१७-२३ जेठ २०७२ | 31 May - 5 June 2015

ठेकेदारले खाने भए सडक

Share:
  

गोपाल गडतौला
दमक―चिसापानी―रवि सडकको १० किलोमिटर खण्डमा ह्युमपाइप राख्ने र यातायातको लागि ट्रयाक खोल्ने ठेक्का लिएको बोखिम/बिरुवा ज्याइन्ट भेञ्चर प्रा.लि काम सक्ने अवधि डेढ महीना बाँकी हुँदा सम्पर्कविहीन भएको छ। कुल ३० प्रतिशत मात्र सकेको यो कम्पनीलाई सडक डिभिजन कार्यालय, दमकले गत २६ माघमा काम सन्तोषजनक नभएको भन्दै सचेतपत्र र २ चैतमा स्पष्टीकरणसहित उपस्थित हुन सातदिने म्याद दिएको थियो। डिभिजन सडक कार्यालयका इन्जिनियर शम्भु आचार्य भन्छन्, “तर, कम्पनीले सम्पर्क गरेको छैन।”

बोखिम/बिरुवाले २०७१ कात्तिकमा दमकको बेलडाँगीबाट पश्चिमी इलामको बाँझोहुँदै पाँचथरको रवि पुग्ने ४७ किलोमिटर सडकको चपेटी―घर्तिदोभान खण्डमा ह्युमपाइप राख्ने र यातायातको लागि ट्रयाक खोल्ने रु.४ करोड ५ लाखमा ठेक्का पारेको थियो। कम्पनीले रु.८० लाख भुक्तानी लिइसकेको सडक विभागको रेकर्डमा देखिन्छ। यसैगरी, आउँदो असार मसान्तसम्ममा घर्तिदोभान―लारुम्बा ६ किलोमिटर खण्ड चौडा पार्न अढाइ करोडको ठेक्का लिएको थेगिम बेल्का ज्वाइन्ट भेञ्चर इलाम पनि रु.२० लाख लिएर सम्पर्क बाहिर भएको छ। यो कम्पनीले त काम शुरू नै गरेको छैन। २०६० सालमा राष्ट्रिय योजनामा परेको यो सडकमा हालसम्म रु.१२ करोड खर्च भइसकेको छ।

गोपाल गडतौला, झापा

comments powered by Disqus

रमझम