भदौ २०७८ | 17/08/2021

हिमालको जन्म र मान्यता

Share:
  
- कनकमणि दीक्षित
पुनः छापा प्रकाशनतर्फ फर्कंदा शुरूदेखि नै बोकेको दर्शन र सिद्धान्ततर्फ वफादार रहनेछ हिमाल, विशेष गरी मानव अधिकार, सामाजिक न्याय र प्रतिनिधिमूलक शासनको पक्षमा निगरानी ।

हिमाल खबरपत्रिकाको बिउ न्यूयोर्क शहरमा सन् १९८८ मा रोपिएको हो, जब म संयुक्त राष्ट्रसंघको ‘प्रेस अफिस’मा जागीरे थिएँ । र, नेपाल फर्किने ध्येयमाझ दिनरात बित्दै थिए । ‘लङफर्म’ र खोजमूलक सामग्री छाप्ने दि एट्लान्टिक, न्यू योर्कर र हार्पर्स् पत्रिकाको कामबाट उत्साहित भएर नेपालको मात्र नभई पूरै हिमालय क्षेत्रका लागि एउटा ‘रिभ्यू म्यागजिन’ निकाल्ने निधो गरें । पहिलो दुई वर्ष उतै छाप्ने गरी पत्रिका निक्लियो– अंग्रेजी हिमाल ।

१० वर्षको न्यूयोर्क प्रवासपछि नेपाल फर्कंदा एउटा प्रकाशक चाहियो । तर, २०४६ सालको आन्दोलन भर्खर सफल भएको त्यो वेला ‘संस्था दर्ता ऐन’ थिएन । मलाई नेपाल फर्कन प्रेरणा दिने अग्रज अधिवक्ता भरतराज उप्रेतीले ‘हिमाल एसोसिएट्स’ कम्पनी दर्ता गराइदिनुभयो । भारतदत्त कोइराला अध्यक्ष भएको कम्पनी हिमालको प्रकाशक भयो, म सम्पादक । भारत दाइ जहिल्यै भन्नुहुन्थ्यो, “हामीले कनकको पत्रिका निकाल्न संस्था खोलिदिएको ।”

पछि संसद्बाट संस्था दर्ता ऐन पारित भए लगत्तै हाम्रो पत्रिका प्रकाशन गर्न ‘हिमाल एसोसिएशन’ जन्मियो । समय क्रममा प्रकाशक मात्र नभई हिमाल एसोसिएशनले वृत्तचित्र प्रदर्शनी ‘फिल्म साउथ एशिया’ तथा ‘हिमाल किताब’ समेत जन्मायो।

अंग्रेजी हिमालले पञ्चायतको कालखण्डमा राजनीतिभन्दा वातावरणीय, सांस्कृतिक तथा समाजशास्त्रीय विधालाई प्राथमिकता दियो, जसले पछि गएर दक्षिणी एशिया उपमहाद्वीप हेर्ने गरी आफूलाई फैलायो । यता नेपालमा छापिने पत्रिकाले मुख्यतः अंग्रेजीभाषी पाठकलाई मात्र लक्षित गरेकाले हिमालको सामग्रीलाई नेपालीमा पनि प्रस्तुत गर्ने विषयमा छलफल भयो । शुरूमा उल्था सामग्री सहित वार्षिक रूपमा पुस्तकाकारमा छाप्ने काम भयो । त्यति वेलाको प्रकाशकीयमा भारत दाइले लेख्नुभयोः ‘हिमालले चासो राखेका विषयहरूमा नेपाली भाषाका आम पाठकको पनि ध्यान पुगोस् भनेर वार्षिकांकका रूपमा आएको हो ।’


अंग्रेजी हिमालको शुरूआतमा सहयोगी हातहरू केसाङ छेदेन र मन्जुश्री थापा सहितको थियो भने नेपाली संस्करणको यात्रा वसन्त थापा, केदार शर्मा, प्रत्यूष वन्त र मनीषा अर्यालको साथमा भएको थियो ।

