१६-३२ साउन २०६९ | 31 July-16 August 2012

भेनिसमा “बाँसुली”

Share:
  
r4

जुम्लाकी एक १२ वर्षीया बालिकाको कथामा बनेको 'बाँसुली' नामक १५ मिनेटको छोटो फिल्म विश्वको प्रतिष्ठित भेनिस फिल्म फेस्टिभलमा छनोट भएको छ। पछिल्लो समयमा अन्तर्राष्ट्रिय फिल्म महोत्सवका मञ्चहरूमा एकपछि अर्को नेपाली फिल्म छनोट हुने क्रममा भेनिसमा छानिएको यो पहिलो नेपाली फिल्म हो। 

मीनबहादुर भामद्वारा निर्देशित 'बाँसुली' १३–२३ भदौमा इटालीमा सम्पन्न हुने ६९ औं भेनिस फिल्म फेस्टिभलको ओरिजिण्टी सेक्सनमा प्रदर्शन हुनेछ। संविधानसभा चुनाव हुँदा जुम्लाकी १२ वर्षीया बिजुली नामक बालिकाको जीवनमा आएको परिवर्तन यसमा देखाइएको छ। विश्वभरका फिल्ममा देखिदै आएको नयाँ प्रवृत्ति समेटिने यो सेक्सनमा १८ लामा र १५ छोटा फिल्म छानिएका छन्। संसारभरका १७५२ छोटा फिल्ममध्येबाट छानिएका १८ वटामा 'बाँसुली' परेको हो। 

निश्चल बस्नेत र देवकी राईले निर्माण गरेको यो फिल्मको लेखक समेत रहेका निर्देशक भाम आफ्नो पहिलो फिल्म नै भेनिस पुगेकोमा दङ्ग छन्। नरेन्द्र मैनालीको छायाङ्कन र निमेष श्रेष्ठको सम्पादन रहेको फिल्ममा निकिता बुढा थापा, घनश्याम गिरी, नरेश भण्डारी, हीरा बिजुली नेपाली लगायत रहेका छन्। 

comments powered by Disqus

रमझम