२-१५ कात्तिक २०७१ | 19 Oct 1- Nov 2014

लागूऔषध विरुद्ध प्रहरी अभियान

Share:
  

सीटको भित्री भागको कब्जा सहितको रिक्साका साथ लागूऔषध ओसार्ने महेश शर्मा।
विराटनगरमा प्रहरीले दुर्व्यसनमा लागेका युवालाई पक्राउ गरी अभिभावकको जिम्मा लगाउने अभियान शुरू गरेको छ। यो अभियानमा सीमावर्ती भारतीय बजार जोगवनीमा लागूऔषध खाएर आएका युवायुवतीलाई नियन्त्रणमा लिएर लागूऔषधका बेफाइदाबारे जानकारी गराइन्छ।

पूर्व क्षेत्रीय प्रहरी कार्यालयको अनुसन्धान समूहले २३ असोजबाट शुरू गरेको एकमहीने यो अभियान एक हजार युवामा पुग्ने प्रहरीको अनुमान छ। सादा पोशाकमा सीमामा बस्ने प्रहरीले १३ देखि ५० वर्षसम्मका दैनिक २५ देखि ४० जनासम्मलाई पक्राउ गर्ने गरेका छन्। उनीहरूलाई इलाका प्रहरी कार्यालय रानीमा लगेर कक्षा लिने गरिएको छ।

“धेरै आपराधिक घटनाका पछाडि लागूऔषध कारण देखिएकाले अभियान चलाएका हौं” अनुसन्धान समूहका प्रमुख डीएसपी राजकुमार वैदवार बताउँछन्। उनका अनुसार अभिभावक पनि प्रहरीको यो अभियानबाट खुशी देखिएका छन्। २८ असोजमा लागूऔषध खाएर भारतबाट फर्केकी धरानकी १६ वर्षीया एक किशोरीले अब लागूऔषध सेवन छाड्ने बताइन्। “साथीले सिकाएर खान थालेकोमा प्रहरीले सुध्रन सिकायो” उनले भनिन्, “सात जनाको परिवारमा कान्छी भएकाले पनि म बढी पुल्पुलिएकी थिएँ।”

“परिवारलाई जानकारी गराउनु पनि आधा उपचार हो, भर्खरै सिक्दै गरेकाले डरले छाड्छन् भने पुरानालाई सुधार केन्द्रमा हाल्ने मौका मिल्छ” डीएसपी वैदवार बताउँछन्। पक्राउ परेकाहरूको परिचय र फोटो उनीहरूको घर नजिकको प्रहरी कार्यालयमा पठाउने गरिएको छ। ती प्रहरी कार्यालयसँग उनीहरूबारे बेला–बेला बुझने गरिएको पनि डीएसपी वैदवार बताउँछन्। लागूऔषध सेवन गर्न भारतीय बजारमा धरान, इटहरी, इनरुवा, बेलबारी, पथरी, उर्लाबारी र दमकका युवा जाने गर्छन्।

ओसारपसार पनि नियन्त्रण

प्रहरीले यो अभियान चलाउँदा पनि तस्करहरूले रिक्सा र ठेलामा गोप्य स्थान बनाई लागूऔषध ओसारपसार गरिरहेका छन्। रिक्साको अडेस लाग्ने सीटको भित्री भागको टीन काटेर लागूऔषध राख्ने ठाउँ बनाउने गरेको खुलेको छ। पहिले चटपटे बिक्री गर्नेहरूले ठेलामा लागूऔषध लुकाएर ल्याएको प्रहरीले फेला पारेको थियो। करेला, काक्रा, लौका जस्ता तरकारीको भित्र र स–साना बालबालिकाको शरीरमा टेपले टाँसेर पनि लागूऔषध ल्याउने गरिएको भेटिएको थियो।

२७ असोजमा विराटनगर भन्सारस्थित सशस्त्र प्रहरीको राजश्व गस्तीले रिक्सासहित लागूऔषध नियन्त्रणमा लिएको थियो। सुनसरी कप्तानगञ्ज–७ का दिनेश मेहता चालक रहेको उक्त रिक्सा त्यसदिन उनकै छिमेकी महेश शर्माले चलाएका थिए। उनले रु.१५०० लिएर विराटनगर बसपार्क रिक्सा पुर्‍याउने जिम्मा लिएको पनि खुल्यो। नियमित लागूऔषध ओसारपसार गर्ने उनले आफूलाई अह्राउनेलाई भेट्टाउने बताए पनि सशस्त्र प्रहरीले फेला पार्न नसकेको राजश्व गस्तीका सशस्त्र प्रहरी नायव उपरीक्षक बद्रीनारायण चौधरीले बताए। उक्त रिक्सामा २८ बोतल कोरेक्स र ७२० ट्याब्लेट स्पास्मोप्रोक्सिभन फेला परेको थियो। यसअघि तरुण दलका पूर्व केन्द्रीय सदस्य जीवन विष्टको विराटनगर–१५ स्थित घरमा प्रहरीले ठूलो मात्रामा लागूऔषध बरामद गरेको थियो।

