१–१५ वैशाख २०६९ | 13-27 April 2012

नेपाली चाउचाउ र जूस विदेशिदै

Share:
  

चाउचाउ उद्योगमा नेपाल दक्षिण एशियामै अग्रणी छ । बजारमा सूप स्प्रे नगरिएको सेतो चाउचाउमा रारा र गरिएको खैरोमा वाइवाइ को राज छ । गण्डकी नुडल्सले ३० वर्षअघि र चौधरी ग्रुपले २८ वर्षअघि उत्पादन गर्न थालेका रारा र वाइवाइ आज अन्तर्राष्ट्रिय ब्राण्ड बनेका छन् । नेपाली बजारको झ्ण्डै आधा हिस्सा ओगटेको वाइवाइ २२ वर्षअघि भारत निर्यात हुन थालेको थियो । अहिले सिक्किम, गुवाहाटी र रुद्रपुरमा वाइवाइको आफ्नै उद्योग छ । यसको बजार भुटान, खाडी मुलुक, यूरोप र अष्टे«लियासम्म विस्तार भएको चौधरी ग्रुप (सीजी)का उपाध्यक्ष जीपी शाह बताउँछन् ।

नेपालमा थाई प्रविधिबाट बन्ने चाउचाउका सात वटा उद्योग छन् । रु.५ अर्ब लगानी भएको यो उद्योगले ४००० भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको छ । मासिक साढे पाँच करोड प्याकेट चाउचाउ नेपालमै खपत हुन्छ, जसमा खैरो चाउचाउको खपत कुल बिक्रीको ९० प्रतिशत छ । साढे ३ अर्ब रुपैयाँको नेपाली चाउचाउको बजार वर्षेनि २० प्रतिशतले बढिरहेको छ ।

चौधरी ग्रुपको सीजी फूडले चिकन सेजवान र शाकाहारी मञ्चुरियम स्वादका वाइवाइ मा करी, पिज्जा आदिको फ्लेवरसँगै मामा, गोलमोल, मिमी, सोल्टी लगायतका चाउचाउ उत्पादन गरिरहेको छ । हिमचुली फुड्सको स्वामित्वमा आएको रारा अहिले आहा–५०, फेवा, ए–वान आदि ब्राण्डका चाउचाउसँगै उत्पादन भइरहेको छ । त्यस्तै हिमालयन स्न्याक्सका मायोज लगायत एक दर्जन ब्राण्डका चाउचाउ चल्तीमा छन् । मायोज चाउचाउ भूटान, कतार, भारत समेत निर्यात हुँदै आएको कम्पनीले जनाएको छ । एशियन थाई फुड्सका रमपम, प्रीति, टुपीएम, कोशेली आदि चाउचाउ प्रतिस्पर्धामा छन् । यसका रु.५ मै पाइने फुच्चे, जोकर, फटाफट लगायतका चाउचाउ गाउँघरमा लोकप्रिय छन् । एशियन थाई फुड्सले नै पहिलो पटक तातोपानी हालेर खान मिल्ने कप चाउचाउ बजारमा ल्याएको थियो । अहिले सीजी र हिमालयन स्न्याक्स एण्ड नुडल्सले पनि कप चाउचाउ ल्याएका छन् । यमयम चाउचाउको उत्पादक स्मार्ट फूडका पनि हिट्स, एबीसी लगायतका चाउचाउ प्रतिस्पर्धामा छन् ।

रु.५ देखि रु.१५ मा स्थानीय बजारमा पाइने चाउचाउ नेपालीहरूको छिटो–मीठो खाजाका रूपमा लोकप्रिय छ । रु.२२ देखि रु.२८ सम्म पर्ने कप नुडल्सको व्यापार ठूला मल र डिपार्टमेण्टल स्टोरमा बढी छ । वाइवाइ, रारा, रमपम, मायोज, यमयम, मिहो लगायतका चाउचाउ शहरी क्षेत्रमा धेरै बिक्छन् भने गाउँघरमा दुइटा किन्दा एउटा सित्तैंमा र रु.५ मै पाइने चाउचाउहरूको बोलवाला छ ।

जूस उत्पादनमा पनि नेपालले ठूलै फड्को मारेको छ । विभिन्न कम्पनीले बाह्रै महिना आ–आफ्ना ब्राण्डमा फलफूलको स्वादमा भिटामिन, कार्बोहाइड्रेट, खनिज लगायतका पोषकतत्व पाइने जूस उत्पादन गरिरहेका छन् । नेपालमा जूसको बजार वर्षेनि २० प्रतिशतले बढिरहेको छ । ब्राण्डेड जूस उत्पादनमा डाबर नेपाल, चौधरी ग्रुप र दुगड फुड्स एण्ड वेभरेज अगाडि छन् । चौधरी ग्रुपले रियो ब्राण्डमा आँप, स्याउ, लिची, भुईंकटहर र मिक्स फ्रूट गरी पाँच प्रकारका जूस उत्पादन गरिरहेको छ भने दुगड फुड्सले आँपको फ्रूटी र स्याउको एप्पी । यसैगरी, डाबरका विभिन्न स्वादका रियल जूस बजारमा छन् ।

साना शहर, गाउँघर र सिजनमा उत्पादन हुने बेल, जुनार र सुन्तलाको जूसको परिमाण पनि बढेको छ । तीमध्ये अल्टरनेटिभ हर्बल प्रोडक्ट्सको बेल शर्बत मार्मेलस्, अरेञ्ज जूस लगायत कति त राजधानीका नामी डिपार्टमेन्टल स्टोरका तख्ता र रेष्टुरेण्टका मेनुमा समेत चढिसकेका छन् ।

आन्तरिक बजारमा रु.६ अर्बको कारोबार गरिरहेका नेपाली जूसहरूले चिनियाँ बजार पनि लिएका छन् । डाबर का ८० प्रतिशत जूसको बजार भारत हो । आर्थिक वर्ष २०६७/६८ मा नेपालबाट रु.१ अर्ब ७ करोडको जूस निर्यात भएको थियो ।

डम्बरकृष्ण श्रेष्ठ

comments powered by Disqus

रमझम