१६–३१ वैशाख २०६९ | 28-April - 13 May 2012

मिशन मिस नेपाल

Share:
  
- अनुशील श्रेष्ठ
मिस नेपालको प्रतिस्पर्धामा उत्रेका १७ सुन्दरीको ढुकढुकी बढ्न थालेको छ ।

पछिल्ला वर्षमा युवा पुस्ताबीच मिस नेपालको उपाधि राम्रै आकर्षणको विषय बनेको छ । मिस नेपालको उपाधिले नाम, दाम र अवसरसँगै ‘प्रिभिलेज्ड’ पाउने गरेकाले पनि यसप्रति नयाँ पुस्ताको आकर्षण बढेको हो ।

सन् १९९४ मा भएको पहिलो मिस नेपाल प्रतियोगिताको उपाधि जितेपछि १७ वर्षअघि वीरगञ्ज, छपकैयाकी सामान्य शिक्षिका रुवी राणा एकाएक ‘सेलिब्रिटी’ बन्न पुगिन् । उनीपछि यही ‘प्लेट फर्म’बाटै १६ जना सुन्दरीले नयाँ पहिचानसँगै अन्तर्राष्ट्रिय ‘एक्सपोजर’ पाए । रातारात मिडियामा छाउने र व्यक्तित्व विकासका लागि समेत महत्वपूर्ण खुड्किलो मानिएको मिस नेपालप्रतिको आकर्षण नयाँ पुस्तामा बढ्दो छ ।

मिस नेपालको दौड

२४ वैशाखमा राजधानीमा हुने १७औं मिस नेपाल प्रतियोगिता २०१२ मा पोखरामा डाक्टरी पढ्ने सर्लाहीकी सोनम सिंह र लण्डनका ¥याम्पहरूमा क्याटवाक गरिसकेकी चितवनकी सृष्टि श्रेष्ठदेखि झपाकी हिना श्रेष्ठ र कञ्चनपुरकी निलम चन्दसम्म छन् । अन्य प्रतिस्पर्धी सुन्दरीमा काठमाडौंकी निर्मिता सुवेदी, नग्मा श्रेष्ठ, प्रशंसा राणा, आकेशा विष्ट, सविता मानन्धर र अलिशा कुँवर, ललितपुरकी शुभेच्छा खड्का, वन्दना तण्डुकार र रस्मिता महर्जन, पोखराकी दिलाशा जिसी, बुटवलकी अञ्जली प्रधान, वीरगन्जकी प्रोनिका शर्मा र धरानकी इन्दिरा राई छन् । देशभरका सयभन्दा बढी आवेदकबाट छानिएका २० मध्ये ३ जना व्यक्तिगत कारणबाट सहभागिता नजनाउने भएपछि १७ सुन्दरी उपाधिको दौडमा छन् ।

यस पटकको प्रतियोगितामा क्षेत्रीय र अन्य सौन्दर्य प्रतियोगिताको अनुभव संगालसिकेका सुन्दरीहरू छन् । जस्तो, हिना श्रेष्ठ मिस पूर्वाञ्चल २०११ कि सेकेण्ड रनरअप हुन् भने रस्मिता महर्जन मेघा मोडल २०१० । त्यस्तै, अञ्जली प्रधान मिस टीन नेपाल २०१० की फष्ट रनरअप हुन् भने प्रशंसा राणा २०११ को मिस नेपालमा सहभागी । यसैगरी, अलिशा कुवँर मिस टीन नेपाल २०१० की सहभागी हुन् भने इन्दिरा राई मिस पूर्वाञ्चलकी सहभागी । मिस नेपाल प्रतिस्पर्धामा उत्रनुको पछाडि यी युवतीहरूको आ–आफ्नै कारण र सोचहरू छन् । इन्जिनियर बाबुकी छोरी सोनम भन्छिन्, “डक्टरी पढे पनि उपाधिले अन्य धेरै अवसरहरू दिने भएकोले सहभागी भएकी हुँ ।”


