४-१० माघ २०७१ | 18-24 January 2014

झापामा छाला प्रत्यारोपण

Share:
  

गोपाल गडतौला
छाला सम्बन्धी रोगको उपचार गर्न काठमाडौं बाहिर पहिलोपटक झ्ापाको दमकमा छुट्टै अस्पताल 'डेल्फी स्किन केयर हस्पिटल' खुलेको छ। अस्पतालले छालाको उपचारका लागि कस्मेटोलोजी र डर्माटोलोजी दुवै सेवा दिन शुरू गरेको छ। अस्पतालका मेडिकल अफिसर डा. माधव गौतमका अनुसार डढेको र चोटपटकले बिग्रिएको ठाउँमा शरीरका अन्य भागको छाला ल्याएर प्रत्यारोपण गर्न सकिन्छ। गौतम भन्छन्, “छालाको कस्मेटिक र प्लास्टिक दुवै सर्जरी गर्छौ।”

करीब डेढ करोड लगानीमा सञ्चालनमा आएको अस्पतालमा दुई डर्माटोलोजिस्ट, एक फिजिसियन र अरू ६ स्वास्थ्यकर्मीसँगै परामर्श चिकित्सकको रूपमा चीनको बेइजिङ हस्पिटलकी चर्मरोग विशेषज्ञ डा. टाङ चिङ समेत कार्यरत छिन्, जो अस्पताल आउने हरेकलाई प्रत्येक दिन मनतातो पानीले नुहाउन र वर्षमा एकपटक छाला सम्बन्धी चिकित्सकलाई भेटेर सल्लाह लिन सुझाउँछिन्। “कसैको छाला एकदमै चिल्लो र कसैको बढी सुक्खा हुन्छ” चिङ भन्छिन्, “छालालाई हमेशा मुलायम राख्न कम्तीमा मेरो छाला कस्तो छ भनेर जान्नैपर्छ।”

छालाले शरीरलाई आकार दिने र वातावरण अनुकूल हुने गरी तापक्रम समेत सन्तुलनमा राखिरहेको हुन्छ। तर, त्यही छालाबाटै शरीरमा रोगको संक्रमण हुने सम्भावना पनि बढी हुन्छ। छालामा हुने बाहिरी संक्रमणले व्यक्तिलाई कुरूप र दीर्घरोगी बनाउन पनि सक्छ। तर ज्यानमा तत्काल प्रत्यक्ष खतरा नहुने भएकोले धेरैले छालाको संवेदनशीलता र स्याहारलाई वास्ता गर्दैनन्। डर्माटोलोजिस्ट डा. शयना शाक्य भन्छिन्, “चिसोमा छालाले झ्न् बढी स्याहार खोजिरहेको हुन्छ। सुक्खापन बढ्ने हुँदा छाला नरम र मुलायम पार्ने सामग्री प्रयोग गर्नुपर्छ।”

गोपाल गडतौला, झापा


फेरि हतियारको जगजगी

१५ पुसमा महोत्तरीको हाथिलेट–७ का मंगलसिंह विश्वकर्मा (५०), बिजलपुरा–४ का शिवकुमार महतो (४०), सुन्दरपुर–१ का सरोजकुमार यादव (२१) र खैरबन्नी–५ का सुलेमान बैठा (२०) हतियार सहित पक्राउ परे (हे. तस्वीर)। प्रहरीले उनीहरूबाट 'मेड इन युएसए' लेखिएका ९ एमएमका दुई थान पेस्तोल, दुई थान म्यागजिन र चार राउण्ड गोली बरामद गरेको थियो। अनुसन्धानपछि यो समूह भारतबाट हतियार किनेर मध्य तराईका जिल्लामा बिक्री गर्ने काममा सक्रिय रहेको खुल्यो। भारत सीतामढीका हतियार व्यापारी जामुन ठाकुरबाट सम्सी नाकाहुँदै हतियार ल्याउँदै गर्दा उनीहरू समातिएका थिए।

यसअघि १५ मंसीरमा प्रहरीले 'मेड इन युएसए' लेखिएका दुई थान अत्याधुनिक पेस्तोल, दुई थान म्यागजिन र चार राउण्ड गोली सहित महोत्तरीकै सनोखराका रहमतुल्लाह नदाफ (२०), वीरेन्द्र राउत अमात, सिरहाको विसनपुर–६ का संजयकुमार यादव (१६), धनुषाको जनकपुर–८ का वाल्मीकि भगत (१६) र कृष्णकुमार चौधरीलाई पक्राउ गरेको थियो(हे. तस्वीर)। उनीहरूले भारतको पुपरी भोगरहियाका पिंकु यादवको हतियार ढुवानी गर्ने काम गर्दै आएको प्रहरीको दाबी छ।

मेड इन युएसए, इटली, इजरायल आदि लेखिएका यस्ता हतियार सीमावर्ती बजार मुजफ्फरपुर, मुगेर, बेतिया, सीतामढी, दरभंगा, मधुवनी, जयनगर लगायतका ठाउँमा बन्ने गरेको प्रहरी स्रोत बताउँछ। मध्य तराईका जिल्लाहरूमा बढ्न थालेका अपहरण, हत्या र धम्कीका घटनामा यिनै हतियारको प्रयोग भइरहेको प्रहरी अधिकारीहरू बताउँछन्।

अञ्चल प्रहरी कार्यालय, जनकपुरका अनुसार पछिल्लो तीन वर्षमा मध्य तराईका तीन जिल्ला धनुषा, महोत्तरी र सर्लाहीमा हातहतियार तथा खरखजाना मुद्दामा ११३ जनालाई पक्राउ गरिएको छ। यस अवधिमा धनुषामा ५७, महोत्तरीमा ४६ र सर्लाहीमा ४४ जनाको हत्या भएको थियो। महोत्तरी प्रहरीका एक अधिकृत भन्छन्, “महोत्तरीकै बाटो हुँदै भारतको दरभंगा, सीतामढी र मधुवनीबाट नेपालमा हतियार भित्रिइरहेका छन्।” प्रहरीका अनुसार भारतमै पुगेर किन्दा रु.४०–५० हजार पर्ने हतियार सीमा कटाएर नेपालमा ल्याएपछि रु.१ लाखभन्दा बढीमा किनबेच हुने गरेको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक लोकेन्द्र श्रेष्ठ हतियारको तस्करी रोक्न गस्ती बढाइएको बताउँछन्। उनी भन्छन्, “हतियार ओसारपसारमा युवा र विद्यार्थीको प्रयोग भइरहेकाले अवस्था डरलाग्दो छ।” हतियारको जगजगी बढेपछि महोत्तरी प्रहरीले खरीदकर्ताकै भेषमा सम्सी, खैरबन्नी, बथनाहा नाकाबाट ओसारपसारमा संलग्नलाई पक्राउ गर्न थालेको पनि प्रहरीले जनाएको छ।

कमलेश मण्डल, महोत्तरी

comments powered by Disqus

रमझम