१६-३२ साउन २०६९ | 31 July-16 August 2012

पुरानै घर फर्कंदै

Share:
  
- विद्रोही गिरी
माओवादी र मधेशवादी दलमा गएका नवलपरासीका राजनीतिक नेता–कार्यकर्ता नेपाली कांग्रेस र एमालेमा फर्कने लहर चलेको छ।
p28a

माओवादीबाट एमालेमा फर्किएका विश्व गिरी फोरम (गणतान्त्रिक)को जिल्ला अध्यक्ष त्यागेर २ साउनमा कांग्रेस प्रवेशको घोषणा गर्दै सञ्जय यादव। 

संविधानसभा निर्वाचनमा नवलपरासी क्षेत्र नं.४ बाट नेपाली कांग्रेसको उम्मेदवार बनेका सञ्जय यादवको राजनीतिक जीवनले चुनावमा पराजयपछिको परिस्थितिमा नसोचेको पल्टा खायो। कांग्रेसको महाधिवेशन प्रतिनिधि र तरुणदलका केन्द्रीय सदस्य समेत भइसकेका सदरमुकाम परासीका यादव आफ्नो उल्लेख्य लगानी भएको पार्टी परित्याग गरेर २०६६ वैशाखमा मधेशी जनअधिकार फोरम (गणतान्त्रिक) का जिल्ला अध्यक्ष बन्नपुगे। तीन वर्षभन्दा बढी फोरम गणतान्त्रिकमा बिताएर कांग्रेसको मधेश जागरण अभियानको बेला २ साउनमा कावासोतीमा पत्रकार सम्मेलन गरी पुरानो घर फर्केका यादव भन्छन्, “मधेशवादी दलबाट राष्ट्रिय हित र मूलधारको राजनीति दुवै नहुने देखेपछि कांग्रेसमै फर्केको हुँ।”

यसअघि २२ माघ २०६८ मा अरुणखोलामा आयोजित एक कार्यक्रममा वेणीमनीपुर–२, ४, ८ र ९ वडाका दर्जनौं माओवादी कार्यकर्ताले एमालेमा फर्केको घोषणा गरेका थिए। क्षेत्र नं.३ को परिषद् बैठक भएको उक्त कार्यक्रममा एमालेका युवानेता घनश्याम भुषालले उनीहरूलाई पार्टीमा स्वागत गरे। नजिकैको झयाल्टुङ्गडाँडा शिविरमा माओवादी कमाण्डरले लडाकूहरूको चेक खोसेको विवाद झ्डपमा परिणत भइरहँदा अरुणखोला गएर एमालेमा प्रवेश गर्नेहरूमा २०५५ सालमा एमालेको विभाजनपछि मालेमा लागेर पार्टी एकीकरण हुँदा एमालेमा नफर्की माओवादी बनेका स्थानीय नेता–कार्यकर्ता धेरै थिए। यो समूहमा २०३५ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएका सर्दीका विश्व गिरी पनि छन्, जो २०५९ मा एमाले छाडेर माओवादीमा लागेका थिए।

२०४३ सालको गाउँ पंचायत निर्वाचनमा तत्कालीन नेकपा (माले) का तर्फबाट जनपक्षीय उम्मेद्वार बनेका गिरी २०५६ मा एमाले निकट भारत प्रवास कमिटी, पञ्जावको जालन्धर जिल्ला अध्यक्ष थिए। पार्टी फुट्दाको निराशाले पलायन भएको बताउने गिरी भन्छन्, “उच्छृंखल गतिविधि, आर्थिक हिनामिना र पैस्ााको दम्भ बाहेक केही नदेखेपछि माओवादीप्रति मेरो मोहभंग भयो।”

मोहभंग हुनुका कारण
परिवर्तनको साँच्चै संवाहक ठानेर नौ वर्ष माओवादीमा बसेका गिरी नेपाली राजनीतिमा २०६३ पछि स्थापित शक्तिहरूलाई केवल भुलभुलैयाको रूपमा अर्थ्याउँछन्। शक्ति र पैसाको पछाडी हात धोएर लागेका पार्टीले कसैलाई गन्तव्यमा नपुर्‍याउने निष्कर्षमा पुगेका उनले माओवादीभित्र शक्ति र पैसाका लागि छुट्टाछुट्टै स्वार्थ समूहको संघर्ष बढेपछि त्यहाँ बसिनसक्नु भएको बताए। उनी भन्छन्, “षड्यन्त्र र हिंसाको जगमा उभिएको दलको आफ्नै त भविष्य हुँदैन भने त्यसले कार्यकर्ता र जनताको भविष्य कसरी बनाउँछ?”

