१६–३० भदाै २०५६ | 1-15 Sep 1999

धनी गोर्खाली

Share:
  
फौजी लाहुरेको रेमिटेन्स्को आडमा देशको अर्थतन्त्रले फड्को मार्न सक्ने थियो, तर...

बेलायतमा रहेको गुर्खा ट्रेनिङ विङको ‘यरबुक’ मा छापिएको यो तस्बिरमा गुर्खा सैनिकमा भर्ती हुने समुदायहरूको राम्ररी प्रतिनिधित्व भएको देखिन्छ । बायाँदेखि दायाँ राई, तामाङ, गुरुङ, राई, गुरुङ, लिम्बू, चन्द, पुन, गौचन, ओ‘लेरी, हिल, गुरुङ, राई, थापा, मरिशन, गुरुङ, लिम्बू, लुइँटेल, गौचन ।
धेरै आम्दानी भए पनि कतिपय कारणले भू.पू. लाहुरेहरूले नेपालमा खासै सफल लगानी गर्न सकेका छैनन् । आम्दानी भएको तथ्य पोखरा, धरान, भैरहवा आदि ठाउँमा खुलेका ब्याङ्कहरूको टन्न ढुकुटीले दर्साउँछ । तर लगानी नभएको तथ्य पनि यिनै ब्याङ्कहरूले निक्षेप लिन आजभन्दा भोलि अनिच्छा प्रदर्शन गर्दैजानुले देखाउँछ ।

अरू समुदायहरू भन्दा भू.पू. लाहुरेहरूको विशेषता के छ भने उनीहरूले विदेशमा कमाएको पैसा नेपालमै फिर्ता गरिरहेका हुन्छन्, जबकि विदेशमा काम गरेका र उतै पलायन हुने विचार राखेका कतिपय उच्च वर्गीय नेपालीहरूले यसो गर्दैनन् । फौजी लाहुरेहरूले कमाएको सम्पत्ति ठूला भवन, जग्गा र सुनचाँदीमा नभई उत्पादनशील क्षेत्रमा लगानी हुन सके (र, केही हदसम्म यस्तो हुन थालिसकेको छ) देशको अर्थतन्त्रले नयाँ गति लिनसक्ने देखिन्छ । तर लाहुरेहरूले कमाएर ल्याएको त्यो विशाल धनराशिको सदुपयोग गर्नेतिर सरकार र व्यापार तथा उद्योग प्रबद्र्धनमा लागेका सरकारी, अर्धसरकारी र गैरसरकारी निकायहरूको आँखा पुगेको छैन– र, फौजी लाहुरेहरू सही ठाउँमा लगानी गर्न नजानेर यदाकदा नाजायज फाइदा लिने व्यक्तिहरूको फन्दामा पर्ने गरेका छन् ।

विदेशमा काम गरेर फर्कने भू.पू. गोर्खा सैनिक र अन्य गैरसैनिक नेपालीहरूसँग जस्तो नगद बचत क्यास इन ह्याण्ड अरूसँग छैन । घर, जग्गा र उपभोगमा बाहेक उनीहरूको कमाइ नेपालका गाउँमा सापटी र छप्के ब्याज आउने ऋणको रूपमा प्रसस्त मात्रामा लगानी हुँदै आएको छ । उनीहरूको आम्दानी वृद्धि भएको दरमा स्थानीय र ग्रामीण समुदायमा ऋण वा सापटीका सम्भावनाहरू बढ्न नसकेको कारण लाहुरेहरूको बचत शहरका ठूला व्यापारी र धन्दावालहरूमा लगानी हुन थाल्यो, र यो सँगै उनीहरूको लगानी डुब्ने घटनाहरू बढे ।

ब्याङ्कभन्दा बढी ब्याज पाउने आकर्षणमा व्यापारी र दलाललाई पैसा सापटी दिएर अथवा असम्भव प्रोजेक्ट वा व्यवसायमा लगानी गरेर पैसा फँसाउने गुर्खाहरूमा नेपाल भूपू सैनिक संघका अध्यक्ष मेजर दीपकबहादुर गुरुङदेखि पोखराका उपमेयर क्याप्टेन मानबहादुर गुरुङसम्मका अगुवा लाहुरेहरू पनि रहेका छन् । मेजर गुरुङ काठमाडौँको एक दलालले होटलको शेयर दिन्छु भनी आफूलाई रु. एक करोड ठगेको बताउनुहुन्छ । आफ्नो कारणले आफूसहित परिवारका अन्य सदस्य तथा नातेदारहरूलाई समेत तीसौँ लाख डुबाउन पुग्नुभएका पोखराका उपमेयर गुरुङको अनुमानमा पोखरा र काठमाडौँमा गरेर विगत दुई वर्षयता मात्र गुर्खा लाहुरेहरूको डेढदेखि दुई अर्ब रुपैयाँ दलाल र व्यापारीहरूकहाँ नउठ्ने गरी फँसेको छ ।

