१०-१६ पुस २०७३ | 25-31 December 2016

रंग विद्रोह

Share:
  

निधारमा कहिले त्रिशूल त कहिले नागको आकृति कोर्ने रागिनी उपाध्याय चर्चित चित्रकार हुन्। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी कुलपति समेत रहेकी रागिनी सरकारी संस्थानहरुकी पहिलो महिला कुलपति पनि हुन्। उनै रागिनीको चित्रकर्मको सँगालो 'रागिनी उपाध्याय : अ लिडिङ मोर्डन नेपाली आर्टिस्ट' प्रकाशित भएको छ।

राष्ट्रिय जीवनमा भुईंचालो ल्याएको प्रभाव र रागिनीको निजी जीवनमा आइपरेको शोकका कारण पुस्तक प्रकाशनमा ढिलाइ भए तापनि कलाका पारखीहरुले यो पुस्तकलाई सहजताका साथ स्वीकार्ने छन्। मूलतः मुलुकको समसामयिक घटनाक्रमलाई चित्रकलाका माध्यमबाट तत्काल अभिव्यक्त गर्न सक्नु रागिनीको खूबी हो। उनको यो प्रस्तुति पितृसत्ताको थिचोमिचोको मारमा परेको नारी संवेदनाको प्रस्फुटन पनि हो। तराईमा जन्मेर लखनऊदेखि पश्चिमा कलाका केन्द्रसम्म पुगेर चित्रकारिताका बारेमा अध्ययन गर्ने अवसर पाएकी रागिनीका सिर्जनामा उनले बाँचेका समयको स्पष्ट प्रभाव देख्न सकिन्छ।

पुस्तक रागिनी उपाध्याय : अ लिडिङ मोर्डन नेपाली आर्टिस्ट

लेखक मदन चित्रकार, वीणा सरकार एलियस

प्रकाशक तेबाची स्टडिज सेन्टर, बीपी कोइराला नेपाल भारत फाउण्डेशन

पृष्ठ १५७+७

रागिनीको चित्रकलामा परम्परा र आधुनिकता बीचको 'फ्यूजन' महसूस गर्न सकिन्छ। धर्मग्रन्थलाई आप्त वचन मान्ने परम्परागत समाजमा हुर्केकी रागिनीले आफ्नै पिताजीबाट पाएको प्रेरणाका कारण यहाँसम्मको यात्रा छिचोल्न सकेको कुरा उनकै कलाकृति 'लेट देम बार्क, आई गो माई वे' मा प्रष्टसँग झल्किएको पाइन्छ। दरबार हत्याकाण्ड, दोस्रो जनआन्दोलन, संविधान निर्माणका सकसका क्रममा उनले सिर्जेका चित्राकृति प्रभावलाई अहिलेसम्म अनुभूत गर्न सकिन्छ।

मदन चित्रकार र विणा सरकार एलियसले रागिनीका बारेमा लेखेका दुई लामा आलेख नै पुस्तकको आधार हो। पुस्तकमा सन् १९७९ मा पहिलोपटक एकल चित्रकलामार्फत नेपाली कला आकाशमा हस्तक्षेप गर्न थालेकी रागिनीको प्रारम्भिक चित्रदेखि २०११ सम्मका ३७९ कलाकृति समेटिएका छन्। एउटै पुस्तकमा विभिन्न समयमा सिर्जिएका कलाकृति र ती कृति प्रदर्शनी गर्दा राष्ट्रिय/अन्तर्राष्ट्रिय पत्रिकामा गरिएका समीक्षा र टिप्पणीलाई स्थान दिएकाले कलाप्रेमी पाठकलाई चित्रकार रागिनीको सामर्थ्य र कमजोरी बुझ्ने मौका मिल्छ। हुन त यस्ता टिप्पणी, समीक्षा, समाचारका अंश चयन गर्दा सम्पादक/लेखकको पक्षपातको अनुमान पाठकले सहजै अन्दाज गर्न सक्छन्। तर पनि दुई दर्जन बढी देशमा एकल/संयुक्त कला प्रदर्शनी गरिसकेकी रागिनीको कलाकर्मको परख बालकृष्ण समदेखि अभि सुवेदीहुँदै विदेशी समीक्षकले गर्न भ्याउनु सामान्य कुरा पक्कै होइन। मदन चित्रकारका अनुसार कुनै एकै विषयलाई आधार मानेर चित्र कोर्ने प्रयोगलाई स्थापित गरेकी रागिनीले सशक्त चित्रकारका रुपमा आफूलाई उभ्याएर नेपाली ललितकलालाई समृद्ध बनाएको बताएका छन्।
आधुनिक समयका कलाकर्मबारे सारै कम पुस्तक प्रकाशित छन्। रागिनीबारेको यो कृतिले अभाव पूर्ति गर्ने मात्र नभई कला दस्तावेजीकरणमा पनि महत्वपूर्ण भूमिका खेल्ने ढुक्कले भन्न सकिन्छ।

