११-१७ माघ २०७१ | 25-31 January 2015

ट्युसन पढ्न सदरमुकाममा भीड

Share:
  

महेश केसी
रुकुमको पूर्वीक्षेत्रका माध्यमिक विद्यालयमा अहिले १० कक्षाको पठनपाठन बन्द छ। अबको दुई महीनापछि एसएलसी परीक्षा दिने त्यहाँका १० कक्षाका सबैजसो विद्यार्थी ट्युसन पढ्न सदरमुकाम आइपुगेका छन्। पूर्वी रुकुमको महतस्थित शहीद शुक्र माविका विद्यार्थी किरण राना भन्छन्, “पहिले त सरहरूले सदरमुकाम नजान भन्नुभएको थियो, सबै साथी हिंड्ने भएपछि हामीलाई पनि नआई भएन।”

नेपाल राष्ट्रिय उच्च मावि चुनवाङकी छात्रा पुष्पा ओली सदरमुकाम आएका सबै विद्यार्थी अब परीक्षा दिन मात्र विद्यालय फर्कने बताउँछिन्। सदरमुकाम मुसिकोटस्थित जिल्लाकै पुरानो त्रिभुवन जनता उच्चमाविका गणित शिक्षक संगम केसी, विज्ञानका नन्दराम श्रेष्ठ, अंग्रेजीका प्रकाशकुमार देव, डिल्ली डाँगी र शेरबहादुर केसी मिलेर दर्ता गरेको ट्युसन सेन्टर 'सिर्जनात्मक शिक्षण सहयोग केन्द्र' मा सदरमुकामका र गाउँबाट आएका विद्यार्थीहरू ट्युसन पढिरहेका छन्। विद्यार्थीको चाप थेग्न नसकिने रहेकाले एक समूहमा ३०–४० विद्यार्थीलाई राखेर पढाइन्छ भने प्रतिविद्यार्थी तीन महीनाको ट्युसन शुल्क रु.४ हजार ५०० लिने गरिएको छ। केन्द्रका प्रमुख केसी विद्यार्थीको आग्रहमा नै ट्युसन कक्षा चलाइएको बताउँछन्।

गाउँका विद्यार्थी परीक्षा नजिकिंदै गर्दा ट्युसनमा केन्द्रित भए पनि सदरमुकामका विद्यार्थी भने गत जेठ असारदेखि नै ट्युसन पढिरहेका छन्। जिल्ला शिक्षा अधिकारी मित्रमणि खनाल माघसम्म नियमित कक्षा सञ्चालन हुने भएकाले एसएलसीको तयारीमा रहेका विद्यार्थीहरूले विद्यालयमै पढ्नुपर्ने र फागुनदेखि मात्र आफ्नो तरीकाले ट्युसन लगायतका कक्षाहरू लिन सकिने उल्लेख गर्दै कोही विद्यालय छाडेर आएका भए विद्यालयमै फिर्ता गरिने बताउँछन्।

महेश केसी, रुकुम


शहरकै स्कूलको बिजोग

विद्यालयका १२ विद्यार्थीसँग निजी स्रोतका शिक्षक अमित थापा मगर।
उदयपुरको कटारी नगरपालिका–३ मा रहेको श्री जनता प्राथमिक विद्यालय, एक्लेसल्लाको भौतिक अवस्था कुनै दुर्गम र विकट ठाउँको विद्यालयभन्दा फरक छैन, झ्ट्ट हेर्दा यो नगरक्षेत्रभित्रको विद्यालय हो जस्तो पनि लाग्दैन। २०६४ सालमा स्थापित विद्यालयमा बेलायती सहयोग नियोग डीएफआईडीले बनाइदिएको दुईकोठे भूकम्प प्रतिरोधात्मक भवनको एउटा कोठामा कार्यालय छ भने अर्कोमा पाँचवटै कक्षाका विद्यार्थी पढ्छन्। “बहुकक्षा चलाएका छौं” विद्यालयका निजी स्रोतका शिक्षक अमित थापा मगर भन्छन्, “अर्को उपाय छैन।” एउटै कोठामा पाँच वटा कक्षा सञ्चालन गरिए पनि कक्षाकोठा विद्यार्थीले भरिंदैन।

एक्लेसल्ला, हात्तीटार, गागन र मागनका ३४ घरधुरीका बालबालिका पढ्ने विद्यालयमा हिउँदमा बढीमा १०–१२ जना विद्यार्थी मात्र आउँछन्। “विद्यालय टिकाउन ९६ जना विद्यार्थीको तथ्यांक देखाउँछौं” शिक्षक मगर भन्छन्, “दुईदर्जन विद्यार्थी पनि नियमित विद्यालय आउँदैनन्।” राहत कोटाका प्रधानाध्यापक जिनिता थापा सिरहाको गोलबजारबाट दुई घण्टा पैदल हिंडेर विद्यालय आउँछिन्। वर्षामा घुर्मीखोलाको बाढीले गर्दा थापा विद्यालय नै नआउने अभिभावकहरू बताउँछन्। दुर्गम गाउँ भएकाले गाउँमा प्रधानाध्यापक नबस्दा विद्यालयमा नियमित पठनपाठन नहुने पूर्व वडाध्यक्ष तिलकबहादुर सुनुवारले बताए।