पोखराका थुप्रै भू.पू. अफिसरहरू के कुरा दोहोर्‍याउँछन् भने, पल्टनबाट फर्किएर आउनेहरूले घर–जग्गा, सापटी जस्ता क्षेत्रमा भन्दा जटिल किसिमको लगानी गर्न सक्दैनन् र धेरै वर्षसम्म नेपालको नियम–कानून तथा व्यवहारबाट टाढा बसेका कारण उनीहरूलाई उद्योग–व्यापार गर्दा झ्ेल्नुपर्ने जटिल प्रक्रियाहरू बुझन कठिन हुन्छ । तर, पढेका र नेपालमा राम्रैसँग खाई खेली गरी विदेशिएकाहरूले पनि आफ्नो बचत टिकाउ र उत्पादनशील क्षेत्रमा लगाउन सकेको भेटिँदैन । प्रतिफल दिनसक्ने गरी बचतको सदुपयोग गर्न नसक्दा एकपटक प्राप्त उच्च जीवनस्तर धान्न धेरै लाहुरेहरू पुनः विदेशिने गरेका पनि छन् ।

यसबाट के कुरो स्पष्ट हुन्छ भने, विदेशमा कमाएको पैसाको उत्पादनशील उपयोग हुन नसकेमा, जति धेरै नेपालीले विदेश गएर कमाए पनि, सम्बद्ध व्यक्ति, परिवार वा समाजको रूप फेरिन सक्दैन । काठमाडौँ उपत्यकालगायत पोखरा, धरान, दमक, भैरहवा आदि नगरहरूको विस्तारमा ‘पुराना’ तथा ‘नयाँ’ लाहुरेहरूको पैसाले ठूलो योगदान गरेको छ । यस्ता शहर–बस्ती विस्तारमा मात्र नभई तिनलाई धान्न (मेन्टेन गर्न) को लागि लाहुरेको लगानी उत्पादक क्षेत्रतिर प्रवाहित हुन जरुरी देखिन्छ ।

भू.पू. लाहुरेहरूले उत्पादनशील व्यवसायमा हातै नहालेका भने होइनन् । तर, यो क्षेत्रमा हात हालेर लाभ कमाउने भन्दा हात डढाएर पन्छिने लाहुरेहरूको सङ्ख्या बढी छ ।

खासगरी २०२६ सालमा बेलायतले गुर्खा फौज १४ हजारबाट सात हजारमा झरेपछि फर्किएका गुर्खा लाहुरेहरूले व्यापार र उद्योगमा लगानी शुरु गरे । शुरु–शुरुमा धेरैजसो यातायात सेवातिर आकर्षित भए । अहिले पनि यो क्षेत्रमा भू.पू. लाहुरेहरूको लगानी उल्लेख्य मात्रामा छ । पोखरा उपत्यकाका पेट्रोल पम्पहरूमा भारतीय गोर्खाका भू.पू. सैनिकहरूको वर्चस्व देखिन्छ । तर यातायातमा सङ्गठित लगानी गर्ने उनीहरूको प्रयास भने त्यति सफल देखिँदैन । धरानमा खोलिएको भू.पू. सैनिकका ट्रान्सपोर्ट (बस) कम्पनी नराम्रोसँग असफल भयो भने पोखराको त्यस्तै कम्पनी जेनतेन बाँचेको मात्र छ । एउटा डुबेको देखेपछि सबै सतर्क हुने संभवतः फौजी संस्कारको कारण धेरैजसो भू.पू. लाहुरेहरूले ब्याङ्कका बचत र मुद्दती खातामा पैसा राखेर सन्तुष्ट हुने गरेको देखिन्छ ।

