त्यसरी एक महिनामा रिसर्च सकेर अर्को वर्ष एचडी क्यामराले फिल्म खिच्ने योजना बुन्दै काठमाडौं फर्केका उनलाई मैकोटबाट गाउँलेहरू जेठ १०÷१२ मा ‘बुकी’ जाँदै छन् भन्ने खबर आयो । डेढ महिनाका लागि टीम लिएर जाँदा करीब रु.७ लाख चाहिन्थ्यो, तर चारतिर कुरा राख्दा पनि डकुमेन्ट्रीका लागि पैसा हाल्ने कोही फेला परेको थिएन । अन्ततः श्रीमतीको गहनाबाट जुटेको रकम, क्याननको एक्सएल १ क्यामरा, ब्याट्री र सोलार प्यानल बोकेर दिपेन्द्र एक्लै रुकुम हान्निए । उनी भन्छन्, “पाँचौं दिनमा मैकोट पुग्दा धेरैजसो गाउँले बुकी हिडीसकेका थिए ।”
त्यसको दुई दिनमा स्याखोला पुग्दा पुनिमाया बिकको परिवार भेटियो, जो जर्नी टु यार्सा का प्रमुख पात्रमध्येको थियो । त्यहाँबाट जति माथि गयो उति समस्या बढ्न थाल्यो । तापक्रम माइनस १५ डिग्री सेल्सियससम्म झ्र्ने उचाइमा बल्लबल्ल घाम लाग्दा सोलारमा चार्ज गरेको ब्याट्रीले १५÷२० मिनेट पनि नथेग्ने । यसरी करीब एक महिना दुःख गर्दा सोचेजस्तो छायाङ्कन भएन, २० घण्टा जतिको फुटेज बोकेर फर्किए, दीपेन्द्र ।
त्यसपछिको किम्फमा पनि फिल्मले अडियन्स अवार्ड पायो । यसरी उकालो लागेको जर्नी टु यार्सा का निर्देशक दीपेन्द्रको यात्रा २४–२८ फागुनमा फिनल्याण्डको ताम्पेरे महोत्सवमा पनि चर्चित भयो । ताम्पेरे विश्वविद्यालयको फिल्म र टेलिभिजन विभागका विद्यार्थीका लागि छुट्टै प्रदर्शनी भयो, उनको डकुमेन्ट्रि । त्यस लगत्तै ४ चैतमा क्यानडाको टोरन्टोमा भएको महोत्सवमा अडियन्स अवार्डसंगै ६५० अमेरिकी डलर पायो । ७–१० वैशाखको आठौं अल जजिरा फिल्म महोत्सवमा सहभागी एक मात्र नेपाली डकुमेन्ट्रिमेकर दिपेन्द्रले पुरस्कृत नभए पनि विद्यागत विमर्शको फराकिलो ठाउँ पाए । “डकुमेन्ट्री फिल्मको विषय नेपालमा जति अरू ठाउँमा नपाइएला !” दीपेन्द्र भन्छन्, “हाम्रो सिर्जनामा अन्तर्राष्ट्रिय नजर पनि परिसक्यो, तर, पैसा र प्रविधिको कमीले हाम्रो काम सशक्त हुनसकेको छैन ।”