पाँचथरका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेल हरेक बिहान ८ बजे फिदिम–२ का अमृतमान विश्वकर्मा (५९) र पवित्रा धमला (५७) दम्पतीको घर पुग्छन्। जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपाल पनि फिदिम–१ का कमला पोखरेल (५०) र गीता राई (४९) को घर धाइरहेका भेटिन्छन्।
जिल्ला शिक्षा कार्यालय र जिल्ला शिक्षा समितिको अगुवाइमा सञ्चालित 'निरक्षर उन्मूलन अभियान' मा सहभागी कँडेल र नेपाल निरक्षरलाई अक्षर चिनाइरहेका छन्। “अबको दुई महीनाभित्रै उनीहरूलाई साक्षर बनाउने प्रतिबद्धता जनाएका छौं”, प्रजिअ कँडेल भन्छन्। जिल्लामा १४ हजार ३१७ जना निरक्षर छन्।
अभियान अन्तर्गतको 'इच वान, टिच वान' अर्थात् प्रत्येक साक्षरले अर्को निरक्षरलाई साक्षर बनाउने कार्यक्रम अन्तर्गत सम्पूर्ण सरकारी कर्मचारी, राजनीतिक दलका नेता, नागरिक समाजका अगुवा गाउँलेका घर–घर पुगिरहेका छन्। साक्षर बनाउने अभियानमा जुटेकालाई कुनै पारिश्रमिक भने दिइँदैन।
९ फागुन २०७१ मा यो अभियान शुरू गरिएको हो। अभियानले जेठ मसान्तभित्र सबै निरक्षर साक्षर बनाउने अठोट लिएको छ।
निरक्षरलाई साक्षर बनाउन तीन चरणका कार्यक्रम तय गरिएको थियो। जस अन्तर्गत निरक्षरको हातहातमा पाठ्यपुस्तक पुर्याउने, स्रोतव्यक्ति र गाविस सचिवको अगुवाइमा राजनीतिक दल, संस्था, विद्यालयका प्रधानाध्यापकको उपस्थितिमा प्रत्येक गाविसमा सर्वपक्षीय भेला गर्ने जस्ता काम सकिएका छन्। साक्षर परिवारलाई प्रमाण पत्र वितरण गर्दै निरक्षरलाई साक्षर बनाउने जिम्मेवारी लिने यो तेस्रो चरणको कार्यक्रम हो।
“सरकारको साक्षर नेपाल अभियान सफल पार्न पाँचथरले नेतृत्व लिनुपर्छ भन्ने हाम्रो उद्देश्य हो”, जिशिअ नेपाल भन्छन्। अनौपचारिक शिक्षा कार्यक्रम अन्तर्गत विगतमा चलेका साक्षरता अभियान प्रभावकारी बन्न नसकेका कारण यो अभियान थालिएको उनी बताउँछन्।
लक्ष्मी गौतम, फिदिम