तस्विर: विक्रम राई
|
१० साउनमा एमाले मुख्यालय बल्खुमा बसेको प्रमुख तीन दलको बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले 'कांग्रेसले प्रधानमन्त्रीको नाम नदिंदा नयाँ सरकार गठन प्रक्रिया रोकिएको' बताइरहँदा कांग्रेस सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवा प्रतिक्रियाविहीन भएर बसिरहे। बरु केन्द्रीय सदस्य मिनेन्द्र रिजालले 'यो कुरा भन्न एमालेलाई सुहाउँछ, तपाईंहरूलाई सुहाउँदैन' भनेर दाहाललाई जवाफ दिएका थिए।
संविधानसभा विघटनपछि विपक्षीहरूबाट प्रधानमन्त्रीको उम्मेदवार प्रस्तुत हुनासाथ नयाँ सरकार गठनको गाँठो फुक्ने भएकोले एमालेलगायतका दलहरूले उम्मेदवार दिन कांग्रेसलाई निरन्तर दबाब दिइरहेका छन्। कांग्रेस भने आन्तरिक विवाद भड्केला भन्ने डरले चुपचाप बसेर 'कामचलाउ' सरकारको आयु लम्ब्याइरहेको छ। मुख्य तीन दल र मधेशी मोर्चाबीच पछिल्लो सहमतिअनुसार पनि अब सरकारको नेतृत्व कांग्रेसले गर्ने हो। कांग्रेसले अबको नेतृत्व आफूले गर्ने दावेदारी पनि प्रस्तुत गरेकै हो। संविधानसभा चुनावपछि एमाओवादी र एमालेले दुई–दुई पटक सरकारको नेतृत्व गरिसकेका छन्।
सुनिश्चितताको खोजी
खासमा कांग्रेस सभापति कोइराला, उपसभापति पौडेल र वरिष्ठ नेता देउवा आफू नै प्रधानमन्त्री हुन चाहन्छन् र पद पाइने सुनिश्चितता पर्खेर बसेका छन्। अहिले अग्रसर हुँदा निर्णय आफ्नो पक्षमा नहुने डर तीनै जनालाई छ। किनभने, प्रधानमन्त्रीको उम्मेदवार तोक्नासाथ पार्टीमा मतभेद हुने आशंका छ। यसबाहेक, कांग्रेसले कुनै नेतालाई उम्मेदवार अघि सार्दैमा उनी नै प्रधानमन्त्री हुने निश्चित नभएको विश्लेषक पुरञ्जन आचार्य बताउँछन्।
संविधानसभा विघटनपछि सभापति कोइरालाले प्रधानमन्त्री बन्ने आकांक्षा पटक–पटक सार्वजनिक गरेका छन्, तर त्यो सुनिश्चित नभएसम्म उनी आफ्नो नाम घोषणा गर्न चाहँदैनन्। आफ्ना भित्रियाहरूसँग उनले अहिल्यै प्रस्तुत भएर कुनै कारण भोलि प्रधानमन्त्री हुन नसके हालसम्म लाभको पदमा नबसेर आर्जन गरेको 'त्यागी' नेताको पहिचान गुम्ने डर प्रकट गर्ने गरेका छन्। अर्कातिर, प्रधानमन्त्री निर्वाचनमा सत्र पटकसम्म पराजित उपसभापति पौडेल आफूलाई यो 'रेस' मा कायमै रहेको ठान्छन्। संविधानसभा विघटनअघिसम्म आफूलाई समर्थन गरिरहेका कोइरालामा पलाएको प्रधानमन्त्री बन्ने आकांक्षाबाट पौडेल खुशी छैनन्।
उता देउवा अहिलेसम्म पौडेललाई समर्थन गरेकोले अब आफू उम्मेदवार हुने दाबी गर्दै अन्य दलहरूसँग भलाकुसारी गरिरहेका छन्। सभापति कोइराला केन्द्रीय समितिको बहुमतको आडमा प्रधानमन्त्रीको उम्मेदवार भए भने 'एक व्यक्ति, एक पद' को कुरा उठाएर कार्यवाहक सभापति बन्ने दाउमा पनि देखिन्छन् उनी। त्यस्तो भयो भने, उपसभापति पौडेल संस्थापनबाट बाहिरिने अवस्था आउनेछ। एमाओवादी अध्यक्ष दाहाल भने तीनै जना नेतालाई 'अबको प्रधानमन्त्री तपाईं नै हो' भनेर उचालिरहेका छन्।
आगामी सरकारबारे एमालेको बोली पनि फेरिन थालेको छ। एमाले नेताहरू कांग्रेसले प्रधानमन्त्रीको उम्मेदवार तोक्न नसके आफूहरूले सर्वसम्मत नाम दिने बताइरहेका छन्। अर्कोतिर एमालेले राष्ट्रपति र प्रधानमन्त्री दुवै कांग्रेसबाट बन्नु उपयुक्त नहुने तर्क पनि गर्न थालेको छ। एमाले नेतृत्वको सरकारमा आफ्नो सीट सुरक्षित पार्न चाहने कांग्रेसकै सुजाता कोइराला लगायत कतिपय नेताहरू यो स्वरमा स्वर मिलाइरहेका छन्।
प्रधानमन्त्रीको उम्मेदवार तोक्न लगाउनुलाई नेतृत्वबाट विमुख गराउने माओवादी चालबाजी भएको बुझ्ाइ पनि बलियो छ, कांग्रेसभित्र। प्रधानमन्त्री बन्ने सुनिश्चित भए पाँच मिनेटमा उम्मेदवार तोकिने केन्द्रीय सदस्य मिनेन्द्र रिजालको कथन छ। तर, अर्का केन्द्रीय सदस्य गगन थापा 'कामचलाउ' सरकारले राज गरिरहेको अवस्थामा भट्टराईले राजीनामा दिएपछि मात्र प्रधानमन्त्रीको नाम दिने कुरालाई युक्तिसंगत ठान्दैनन्। “सरकारको नेतृत्व गर्न तयार दलले राजनीतिक निकाससँग जोडिएको प्रधानमन्त्रीको उम्मेदवार तोक्ने कामलाई मुल्तवीमा राख्नुहुँदैन”, थापा भन्छन्, “पार्टीभित्र मतभेद हुने डरले प्रधानमन्त्रीको उम्मेदवार नतोक्ने हो भने कांग्रेसले आफ्नो मागमा अरू दललाई कसरी आश्वस्त पार्न सक्छ?”
रामजी दाहाल