सम थापाका अनुसार एकराजको मृत्युको घटनामा देवदह फेलोसिप फाउन्डेसन संचालकसहित पाँच जनालाई कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो। उनीहरूमध्ये एक जना अहिले पनि कारागारमा छन्।

जिप्रका रूपन्देहीका प्रमुख प्रदीप क्षेत्रीका अनुसार गृहमा कुटपीट भएका, सम्झौता भन्दा बढी रकम लिएका, अभिभावकलाई थाहा नदिई सुधारगृहमा लगिएका गुनासाहरू प्रहरीमा परेका छन्। रूपन्देही र कपिलवस्तुमा कुलतमा लागेकाहरूलाई सुधार्ने एक दर्जन सुधार गृह संचालनमा छन्।

दीपक ज्ञवाली, बुटवल

comments powered by Disqus

रमझम