बामे सर्दो प्रजातन्त्र (आजको ‘लोकतन्त्र’) युगमा हिमाल पनि समसामयिक हुनुपर्ने भयो, र राजनीतिक समाचार र विश्लेषण पनि पस्कनुपर्‍र्‍यो, यसै कारण ऊ अंग्रेजी हिमालबाट अलग्गिएर हिमाल द्वैमासिक बन्यो, त्यसपछि पाक्षिक अनि साप्ताहिक । जुन दौरानमा हिमालमिडिया प्रकाशन गृहले यसको स्वामित्व लियो । उति वेलाको ‘हिमाली’ हिमालको लोगो मेरो अक्षरलाई ‘स्टाइलाइज्ड’ गरेर अगाडिको इकारलाई सेतो चुच्चो आकार दिने काम कलाकार टेकवीर मुखियाबाट भएको थियो । अंग्रेजी हिमालको सेतो त्रिकोण सहयात्री बन्यो, नेपाली हिमालको सेतो झण्डा । हिमाललाई व्यावसायिक पत्रिकाको रूप र सामग्री दिने काम सम्पादक राजेन्द्र दाहालबाट भयो, उहाँ र म मिलेर खबर+पत्रिका = ‘खबरपत्रिका’ शब्दको न्वारन पनि गर्‍योँ, उर्दू / फारसी र संस्कृत मिसाएर ।

राजेन्द्रजीको नेतृत्वमा हिमाल खबरपत्रिकाले रफ्तार लियो र पत्रकारिताको नौलो स्वाद पाठकले पाए । राजेन्द्रजीपछि शिव गाउँले, कुन्दन अर्याल तथा अन्तिम चरणमा किरण नेपालले हिमालको सम्पादकीय नेतृत्व गर्नुभयो ।

हिमालले आफ्नो शुरूआती ‘दर्शन’ निरन्तर बोकेको जस्तो लाग्छ । धेरैपटक सामाजिक र राजनीतिक धारलाई चुनौती दिने गरी सम्पादकज्यूहरूको नेतृत्वमा साहसिक भूमिका पनि रच्यो । शुरूका हिमालका अंकहरूले पहिचान, सामाजिक न्याय जस्ता पञ्चायतकालदेखि नै वर्जित विषयमा बौद्धिक लेखन प्रस्तुत गर्‍यो, पछि यो राजनीतिक खबरपत्रिकाको हिसाबले नै अघि बढ्यो ।

माओवादीको हिंस्रक आन्दोलन (व्यक्ति हत्यादेखि बालयोद्धा प्रयोगसम्म), राज्यको कठोर प्रतिक्रिया, नारायणहिटी हत्याकाण्ड, असोजतन्त्र, भारतीय नाकाबन्दी, अदुअआमा लोकमानसिंह कार्कीको उदय (र पतन) लगायत विषयमा हिमालले आफूलाई बलियो रूपमा उभ्यायो ।

वार्षिक संकलनबाट द्वैमासिक हुँदै खबरपत्रिकाका रूपमा पाक्षिक भएको हिमाल पछि साप्ताहिक भयो । अहिले आएर पहिलो पटक मासिक भएको छ ।

मिडियाको परिवर्तित अवस्थामा प्रकाशक हिमालमिडिया पनि पौडिइरहेछ । अनलाइन मिडिया र सामाजिक सञ्जालको प्रवद्र्धनले छापाखानामा आधारित ‘लेगेसी मिडिया’ लाई परेको असरले हिमाललाई पनि नछोएको होइन ।

कोभिड–१९ महामारी रोकथामका लागि २०७६ चैतमा लगाइएको बन्दाबन्दीमा हिमाल खबरपत्रिका वितरण गर्न सम्भव नभएपछि प्रकाशन स्थगन गरियो, अनलाइन पोर्टल हिमालखबर चलिरहेको छ ।

स्मार्टफोनसँगको सम्पर्क बढ्ने क्रममा कागजमा छापिएको पत्रिका पढ्ने बानी धेरैको टुटेको छ, तर कागजमा छापिएको पत्रिका पढ्ने मानव चाहना मेटिँदैन भन्ने हाम्रो बुझाइ हो, त्यसैले हिमालमिडियाको विचार रह्यो– विचारोत्तेजक मासिक पत्रिका पाठकसामु प्रस्तुत गर्ने, जो महीनाभरि नै पढ्न मिलोस् । दैनिक चासोका विषयमाथि आँखा लगाउने काम हिमालखबर अनलाइन समाचार पोर्टलले गरिरहने नै छ ।