विदेशमा काम गर्ने सैनिक तथा असैनिक दुवै खालका भू.पू. लाहुरेहरूमा पश्चिमाञ्चलको वर्चस्व भएको कारण भू.पू. लाहुरेहरूको व्यवसायिक क्रियाकलाप र बसोवास पनि पोखरा र भैरहवामा बढी केन्द्रित छ । यसमा पनि पोखरा भू.पू. लाहुरेहरूको सबैभन्दा बढी लगानी भएको शहर बनेको छ ।

७० को दशकको शुरुदेखि, भारतीय तथा ब्रिटिश सेनाबाट पेन्सन पकाएर फर्किएका कास्की, लमजुङ, म्याग्दी र स्याङ्जाका भू.पू. लाहुरेहरूमध्ये अधिकांश आफ्नो पुरानो घर–गाउँतिर फर्किएनन् । फलतः २०–२५ वर्षअघिसम्म सङ्ख्याको हिसाबले बाहुन–क्षेत्रीको वर्चस्व रहेको पोखरा उपत्यकामा अहिले गुरुङ र मगरको सङ्ख्या निर्णायक बनिसकेको छ । पोखराको सार्वजनिक यातायात, व्यापार, होटल व्यवसाय र उद्योगधन्दामा समेत फौजी लाहुरेहरूको संलग्नता उल्लेख्य मात्रामा देख्न सकिन्छ ।

पोखराको आकर्षण

हिमालयन गल्फ क्लव पोखराका मेजर रामबहादुर गुरुङको विचारमा कमाउनेले राम्रोसँग खर्च गर्न नजान्न पनि सक्छ, त्यसैले लाहुरेहरूको बचतलाई सदुपयोग गर्न सरकारले नै केही योजना बनाउनुपर्छ । फेवातालको किनारमा पर्यटकका निम्ति रेष्टुराँ चलाएर बसेका विष्णु गुरुङ सरकारले लाहुरेहरूलाई व्यापार–व्यवसाय सञ्चालन गर्न आवश्यक टे«निङ दिने र व्यवसायमा लागिसकेकाहरूलाई मद्दत पुर्‍याउने गरेमा भू.पू. लाहुरे र उनीहरूको बचत नेपाल फर्किन सक्थ्यो भन्ने सुझव दिनुहुन्छ । “एउटा लाहुरे असफलहुँदा दशौँ लाहुरेको आत्मबल धरासायी हुन्छ,” विष्णु भन्नुहुन्छ ।

पश्चिमाञ्चलका ६० हजार भू.पू. लाई वार्षिक झ्ण्डै रु. चार अर्ब पेन्सन वितरण गर्दै आएको भारतीय पेन्सन क्याम्प पोखराका लेफ्टनेन्ट कर्णेल वाईभीके मोहनले दिएको जानकारी अनुसार, भारतीय सेनाबाट पेन्सन पकाएर रिटायर भएका ५०० जति भू.पू. सैनिक हरेक वर्ष कामको खोजीमा तेस्रो मुलुकतिर लाग्छन् । अवकाश लिनुअघि भारतीय सेनाले दिने भोकेसनल तालीमले उनीहरूलाई विदेशमा काम खोज्न मद्दत गरेको अनुभव मोहनको छ । केही वर्ष यता लाहुरेहरूले अपेक्षाकृत सुरक्षित क्षेत्रमा ठूलो र सङ्गठित लगानी गर्ने प्रयास शुरु गरेका छन् । फौजी लाहुरेहरूको बचत परिचालन गर्ने उद्देश्यले उनीहरूकै व्यवस्थापनमा काठमाडौँ र पोखरामा फाइनान्स कम्पनी खुलेका छन् भने, हङकङका सुपर मार्केटको आनन्द लिएर फर्किएका लाहुरेले काठमाडौँमा चलाएको भाटभटेनी सुपर मार्केट निकै सफल देखिन्छ । बु्रनाईबाट फर्किएकामध्ये सबैभन्दा धनी मानिएका बल पुनको मनकामना हेलिकोप्टर राम्रोसँग सफल हुन नसकेको बताइन्छ तर पनि उहाँले पर्यटन उद्योगमा थप लगानी गर्न छोड्नुभएको छैन । उहाँको सेन्टर प्वाइन्ट होटल ठमेलमा अरूभन्दा अग्लो छ ।