१८ वर्षमा १६ मिस नेपाल


- रुवी राणा (१९९४) - सुमी खड्का (१९९५) - पुनम घिमिरे (१९९६) - नीलिमा गुरुङ (१९९७) - झरना बज्राचार्य (१९९७) - नीरु श्रेष्ठ (१९९८) - श्वेता सिंह (१९९९) - उषा खड्गी (२०००) - माल्भिका सुब्बा (२००२) - प्रीति सिटौला (२००३) - पायल शाक्य (२००४) - सुगरिका केसी (२००५) - सिताश्मा चन्द (२००७) - जेनिशा मोक्तान (२००८) - सदिक्षा श्रेष्ठ (२०१०) - मलिना जोशी (२०११)


किसान परिवारमा हुर्केर मेडिकल क्षेत्रको ल्याब टेक्नोलोजी पढिरहेकी हिना ताज नै जित्न नसके पनि यो सहभागिताले धेरै अनुभव र आत्माविश्वास दिने बताउँछिन् । यसको अर्थ, यी सुन्दरीहरू आ–आफ्नो पढाइको क्षेत्रमा नै ‘करिअर’ विकास गर्न चाहन्छन्, जसमा मिस नेपाल प्रतियोगिताको अनुभवले आत्माविश्वास बढाओस् । अवकासप्राप्त सरकारी अधिकारीकी छोरी रस्मिताको क्षेत्र कम्प्युटर इन्जिनियरिङ हो भने सरकारी अधिकारीकै छोरी दिलाशाको वाणिज्य । व्यापारिक परिवारमा हुर्किएका अकेशा विष्ट, अञ्जली प्रधान, निर्मिता सुवेदी, सविता मानन्धर, वन्दना तण्डुकार र निलम चन्दमध्ये निर्मिता वकिल र सविता नर्स बन्न चाहन्छन् ।

वन्दनालाई आर्किटेक्ट, निलमलाई पर्यावरण वैज्ञानिक बन्नुछ भने अकेशा र अञ्जलीलाई उद्योगी–व्यवसायी । परिवार फिल्म निर्माणमा भएकाले प्रशंसा राणाको रोजाई भने फिल्म क्षेत्र छ । सैनिक अफिसरकी छोरी शुभेच्छा खड्का चाहिं ब्याङ्किङ क्षेत्रमा जान चाहन्छिन् । अलिशा कुवँरलाई बुबाजस्तै मनोवैज्ञानिक बन्ने मन छ । एमबीएसकी विद्यार्थी इन्दिरा भने भविष्यमा कुनै कम्पनीको नेतृत्व सम्हाल्न चाहन्छिन् । नगमा श्रेष्ठ र प्रोनिका शर्माको लगाव पनि व्यवस्थापन र मार्केटिङतिर छ । भविष्यमा आ–आफ्नै रोजाइका क्षेत्र भए पनि २४ वैशाखमा भने यी सबै सुन्दरीलाई नेपालको ‘म्याजिकल वुमन’ अर्थात् मिस नेपाल २०१२ बन्नुछ । तर जम्मा एक जनाको शीरमा मात्र यो ताज पर्ने भएकाले आत्मविश्वासका साथ कडा प्रतिस्पर्धामा लागेका छन्, उनीहरू ।

द हिडन ट्रेजर आयोजक रहेको यो प्रतियोगिता विजेता सुन्दरीले रु.५० हजार नगद, हिरो होन्डा प्लेजर स्कुटर र चीनमा हुने मिस वल्र्ड प्रतियोगितामा नेपालको तर्फबाट सहभागी हुन पाउनेछिन् । यसैगरी, फस्ट रनरअपले रु.३५ हजार र फिलिपिन्समा हुने मिस अर्थमा सहभागी हुन पाउनेछिन् । र, सेकेन्ड रनरअपले रु.२५ हजार नगदसँगै चीनमा हुने मिस इन्टरनेशनलमा सहभागिता हुन पाउनेछिन् ।

comments powered by Disqus

रमझम