शंकर तिवारी


पत्रकारिताका दुःखसुख

२०४६ सालको प्रजातन्त्र पुनःस्थापनाले नेपालीका सबैखाले आकांक्षाको ढोका एकैपटक खोलिदिएको थियो। र, तिनलाई मुखरित गर्ने प्रमुख साधन बनेका थिए– सञ्चारमाध्यम। थोरैसँग मात्र टेलिभिजन भएको उबेला रेडियो नेपालले घर गरेको थियो। र, त्यही रेडियोमा १४ भदौ २०४७ देखि अलग ढर्राको एउटा कार्यक्रम बज्न थालेको थियो, घटना र विचार। पञ्चायती गुणगानमा अभ्यस्त रेडियो नेपालबाट समसामयिक घटनाक्रम र राजनीतिबारे विश्लेषणसहितको खबर सुन्न सत्तापक्ष मात्र होइन, विपक्षीका पनि कान ठाडा हुन्थे। कार्यक्रमको लोकप्रियतासँगै प्रमुख प्रस्तोता पुरुषोत्तम दाहालको चर्चा नहुने कुरै थिएन। मेरो पत्रकारिता उनै पत्रकार तथा राजनीतिक विश्लेषक दाहालको यात्राका आरोह, अवरोहको लेखनी हो।

पुस्तक मेरो पत्रकारिता लेखक पुरुषोत्तम दाहाल

प्रकाशक सूचना चौतारी सञ्चार

सहकारी संस्था लि.

पृष्ठ ४८२+४२

मूल्य साधारण कभर रु.७२५

हार्ड कभर रु.१२२५

ओखलढुगाबाट अध्ययनका लागि २०२७ सालमा काठमाडौं छिरेका दाहालको पत्रकारिता २०३५ सालदेखि शुरु भएको हो। चन्द्रलाल झा सम्पादक रहेको नेपाल टाइम्स दैनिकमार्फत पत्रकारिता शुरु गरेका दाहालले राष्ट्रपुकार, देशान्तर र नेपालवाणी मा पनि काम गरे। तर, पत्रकारितामा केही नयाँ गर्ने उनको भोक मेटिएकै थिएन।

जनआन्दोलनको सफलतासँगै नेपाली कांग्रेसका कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराई नेतृत्वको संयुक्त सरकार बन्यो। कांग्रेस निकट दाहालले यो अवसरलाई उपयोग गर्ने सोच बनाए। र, आफ्नै परिकल्पना र संयोजनमा घटना र विचार कार्यक्रमको प्रसारण प्रारम्भ गरे। असार, २०५१ सम्म घटना र विचार कार्यक्रम संयोजक उनी दोस्रो पटक असोज, २०५२ देखि चैत, २०५३ सम्म पुनः कार्यक्रम संयोजककै हैसियतमा रेडियोमा रमाए। पत्रकारका रुपमा दाहाललाई आममानसमा परिचित गराउने काम पनि घटना र विचार ले नै गर्‍यो।