लाहुरेहरूको तर्फबाट अहिलेसम्मको सबैभन्दा ठूलो र महत्वाकांक्षी लगानी योजना ब्रिटिश गोर्खाका भू.पू. इञ्जिनियर बसन्त भुजेल र उनका भाइ भुवनले बनाउनुभएको छ । भुजेल बन्धुको स्वामित्वमा रहेको गोर्खा हाइड्रोपावर प्रा.लि. बाग्लुङ र गुल्मी जिल्लाको सिमानामा अवस्थित दरम खोलाबाट पाँच मेगावाट विद्युत् उत्पादन गर्ने योजनामा लागेको छ । कुल लागत रु. एक अर्ब भन्दा बढी (एक करोड ३० लाख डलर) हुने अनुमान गरिएको सो आयोजनामा २०० भन्दा बढी भू.पू. लाहुरेहरूको शेयरको रूपमा रु. ३० करोड लगानी गर्ने लक्ष्य राखिएको छ । यस्तै लमजुङको न्यादी जल विद्युत् आयोजनामा पनि फौजी लाहुरेको लगानी आकर्षित गर्ने प्रयास प्रबद्र्धकहरूले शुरु गरेका छन् ।

गोर्खा हाइड्रोका अध्यक्ष भुजेलको भनाइमा, बाबु, छोरा र दाजुभाइ प्रायः सबैजसो विदेशी सेना अथवा अन्य काममा विदेश जाने बानी परिसकेका गोर्खा लाहुरेका हरेक परिवार एक डेढ करोड लगानी गर्नसक्ने स्थितिमा हुन्छन् । त्यो रकमको सदुपयोग गर्नसके उनीहरूका शाखासन्तान विदेशिनु पर्दैन, त्यति लगानीले यहीँ विदेशमा भन्दा राम्रो प्रतिफल दिन सक्छ । भुजेलको विचारमा खासगरी फौजी लाहुरेहरूले नेपालमै उत्पादनशील क्षेत्रमा लगानी गर्नु किन पनि जरुरी छ भने एकातिर तिनका छोराछोरी आगामी दिनहरूमा विदेशी सेनामा जान क्रमशः अनुत्साहितहुँदै जानेछन् भने अर्कोतिर अवसरहरू पनि सधैँ उपलब्ध भइरहँदैनन् ।


पोखराका भू.पू. पुरुषार्थी

चाउचाउ काका

ठ्याक्कै एक सय किलो वजनका फणिन्द्रमान श्रेष्ठ पनि ‘भू.पू. गुर्खा’ हुन् भन्ने सुन्दा अलि अनौठो लाग्छ । तर श्रेष्ठ आफू भू.पू. गुर्खा भएको प्रमाणित गर्न युद्धको वर्णन गर्न वा तक्मा आदि देखाउनेतिर लाग्दैनन् । २० वर्षको उमेरमा ब्रिटिश गुर्खामा प्रवेश गरेर २८ वर्षको उमेरमा रिटायर्ड भएका श्रेष्ठ आफूलाई चाउचाउ बनाउने प्रेरणा कसरी जाग्यो र नेपालमा चाउचाउ उद्योगको विस्तार कहाँबाट शुरु भयो भन्ने वर्णन गरेर आफू गुर्खा भएको प्रमाणित गरिदिन्छन् ।

२०३२ सालमा, चाइनिज मेसिनद्वारा पोखरामा सिन्के चाउचाउ उत्पादन गरी नेपालमा चाउचाउ प्रवेश गराएको श्रेय सबैले फणिन्द्रमानलाई दिएका छन् । श्रेष्ठले घरेलु उद्योगको रूपमा स्थापना गरेको सिन्के चाउचाउ उत्पादन गर्ने गण्डकी नूडल्स नै नेपालमा तयारी र सिजण्ड चाउचाउ उत्पादन गर्ने पनि पहिलो कम्पनी हो । फणिन्द्रको पहलमा अन्य भू.पू. गुर्खाहरूको समेत लगानीमा स्थापित गण्डकी नूडल्स प्रा.लि. २०३९ सालदेखि निरन्तर नेपालको नूडल्स बजारमा सफलतापूर्वक टिकिरहेको छ । अहिले यो उद्योगको बहुसङ्ख्यक शेयर भू.पू. गुर्खाहरूको हातमा छ । त्यतिबेर रु. २५ हजारमा किनेको शेयरको मूल्य अहिले रु. ५० लाख पुगिसकेको छ । तर, फणिन्द्रमान अहिले गण्डकी नूडल्समा छैनन् । उनी आफ्नो छुट्टै कम्पनी, अनुपम फूड्स प्रा.लि. मार्फत ‘फेमी’, ‘जोनी’ आदि ट्रेडमार्कका चाउचाउ उत्पादनमा संलग्न छन् । सात करोडको लागतमा जापानीसँग मिलेर खोलेको अनुपम फूड्सका उत्पादनले नेपालको बजारमा आफ्नो ठाउँ बनाइसकेको र बिस्तारै भारततिर निर्यात हुनथालेको छ ।