p28
२३ वैशाखमा कावासोतीमा एमाले प्रवेश गर्नेलाई स्वागत गर्दै नेता केपी ओली। तस्बिरहरूः विद्रोही गिरी

फोरम गणतान्त्रिकबाट कांग्रेस फर्केका यादव विचार र सिद्धान्तहीनताकै कारण मधेशवादी दलहरू धमाधम फुट्न थालेको बताउँछन्। उनका अनुसार, अन्य पार्टीबाट ती दलमा गएका नेता–कार्यकर्ताहरू अहिले रनभुल्लमा परेका छन् र कांग्रेस, एमाले जस्ता राष्ट्रिय दलहरूले वातावरण बनाए मूल घरमा फर्कन्छन्। यसका लागि दलहरूले अभियान चलाउनुपर्ने एमालेका नवलपरासी अध्यक्ष तिलक महतको कथन छ। उनी भन्छन्, “संसारमा कहीं नभएको रातारात परिवर्तनका निम्ति हतारिएर नयाँ पार्टीमा गए पनि तिनको तमासा देखेर पछुताइरहेका राजनीतिकर्मीहरूलाई फर्कन सहज वातावरण बनाउनुपर्छ।” नेपाली कांग्रेसका जिल्ला सचिव विष्णु लामिछानेले राजनीतिक उथलपुथलमा असम्भव कुरा गरेर संगठित भएका समूहहरूप्रति कार्यकर्ता र जनतामा अहिले चरम निराशा छाएको पाएका छन्। “उनीहरूको निराशालाई सम्बोधन गर्ने जिम्मेवारी पुराना दलहरूकै हो”, लामिछाने भन्छन्।

एमालेको पर्वत जिल्ला कमिटीमा काम गर्दागर्दै २०५८ मा माओवादी बनेर गत वैशाखमा पुनः एमालेमै फर्किएकी सुनवलकी धनमाया थापाले एमाओवादीको राजनीति र गतिविधि नेपाली समाज सुहाउँदो नभएको बुझेपछि मोहभंग भएको बताइन्। पुनका अनुसार, एमालेबाट माओवादीमा जानेहरू धेरै भएकाले अहिले फर्किने पनि एमालेमै धेरै छन्। मधेशवादी दलहरूमा कांग्रेसबाट धेरै गएका थिए, जो क्रमशः फर्किरहेका वा फर्कने वातावरण खोजिरहेको जिल्ला सचिव लामिछाने बताउँछन्।


षड्यन्त्र र हिंसाको जगमा उभिएको दलको आफ्नै त भविष्य हुँदैन भने त्यसले कार्यकर्ता र जनताको भविष्य कसरी बनाउँछ?



 

दुई दशकपछि फेरि एमाले

p29
 

नवलपरासीका पुराना कम्युनिष्ट नेता केशरमणि पोखरेलले एमालेमा फर्कने मौका कुर्दाकुर्दै नेपाली कांग्रेसमा १९ वर्ष बिताए। २०४६ मा नेकपा (मार्क्सवादी) का पोलिटब्युरो सदस्य रहेका ७२ वर्षीय पोखरेल मार्क्सवादी र नेकपा (माले) मिलेर एमाले बनेपछि केन्द्रीय कार्यालय सचिव थिए। तर, पार्टीमा मतान्तरपछि उनलाई धौलागिरी अञ्चलको जिम्मेवारी दिइयो। त्यसपछि पनि किनारा लगाउन खोजिएको अनुभव गरेका उनी चित्त दुखाउँदै कांग्रेसमा गए। “कांग्रेसमा महासमिति सदस्यसम्म भएर बस्दा पनि पश्चात्ताप भइरह्यो, तर एमालेमा फर्किने वातावरण बनेन”, पोखरेल भन्छन्, “यही असारदेखि केन्द्रीय सल्लाहकार समिति सदस्य बनाएर पार्टीले पुरानो घरमा फर्कायो। लोकतन्त्रको लागि लडेको र समाजवादी चिन्तन बोकेकोले म एमालेमा फर्केको हुँ।”

४–५ असारमा भएको एमाले राष्ट्रिय कार्यकर्ता भेलामा सहभागी भएका पोखरेललाई पार्टीमा फर्काउने लामो प्रयत्न २०२५ सालमा उनैले कम्युनिष्ट पार्टीको सदस्यता दिएका रामनरेश केवटले गरेका हुन्। नवलपरासी जिल्ला नेतृत्वसँग बारम्बार कुरा अगाडि बढाउँदै जाँदा तिलक महत अध्यक्ष भएपछि बल्ल वातावरण बनेको केवट बताउँछन्।

comments powered by Disqus

रमझम