सुरुवाती दर्शन

पुनः छापा प्रकाशनतर्फ फर्कंदा शुरूदेखि नै बोकेको दर्शन र सिद्धान्ततर्फ वफादार रहनेछ हिमाल, विशेष गरी मानव अधिकार, सामाजिक न्याय र प्रतिनिधिमूलक शासनको पक्षमा निगरानी । लोकतन्त्रप्रतिको वफादारी हिमालको जग हो, र सदैव वास्तविक प्रतिगमनतर्फको चिप्लेटीबारे सजग रहने र बिगुल फुक्ने । जनताको तन्त्रको प्रतिरक्षाका लागि विधिको शासन र पद्धतिप्रति समर्पित छ हिमाल । वर्तमान संविधानको रक्षा हाम्रो धर्म हो, किनकि नेपाललाई अराजकता, अन्तरसामुदायिक विग्रह, राजनीतिक अवसरवाद तथा कुशासनबाट बचाउन २०७२ सालको संविधानको मूलभूत मान्यता फेरबदल हुनु हुँदैन भन्ने हाम्रो मान्यता हो, कम्तीमा अर्को दुई लहर निर्वाचन नभएसम्म ।

संघीयता अन्तर्गतका प्रदेश निर्माण भइसकेपछि राज्यका संरचनालाई बचाउनुपर्दछ । देखा परेका विकृतिहरू हटाउने हो, संघीयता खारेज गर्ने होइन, स्थानीय स्वायत्त शासनको मर्मलाई अहिलेको व्यवस्थाले अँगालेको छ, यसको प्रतिरक्षा चाहिएको छ । नयाँ संविधानमा ‘धर्मनिरपेक्षता’ राखिसकेपछि पादटिप्पणीको शर्त सहित धर्मनिरपेक्षतालाई आत्मसात् गर्नु हाम्रो धर्म हो । पूर्व राजा ज्ञानेन्द्रले आफूलाई सम्हालेर राजनीतिबाट प्रत्यक्ष र अप्रत्यक्ष दुवै रूपमा अलग राख्ने हो भने भोलि पृथ्वीनारायण शाहको सन्तानका रूपमा वर्तमान राजपरिवारलाई मर्यादित सामाजिक स्थानमा राख्न पनि सकिएला, तर नेपालको गणतन्त्रात्मक व्यवस्था अब फेरबदल हुन हुँदैन । नयाँ संविधानका आधारभूत मान्यताहरूमा फेरबदलको कोशिश भयो भने अनेकन् राजनीतिक र सामाजिक समस्या बल्झिएर मुलुक फेरि अर्को दश वर्ष पछाडि पर्छ, हाम्रो बुझाइमा ।

दश वर्षको सशस्त्र संघर्षले नेपाललाई २० वर्ष पछाडि धकेलेको छ । हिंसात्मक राजनीतिको घातक असर हामीले अझै पनि मनन गर्नुपर्ने हुन्छ । अन्तर्राष्ट्रिय मापदण्ड र सर्वोच्च अदालतको फैसला अनुरूप संक्रमणकालीन न्याय नटुंग्याउने हो र द्वन्द्वपीडितलाई निरन्तर अवहेलित गर्ने हो भने फेरि पनि २०५२ सालमा उदाएको माओवादी जस्तै अर्को हिंस्रक शक्ति उदाउनेछ र नेपाली सम्भावना फेरि मेटिनेछन् ।

अहिले अराजक पार्टीगत राजनीतिक परिस्थितिले वर्तमान व्यवस्था उल्ट्याउन उग्रवाम तथा पुरातनपन्थी, दक्षिणपन्थीलाई हौस्याएको जस्तो देखिन्छ । यस्ता प्रवृत्तिलाई खबरदारी गर्नुपर्छ भन्ने हिमाल मण्डलीको धारणा छ । दर्शनको आफ्नो ठाउँ छ, तर व्यावहारिकताको दृष्टिले पनि अहिले संविधानका मूलभूत मान्यता र सिद्धान्त हल्लाउने हो भने एक एक नेपाली नागरिकको अग्रगमन र परिवर्तनका आशामा फेरि कुठाराघात हुनेछ भन्ने मान्यता लिई हिमाल खबरपत्रिका र हिमालखबर अगाडि बढ्नेछन् ।