“हङकङ र सिङ्गापुरमा बस्ने लाहुरे र तिनका छोराछोरीले चाउचाउ खान सिकेको, नेपाल फर्किँदा लाहुरेहरूले झेलाका झेला चाउचाउ लिएर आएको, नेपालमा गहूँको खपत बढाउन सरकारी स्तरमा चिन्तन गरिँदै गरेको, र खाजाको रूपमा खानेकुराहरूको अभाव, आदि कुराले मलाई चाउचाउ उद्योग खोल्ने प्रेरणा दियो,” फणिन्द्र आफ्नो इतिहास एकैसासमा बताउनुहुन्छ ।

“नेपालमा उद्योग फस्टाउन उद्यमशीलता मात्र भए पुग्छ, पूँजी र बजार यहीँ पर्याप्त छ, टेक्नोलोजी त किनेर ल्याए भइहाल्छ,” भन्ने फणिन्द्रमान श्रेष्ठ, धेरैजसो भू.पू. गुर्खाहरू तत्काल नाफा कमाउन खोज्दा व्यवसायमा असफल हुनपुगेको ठान्नुहुन्छ । ५९ वर्षीय श्रेष्ठ भन्नुहुन्छ, “भू.पू. गुर्खाहरूले केही व्यवसाय गर्न खोजेको ठाउँ पोखरा नै हो, तर थोरै मात्र सफल हुन सकेका छन् ।”


‘कुमाईं’ गुरुङ

लाहुरेहरूको कमाईलाई कसरी उत्पादनशील बनाउने भन्ने चिन्तन लाहुरे समाजबीच शुरु गर्ने श्रेय मेजर पूर्णबहादुर गुरुङलाई जान्छ । सिपाहीमा भर्ती भएर ३० वर्षपछि मेजर पदबाट सेवा निवृत्त गुरुङको अगुवाईमा चार वर्षअघि स्थापित ‘ब्रिटिश भूतपूर्व सैनिक क्लब–पोखरा’ को मुख्य उद्देश्य पैसा कमाएर फर्किएका भू.पू. हरूलाई लगानीका उचित क्षेत्रतिर आकर्षित गर्नु रहेको छ ।

लाहुरेहरूको बचतलाई सही ढङ्गले परिचालन गर्ने उद्देश्यबाट स्थापित पोखरा फाइनान्स कम्पनीका सञ्चालक गुरुङ भन्नुहुन्छ, “लोग्नेहरू कमाएर पठाउने, स्वास्नी पैसा खेलाउन नजान्ने भएपछि एकातिर पैसा डुब्यो, अर्कातिर छोराछोरी कुलतमा लागे ।” गुरुङका अनुसार ढुकुटी र सरसापटीमा पोखरामा मात्रै लाहुरेहरूको रु. ३० करोड भन्दा बढी डुबेको छ । मेजर गुरुङ गण्डकी नूडल्सको मुख्य लगानी रहेको गण्डकी ब्रिक फ्याक्ट्रीका अध्यक्ष र गण्डकी नूडल्सका सञ्चालक हुनुहुन्छ ।

“लाहुरेको मूल समस्या नेपालको प्रशासन नबुझनु हो,” भन्नुहुने गुरुङको विचारमा यही कारणले गर्दा नै धेरैजसो गोर्खाहरू सेनाबाट रिटायर भएपछि पनि विदेशतिर फर्किएका हुन् । मेजर गुरुङलाई अरू धेरै भू.पू. हरूले “नेपाल बुझ्ेको लाहुरे” ठान्छन् भने कतिपय उहाँको सुझ्बुझ् र चातुर्यको प्रशंसा गर्दै, ‘कुमाईं गुरुङ’ को संज्ञा पनि दिएका छन् ।