प्रहरी हिरासतमा रहेका विष्टले जोगवनीबाट लागूऔषध ल्याएर काठमाडौं पठाउने गरेको प्रहरीको भनाइ छ। मोरङमा असोजमा लागूऔषध ओसारपसार गर्ने २० जना पक्राउ परेका छन्। चालु आर्थिक वर्षको तीन महीनामा इलाका प्रहरी कार्यालय रानीले जोगवनी नाकाबाट लागूऔषध ल्याउने दुई महिला र ४३ पुरुषलाई पक्रेर मुद्दा चलाएको छ।

अघिल्लो आर्थिक वर्षमा पाँच महिला र ११२ पुरुषलाई लागूऔषध मुद्दामा कारबाही गरिएको इप्रका रानीका प्रहरी निरीक्षक ओमप्रकाश खनालले बताए। मोरङ प्रहरीका प्रवक्ता प्रभुप्रसाद ढकाल प्रयोगकर्तालाई निरुत्साहित गर्न सक्दा लागूऔषध कारोबार पनि नियन्त्रण हुने बताउँछन्।

मोरङमा अघिल्लो आर्थिक वर्ष १३३ वटा लागूऔषधका मुद्दा चलेका थिए भने २०६९/७० मा ८९ र २०६८/६९ मा ११५ वटा मुद्दा चलेका थिए।

कमल रिमाल, विराटनगर


विद्यालय जोगाउने चिन्ता

प्रावि गौरीगाउँको कक्षा ४ र ५ का विद्यार्थीलाई पढाउँदै शिक्षक रुक्मिणा रेग्मी।
२०५७ देखि दाङको टरिगाउँ–५ गौरीगाउँस्थित गौरीगाउँ प्राथमिक विद्यालयमा पढाउन थालेकी रुक्मिणा रेग्मी (४८) ले शुरूमा एक कक्षामा ४५ जनासम्मलाई पढाइन्। तर, अहिले विद्यालयभरिमा ३६ जना मात्र विद्यार्थी छन्। उनीहरूमध्ये पनि २२ जना मात्र नियमित विद्यालय आउँछन्।

२०४७ मा स्थानीय केशवप्रसाद भण्डारीको सक्रियतामा स्थापित उक्त प्राविमा विद्यार्थी घटेपछि शिशुदेखि ५ कक्षासम्म पढाइ हुने यो विद्यालय जोगाउने चिन्ता बढेको छ। तीन जना शिक्षक, दुई जना सहयोगी कार्यकर्ता र एक जना कार्यालय सहयोगी रहेको यो विद्यालयमा धेरैजसो थारू समुदायका बालबालिका पढ्छन्।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रजीत चौधरी विद्यार्थी घट्न नदिन आगामी शैक्षिक सत्रबाट अंगे्रजी माध्यममा पढाइ शुरू गर्ने योजना बनाएको बताउँछन्। जिल्ला शिक्षा अधिकारी प्रह्लाद अर्याल भने न्यून विद्यार्थी भएका विद्यालयलाई 'मर्ज' गर्नुपर्ने बताउँछन्।

यो प्राविमा विद्यार्थी घट्नुमा नजिकै खुलेका निजी विद्यालय कारण देखिन्छ। टरिगाउँ–४ र ५ मा पाँच वटा बोर्डिङ स्कूल छन्। अभिभावकले दुःखजिलो गरेर भए पनि छोराछोरीलाई निजी विद्यालयमा पढाउने प्रवृत्ति बढेको छ।

यहाँका सबै अभिभावक छोराछोरीलाई निजी विद्यालयमा पढाउन सक्ने आर्थिक हैसियतका भने छैनन्। त्यसैले विद्यालय बन्द भएमा विपन्न थारू समुदायका बालबालिकाले पढ्न नपाउने स्थिति आउन सक्छ। “हामी यो विद्यालय जोगाउन चाहन्छौं” निमित्त प्रअ रेग्मी भन्छिन्, “महिलाहरूले मात्र चलाएको विद्यालय हो यो, हामीलाई विश्वास गरेर अभिभावकहरूले साथ दिने हो भने यसलाई अंग्रेजी माध्यमबाट पढाइ हुने बोर्डिङसरह बनाउन सक्छौं।”

देविका घर्ती मगर, दाङ

comments powered by Disqus

रमझम