सरकारले नगरपालिका घोषणा गरे पनि भौगोलिक विकटता र पूर्वाधार विकास नहुँदा यहाँका विद्यार्थीलाई पाँच कक्षा उत्तीर्ण गरेपछि मावि पढ्न दुई घण्टा पैदल हिंडेर खसिवासस्थित पञ्चावती मावि पुग्नुपर्छ। सुनुवार भन्छन्, “त्यसपछिको उच्चशिक्षा लिने पैसा हुनेले मात्र हो।” विद्यालयमा जम्माजम्मी तीन शिक्षक/शिक्षिका कार्यरत छन्। विकट ठाउँमा विद्यालय टिकाउनै गाह्रो भएकाले सुनुवार, मगर, राई समुदायको बाहुल्य रहेका यी गाउँमा एसएलसी उत्तीर्ण मान्छे भेट्टाउन समेत गाह्रो छ।

ऋषि राई, उदयपुर


कमाइजति रक्सीमा

तस्वीरहरुः श्रवणकुमार देव
सप्तरीको शम्भुनाथ नगरपालिका–१ स्थित शिवशक्ति इँटा उद्योगमा कार्यरत रामाधिन सदा (२९) (हे.तस्वीर) ९ पुस बिहान मदिराले लट्ठ थिए। उद्योग परिसरमा झ्ुप्रा बनाएर परिवारसहित बसेका अधिकांश मजदूरको हालत पनि रामाधिनजस्तै थियो। महिलाहरू केही इँटा उद्योगमा काम गरिरहेका र केही पतिको सेवामा खटिएका थिए। अघिल्लो दिन उद्योगले हप्ताभरि काम गरेको ज्याला बाँडेकाले उनीहरु काममा समेत गएनन्। उद्योग सञ्चालक दुर्गानन्द साह भन्छन्, “यो आजको समस्या होइन, हप्ता पाउने बित्तिकै धेरै मजदूर काममा आउँदैनन्, यसैगरी बस्छन्।”

उद्योगमा कार्यरत करीब २०० मजदूरमध्ये अधिकांश सप्तरी र उदयपुरका सदा (मुसहर) समुदायका छन्। मजदूरी गरेर कमाएको अधिकांश रकम उनीहरूले रक्सीमै सिध्याउने गरेको साह बताउँछन्। यो क्षेत्रका धेरैजसो इँटा उद्योगमा काम गर्ने मजदूरको अवस्था योभन्दा फरक छैन। सप्तरीकै तेरहौता–५ स्थित राज इँटा उद्योगमा कार्यरत ललकु सदा (३७) भन्छन्, “काम गर्दा थकाई लाग्छ, अनि रक्सी नपिएर हुन्न।”

सप्तरीका ५० भन्दा बढी इँटा उद्योगमा काम गर्ने मजदूरमध्ये धेरै सदा समुदायका छन्। कमाएको पैसा रक्सीमा सिध्याइरहेका उनीहरू बालबालिकालाई विद्यालय पठाउँदैनन्। शिवशक्ति इँटा उद्योगमा कार्यरत मजदूरका करीब ८० बालबालिका छन्, तर कोही पनि विद्यालय जाँदैनन्।

करीब ८ महीना इँटा उद्योगमा बिताउने कामदारहरू स–परिवार त्यहीं बस्छन्। “इँटा उद्योगमा काम गर्ने मजदूरका बालबालिका विद्यालय गइरहेको पाएनौं” महिला तथा बालबालिका कार्यालय सप्तरीकी अधिकृत पुनम चौधरी भन्छिन्। पूर्वसभासद् असर्फी सदा मुसहर समुदाय शिक्षा केही होइन भन्ने मानसिकताबाट बाहिर निस्कन नसकेकाले नै पछाडि परेको बताउँछिन्। उनी भन्छिन्, “हाम्रो समुदायमा चेतना जगाउने काम अपरिहार्य भइसकेको छ।”

सप्तरीका इँटा उद्योगमा काम गर्ने बालबालिका पनि धेरै छन्। कोही फुर्सदको समयमा पढाइ खर्च जुटाउन इँटा उद्योगमा काम गर्न आएकाहरू छन् भने धेरै चाहिं घरमा स्याहार नपाएका, बाबुले दोस्रो बिहे गरेका जस्ता समस्या भोगेका तथा बाबुआमासँगै आएकाहरू छन्। “इँटा उद्योगमा काम गर्ने मजदूर, बालबालिका र किशोरकिशोरीको अवस्था भयावह देखिन्छ” जिल्ला बाल कल्याण समितिका सदस्य वैद्यनाथ झा भन्छन्, “अभिभावकले सबै पारिश्रमिक रक्सीमा उडाउँछन्, बिचल्ली बच्चाबच्चीको भएको छ।”

श्रवणकुमार देव, राजविराज

comments powered by Disqus

रमझम