मेजर गुरुङ अध्यक्ष रहेको गण्डकी ब्रिक शुरुदेखि नै घाटामा सञ्चालित छ । एनआईडीसीको सम्भाव्यता अध्ययनको आधारमा निर्माण भएको उक्त ईंटा कारखाना, योजना अनुसार, वर्षमा २७० दिन चल्नुपर्ने थियो । तर २३२ शेयर होल्डरहरूको साढे दुई करोड रुपैयाँ लगानी भएर ईंटा उत्पादन गर्नथालेपछि थाहा भयो, फ्याक्ट्री भएको ठाउँमा वर्षामा धेरै पानी पर्ने कुरा त अध्ययन रिपोर्टमा थियो, तर हिउँदमा हुस्सु लाग्ने कुरा उल्लेख थिएन । यसरी, हिउँद र वर्षा दुवै याममा ईंटा सुक्ने घाम नलाग्ने कारणले सो फ्याक्ट्री घाटामा चलिरहेको छ । तर, पूर्णबहादुर आशावादी हुनुहुन्छ । चिम्नी र पोलेको ईंटको तापलाई चिसा ईंट सुकाउन प्रयोग गर्ने प्रविधि खोज्न उहाँले बेलायतका भूतपूर्व कर्मचारीहरूको क्लबको मद्दत लिनुभएको छ । त्यो प्रविधि भित्याएपछि, वर्षमा ३०० दिन ईंटा उत्पादन हुने र फ्याक्ट्री नाफामा जाने उहाँको विश्वास छ । पोखरा र तनहूँ क्षेत्रमा ईंटाको माग आपूर्तिभन्दा निकै बढी भएको उहाँ बताउनुहुन्छ ।


बगरमा गल्फ कोर्स

सत्ताइस वर्ष ब्रिटिश सेनामा काम गरेर फर्किनुभएका स्याण्डहष्र्टमा तालिम प्राप्त अफिसर मेजर रामबहादुर गुरुङ धेरैलाई अनौठो लाग्ने व्यवसायमा लाग्नुभएको छ । उहाँको योजना विजयपुर खोलाको बगरलाई गल्फ कोर्समा परिणत गर्ने हो । सेती नदी र विजयपुर खोलाको दोभानभन्दा अलिकति माथि अवस्थित हिमालयन गल्फ कोर्सका दुईवटा डोब ‘होल’ गाउँको सम्म मैदानमा छन् भने बाँकी ६ वटा डोब डेढ सय फिट जति सिधै तल विजयपुर खोलाको वारिपारि बगरमा र एउटा चाहिँ खोलाकै बीचमा उठेको सानो टापूमा । कुल ७०० रोपनीमा फैलिएको गल्फ कोर्स निर्माणमा मेजर गुरुङले रु. दुई करोड जति लगानी गरिसक्नुभएको छ । गल्फ मैदानको घाँस धेरै अग्लो हुन नदिन कटिङ्ग मेसिनको सट्टा एक दर्जन जति भेडा पालिएका छन् भने बगर क्षेत्रको घाँस स्थानीय बासिन्दाका गाई–बाख्राले चरेर सिध्याइदिन्छन् । “गल्फको विकास गोठालाहरूबाटै भएको हो, त्यसैले गाईबाख्रालाई गल्फ कोर्सबाट टाढा राख्नु पर्दैन, बरू खेल्न उनीहरूसँगै झ्न् मज्जा आउँछ ।”

“म शायद पहिलो गल्फ प्लेयर गुर्खा पनि हुँ, आफ्नो सौखले यसमा लगानी गरेँ,” गुरुङ भन्नुहुन्छ । सँगै जोडिएको र उहाँको पनि शेयर रहेको गोर्खा भिलेज रिसोर्ट सञ्चालनमा आएपछि, उकाली–ओराली गर्नुपर्ने गल्फ कोर्सले प्रतिफल दिने विश्वास उहाँलाई छ । पाँच वर्षअघि निर्माण शुरु भएको गोर्खा रिसोर्ट सम्पन्न हुन एनआईडीसीको ऋणको पर्खाइमा छ । यता एनआईडीसी भने ऋण लगानी गर्ने रकम नभएर आफैँ थला पर्न लागेको छ ।

