१–१५ वैशाख २०६९ | 13-27 April 2012

आगलागी हुँदा न पानी न दमकल !

Share:
  

पाँचथर, ताप्लेजुङ र तेह्रथुम जिल्लामा दैनिकजसो आगलागीका घटना हुँदै आएका छन् । पछिल्लो पटक ७ चैतमा ताप्लेजुङको धुसेनी जङ्गलमा लागेको डढेलो वस्तीमा आइपुग्दा दोखु–२ का धनभक्त मगर र उनकी पत्नी बुद्धिमाया मगरको मृत्यु भयो, चार वटा घर नष्ट भए । पाँचथरको रानीगाउँ–१ को सामुदायिक वनको डढेलोले देवीप्रसाद सम्बाहाम्फेको घर र ग्वाली खरानी बनायो । गएको फागुनमा तेह्रथुममा २० सामुदायिक वन र १२ वटा घरगोठ आगलागीको चपेटामा परे ।

प्रायः माघदेखि जेठसम्म चल्ने हुरीबताससँगै पूर्वी पहाडी जिल्लाहरूमा आगलागीका घटना दोहोरिरहन्छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरको तथ्याङ्क अनुसार, १ वैशाख २०६८ देखि ११ चैतसम्म पाँचथरमा मात्र आगलागीका १०२ घटना भएका छन् । उता ताप्लेजुङमा यो अवधिमा आगलागीका ७८ घटना भइसकेका छन् । पाँचथरको थर्पुमा १ कात्तिक र पात्ले भञ्ज्याङमा १४ फागुनमा भएको आगलागीमा २५ घर नष्ट भएका थिए । फिदिम बजार क्षेत्रमा पनि पटक पटक आगलागी भएको छ । पीडितहरूलाई रेडक्रस र जिल्लाका प्रकोप व्यवस्थापन समितिले राहत सामग्रीसँगै प्रतिपरिवार रु.५ हजार दिने गरेको छ, तर आगलागी नियन्त्रणबारे कुनै कदम चालेको छैन । उल्लिखित जिल्लाहरूमा न एउटा दमकल छ न त पानीको व्यवस्था नै । आगलागी हुँदा स्याउला र ढुङ्गामाटोको भरमा निभाउन लाग्दा धेरै जना घाइते भएका छन् ।

लक्ष्मी गौतम, फिदिम

comments powered by Disqus

रमझम