पेशाले रिक्सावाला । तर गजलका शौखिन छन्, अब्दुल वहीद कौशर नेपाली । गजलका स्रष्टा पनि र साधक पनि हुन् उनी । उर्दू भाषा उनको प्रकट हुने माध्यम हो । जब उनी लेख्छन् शब्द बग्न थाल्छ । जब उनी गाउँछन्– झ्ङ्कृत हुन्छ जीवन ।
कस्ता कस्ता मोडमा
जीवन बिताएँ ए फकीर
रिक्सा सँगै गुड्दैछ
जीवन यो ए फकीर
मलाई मिलेन फेरि चैन
ऋतु बहारमा ऐ फकीर
रित्तिएको हृदयको सहारा
जीवन रहेछ ऐ फकीर
यो गजल उनको जीवनको परिभाषा हो । मदरसामा पाँच कक्षामा पढ्दै गर्दा उनका पिता मोहम्मद उसमान हलवाईको देहान्त भएको थियो । परिवार चलाउन स्कूल छाडेर काम खोज्न हिँडे । काम पनि पाए, कुल्लीको । स्कूलमा उनी अब्बल दर्जाका छात्र थिए । स्कूल छाडेपछि गीतसँग प्रीत बस्यो । “तरङ्ग उठ्थ्यो, गाउँथे,” उनी भावुक भएर भन्छन् । जब उनी गाउँथे त सुन्थे, उस्ताद असरफले । नाताले ठूलो बुबा पर्ने असरफ नेपालगञ्जका नामी गजल–गायक हुन् । उनैले गजल गायकहरूको संस्था ‘बज्मे अदब’ खोलेका थिए । उनी नै प्रथम पारखी बने– अब्दुलको प्रतिभाका ।
उस्ताद असरफले परीक्षणको निमित्त अब्दुललाई २०४५ सालमा नेपालगञ्ज बाल मन्दिरमा आयोजित बाल साहित्यिक कार्यक्रममा प्रस्तुत गरे । त्यहाँ उनले गजल गाए । तर के गाए उनलाई अहिले याद छैन । यति सम्झ्ना छ– उनी पुरस्कृत भए । “त्यो पुरस्कार पाएपछि मलाई लाग्यो, म छु, मेरो जीवन छ, गीत नै मेरो जीवन रहेछ,” अब्दुलले भने । उस्ताद असरफको परख किन विफल हुन्थ्यो– त्यही प्रतिभा अहिले कौशर नेपालीको नामले अवध प्रदेशमा चिनिन्छ । साँच्चै उनको इज्जत छ, अवध प्रदेशभरि । उनको गजल गुञ्जन्छ अवध प्रदेशभरि । उनी बाँचेका छन्, अवध प्रदेशभरि । रिक्सा चलाएर परिवारको भरणपोषण गर्नुपर्ने अब्दुलको नेपालगञ्जको एकलेनीमा रहेको सानो घरमा साहित्य–सङ्गमको लागि निम्ता दिनेहरूको घुइँचो लाग्छ छिमेकी भारतका शहरहरू बहराइच, नानपारा, गोंडा, महमुदावाद, लखनउ र लखीमपुरबाट । नेपालगञ्ज र बर्दियामा आयोजना हुने जुनसुकै साहित्यिक कार्यक्रममा पनि उसलाई निम्ता आउँछ । “कौशर नेपाली उपस्थित नभएको कार्यक्रम फिका हुन्छ,” साहित्य साधक नरेन्द्रजङ्ग पीटरले भने ।