घटना र विचार ले सरकारी सञ्चारमाध्यम प्रतिको बुझाइमा नै फरकपना ल्याएको दाबी गर्ने दाहालले पुस्तकमा कार्यक्रमसम्बद्ध थुप्रै रोचक घटनाको साक्षात्कार पनि प्रस्तुत गरेका छन्। २०४८ सालको स्थानीय निकायको निर्वाचनको परिणाम सार्वजनिक भइसकेपछि नेकपा (एमाले) का महासचिव मदन भण्डारीले दाहाललाई फोन गरेर घटना र विचार कार्यक्रमकै कारण आफूहरूले हार बेहोर्नुपरेको भनी टिप्पणी गरेको उनको सम्झना छ। तत्कालीन राजा ज्ञानेन्द्र शाहले समेत लेखकसँगको भेटमा घटना र विचार सुन्ने गरेको बताएको दाहालको भनाइ छ। रेडियोको प्रभावकारिता कति धेरै हुँदोरहेछ भन्ने विषयको चर्चा पुस्तकमा विस्तृत रुपमा गरिएको छ।

आफ्नो चार दशकको पत्रकारिता जीवनलाई पुस्तकाकारको रुप दिएका दाहालले पत्रकारिता शुरु गर्दाको पञ्चायती शासनकालबारे खास चर्चा गरेका छन्। समाचार लेख्दा पाइने दण्ड, धम्की, सेल्फसेन्सरसिपका प्रसंग पनि समेटिएका छन्। लेखक ती दिनलाई आजको फरक समयसँग तुलना गर्छन्। समय अनुसार पात्र फेरिएको र प्रवृत्ति उही रहेको लेखकको निष्कर्ष छ।

प्रजातन्त्र प्राप्तिको 'मिसन' पत्रकारिताबाट दीक्षित दाहाल अहिलेका नेताहरू नै प्रेस स्वतन्त्रता कुण्ठित बनाउनेतर्फ लाग्नुमा विडम्बना देख्छन्। राष्ट्रपुकार साप्ताहिक बन्द हुनुमा यही स्वार्थले काम गरेको उनको ठम्याइ छ। सञ्चारकर्मीले सधैं नै लोकतन्त्र र मानवअधिकारका पक्षमा संघर्ष गरेको तर शासनसत्ताले उनीहरूप्रति नै दुर्व्यवहार गरिरहेको वर्तमानसँग उनको गुनासो छ।

पुस्तकमा दाहाल समयक्रममा आफूसँग जोडिन आइपुगेका नेता, कार्यकर्ता र सर्वसाधारणका रोचकघोचक प्रसंग नामै किटेर व्याख्या गर्छन्। घटनाक्रम वर्णनमा जोडिएका व्यक्तिहरूको नाम नै उल्लेख गरिनुले लेखकको स्पष्टता झल्काउँछ। यसले ती व्यक्तिहरूको समय र भूमिकाबारे जान्न पनि मद्दत गर्छ। तर, केही व्यक्तिबारे लेखकको टिप्पणी पूर्वाग्रहले भरिएको सहजै बुझिन्छ। ठाउँ ठाउँमा 'थप पछि लेख्छु' भन्नुले पाठकप्रति अन्याय गरेको भान हुन्छ। तर, यसले अर्को कृतिको आश पनि जाग्छ।

लेखक पत्रकारिताको आदर्शबारे बरोबर चर्चा गर्छन्। तर, 'कांग्रेस पत्रकारिता' को मोहबाट न उनी मुक्त हुनसकेका छन् न उनको पुस्तक। पन्ध्र खण्डमा बाँडिएको पुस्तकमा फरक फरक विषयको उपशीर्षकले पढ्न सजिलो बनाएको छ। व्यक्तिगत अनुभूतिका कतिपय प्रसंगले पुस्तकलाई खँदिलो र रसिलो बनाएको छ।

सलोजा दाहाल

comments powered by Disqus

रमझम