दशकौंको अस्थिर सरकारका कारण सचेत ठानिने कतिपयमा समेत सरकार बदलिरहने तलतल छ । यस्तै, सरकार र राज्यलाई नछुट्याई देशलाई नै कमजोर पार्ने अवसरवादी राजनीति पनि चलिरहेकै छ । देशमा कुनै कुरा राम्रो भयो भन्न हामी लजाउँछौं, मानौं यो देशले अरु कुनै समाजभन्दा राम्रो गर्नै सक्दैन । दक्षिण एशियाको हरेक मुलुकको तुलनामा नेपाल आज बढी लोकतान्त्रिक छ, यहाँको अन्तरसामुदायिक सम्बन्ध तुलनात्मक सुमधुर छ, यहाँको आर्थिक, भौगोलिक तथा मानव स्रोतले दिगो विकासको वास्तविक सम्भावना पेश गरेको छ । नेपालको सम्भावनाले शुरूआती दिनदेखि नै हिमाल मण्डली हौसिएको छ, र आज पनि हामी उत्साहित छौं ।

नेपालको सौम्य शक्तिको भण्डार ठूलो छ । अन्तर्राष्ट्रिय मञ्चमा नेपाल शिर ठाडो गरेर उभिन सक्छ भन्ने मान्यता हिमालको छ । नेपालको ‘भिसा रेजिम्’ संसारकै सजिलोमध्ये छ, तर यसको आधारमा हामीले हाम्रो देशलाई ‘संसारकै भेटघाटको थलो’ बनाउन सकेका छैनौं । भारत र चीनबीच वर्तमान शीतयुद्धको अवस्थामा नेपालको कूटनीतिक आचरण स्वाभिमानी र चनाखो हुनु जरुरी छ । आफ्नो पार्टीगत राजनीतिका लागि देशको परराष्ट्र नीतिको दुष्प्रयोग गर्ने प्रवृत्ति जुन कतिपय नेताहरूमा देखिन्छ, त्यो निन्दनीय छ ।

हिमाललाई लागेको छ, नेपाली जनताको आत्मबल तथा नेपाली हावा–पानी–माटोले दिएको सम्भावना बोकेर देशलाई शान्त र समृद्ध बनाउन हामीले सकिरहेका छैनौं । तर, यसको दोष राजनीतिकर्मी र कार्यकर्तामा मात्र जाँदैन, बौद्धिक वर्ग, व्यवसायी, गैरसरकारी क्षेत्र, नागरिक समाज तथा आम सञ्चारका संस्था र कर्मीहरूले पनि आफ्नो जवाफदेही स्विकार्नुपर्दछ । हिमाल मण्डली स्वयंले पनि स्विकार्दछ ।

आशा गरौं, कोभिड–१९ को कालरात्रि ढिलोचाँडो उघ्रिनेछ । त्यसैको प्रतीक्षामा पनि हिमाल खबरपत्रिका फेरि छापा मासिकमा पाठकसामु आएको छ । राजनीतिक स्थिरता आजको खाँचो हो, तर त्यति मात्र भनेर पुग्दैन, ‘लोकतान्त्रिक, संसदीय, राजनीतिक स्थिरता’ नेपाली जनताको भावी यात्राको पथप्रदर्शक हो– तसर्थ वर्तमान संविधानको प्रतिरक्षा गर्दै, गैरहिंस्रक राजनीतिद्वारा संसदीय लोकतान्त्रिक स्थिरताका लागि नै हिमाल आगामी दिनमा केन्द्रित हुनेछ ।

अन्त्यमा, शुरूआतदेखि नै प्रकाशकका रूपमा म हिमालसँग आबद्ध छु, जब कि म यताउता बरालिँदा प्रकाशकको वास्तविक अभिभारा मेरा दाइ कुन्द दीक्षितले नै निर्वाह गरे । आफ्नो मूल्यांकनमा म प्रकाशकभन्दा सम्पादक हुँ, तर सम्पादकभन्दा म संवाददाता हुँ, र त्यही पहिचान अब बोक्न चाहन्छु । तसर्थ आगामी अंकदेखि मेरो हुलिया हुनेछ, ‘रोमिङ करेस्पन्डेन्ट’– घुमन्ते संवाददाता ।

comments powered by Disqus

रमझम