हामीले पनि उनलाई नेपालगञ्जमा तीन दिन खोज्यौँ तर उनको पत्तो पाइएन । आश मारिसकेको बेला पीटरले फेला पारे । अब्दुल त गजल गाउन गएका रहेछन् सुदूर गाउँमा, पैसा कमाउन छोडेर । अन्ततः अब्दुल रिक्सा गुडाउँदै हामीकहाँ आए । उनको खुशीको सीमै थिएन । उनी पत्रकारसँग जो भेट्दै थिए । त्यसैले अवश्य गजल गाउनु पर्ला भनेर दुई घण्टाको समय निकालेका थिए । सामान्य परिचयपछि उनले प्रतिक्रिया दिए– म बाँचेको छु, मेरो जीवन छ–मेरो इज्जत छ, मेरो गीत छ । अध्यात्मवादी छन्— अब्दुल । मस्जिदमा उनी भजन गाउँछन् । त्यसैले उनका गजलहरू ईश्वरीय प्रेमको पराकाष्ठामा टुङ्गिन्छन् ।
तिमीले स्नेह दिए पनि, नदिए पनि
मलाई केही दुःख छैन
मलाई दुख्नेछ जीवन
तिमी टाढा भयौ भने
कोही टाढा भए पनि कौशर
उसकै इच्छा बलवान हो
तर ईश्वरले मनाउनेछन्
तिमी त नहुनु बेइमान हो
अब्दुलले भजन बाहेक जे जति गाएका छन्, आफ्नै रचना गाएका छन् । उनी भन्छन्, “रिक्सा चलाउँदा कथ्छु, सुत्ने बेलामा लेख्छु, हेर्छु, गाउँछु, फेरि लेख्छु । बिहान उठेर गाउँछु, अनि उस्ताद असरफलाई सुनाउँछु । उनले ठीक भने पछि मात्र मजलिस (कवि गोष्ठी) मा गाउँछु ।” “कौशरले गाएपछि रात बितेको पत्तै हुँदैन, जादू छ उनको तिखो स्वरमा, लय छ उनको शब्दमा,” पीटरले भने । साँच्चै हो । उनले गाएर दुई घण्टा मन्त्रमुग्ध पारे हामीलाई । अर्थात् मोहन, आरिफ, पीताम्बर, पीटर र मलाई । नहोस् पनि कसरी ? गउर साहब नेपाली उनका पृष्ठपोषक छन् । त्यसैले उनी घरबाट भाग्छन् घरि घरि, टाढा टाढा गजल गाउन । “जुन दिन गाउँदिन, त्यसदिन जीवन नै छैन जस्तो लाग्छ, गाउँदा मलाई बाँचेको आनन्द आउँछ,” अब्दुल भन्छन् । तर उनले गाइरहे, सुनाइरहे । उठ्न मन थिएन । तर हामीलाई उठ्नु थियो । छुट्नु थिएन तापनि हामी छुट्यौँ । अनि रिक्सा चल्यो गजल गाउँदै, नेपालगञ्ज–सुर्खेत सडकमा । प्रचण्ड गर्मी, तर शीतल मधुर स्वर ।
हस्त गुरुङ
नेपालको ग्लेमर संसारमा प्रवेश गर्न गाह्रो छैन तर, त्यसैबाट गुजारा चलाउन पनि सजिलो छैन । एडभटाइजरहरूलाई मोडल त चाहिन्छ, तर तिनलाई सम्मान गर्ने आदत छैन तिनको । काम छउञ्जेल नेहोरा गर्ने, पैसा दिने बेला स्यालको सिङ झ्ैँ हराउने, यस्तै छ यहाँका एडभटाइजरहरूको बानी । यी र यस्तै कुराहरूमा सुधार ल्याउन सके मोडलिङ पेशामा पनि राम्रै आम्दानी गर्न सकिने विचार छ नवप्रवेशी नोया सिंहको । यसपालि आई. एस्सी. पास गरेपछि सोसिअलजीमा स्वीच गरेकी नोया भन्छिन्, “सबै डक्टर इञ्जिनियर मात्र बने सोसिअलजिष्ट या साइकोलजिष्ट को बन्ने ? आफ्ना पिताको प्रोत्साहनबाट मोडलिङ जगतमा प्रवेश गरेकी नोया पढाइ र मोडलिङ दुबैमा अब्बल हुने अठोट राख्छिन् ।
मेकअपः चाहना ब्यूटी पार्लर,
कुपण्डोल तस्बिरः अनुपप्रकाश
डिजाइनः इन भोग बुटिक, कुपण्डोल