लामो अवधिमा प्रतिफल प्राप्त हुने क्षेत्र वा व्यवसायमा लगानी गर्ने अनुकूल वातावरण देशमा बन्न नसकेको कारण भू.पू. गोर्खाहरूको पैसा आफ्नो प्रोजेक्टतिर आकर्षित हुन नसकेको गुरुङको कथन छ । उहाँ भन्नुहुन्छ, “गुर्खाहरू लामो समयसम्म देश, समाज र स्थानीय चालचलनबाट टाढा रहेका हुनाले नेपाल फर्कने वित्तिकै उनीहरूले यस्तोमा लगानी गर्ने भन्ने सोचाइ बनाउन र निर्णय लिन सक्दैनन्, उनीहरूसँग भएको साधनलाई उत्पादक ढङ्गबाट प्रयोग गर्न त सरकारले नै पहल गर्नुपर्छ । उनीहरूले सरकारलाई मात्रै पत्याउँछन् शुरुमा ।” मेजर गुरुङ गण्डकी नूडल्सलाई लाहुरेहरूको लगानीको सफलता ठान्नुहुन्छ भने नेपालमा ट्रेकिङ व्यवसाय शुरु गर्ने गुर्खा दोस्रो राइफलका कर्नेल जिमी रबर्टस्, जो पोखरामा बसी यहीँ मरे, तिनको गुण नेपालीहरूले बिर्सनु नहुने बताउनुहुन्छ ।


नेता मानबहादुर

“एक वर्षको लागि भनेर कम्युनिष्ट बनेको, माया बढ्दै गएर कम्युनिष्ट नै पो भइयो,” पोखरा नगरका उपमेयर मानबहादुर गुरुङले अत्यन्त निर्दोष र निस्संकोच पाराले आफ्नो राजनीतिक इतिहास बताउनुभयो ।

गएको स्थानीय निर्वाचनमा नेकपा एमालेको उम्मेदवारका रूपमा उपमेयर निर्वाचित हुनुभएका क्याप्टेन गुरुङ अहिले नेकपा मालेमा हुनुहुुन्छ । सुनिल (अन्नपूर्ण स्कूल पोखराको विद्यार्थी) हत्याकाण्डका अभियुक्तलाई जोगाउन खोज्ने स्थानीय काङ्ग्रेसी नेताहरू तारानाथ रानाभाट र शुक्रराज शर्मालाई हराउन २०४८ को चुनावमा एमालेतिर लागेको बताउने उपमेयर गुरुङ सङ्गतले गर्दा आफू कम्युनिष्ट हुनपुगेको सुनाउनुहुन्छ । स्याङजाको लाहुरे गाउँ सिरुवारीमा जन्मेर आधा जीवन बेलायतको तर्फबाट कम्युनिष्टमाथि जाईलाग्दै बिताउनुभएका गुरुङ अहिले आफू पक्का कम्युनिष्ट भइसकेको बताउनुहुन्छ ।

बिहान सबेरै हातमा लौरो लिएर सडकका गाई धपाउन निस्कनु हुने उपमेयर भू.पू. सैनिक र तिनका सन्तानको लगानी खेर गएकोमा निकै दुःखी हुनुहुन्छ । “अरूलाई के भन्नु, धेरै ब्याज पाउने लोभमा परेर म आफैँले १२ लाख रुपैयाँ डुबाएको छु । लेफ्टिनेन्ट नरबहादुर गुरुङले ३५ लाख डुबायो,” उहाँ कुरा नलुकाई बताउनुहुन्छ । पारिवारिक सूत्रले बताए अनुसार पञ्चरत्न हार्डवेयरमा २४ प्रतिशत व्याजमा लगानी गरेको उपमेयर गुरुङ र उहाँका परिवार तथा नातेदारहरूको समेत गरेर २५ लाखभन्दा बढी रकम डुबेको छ । गोर्खा भू.पू. सैनिक संघमा समेत समेत क्रियाशील रहनुभएका गुरुङका अनुसार, ढुकुटी र धेरै ब्याज पाउने गरी दिएको सापटीबापत भू.पू.हरूको डेढ अर्ब रुपैयाँभन्दा बढी डुबेको छ । आजभोलि लाहुरेहरूले त्यस्तो ठाउँमा लगानी गर्न छोडेको र थोरै ब्याज आए पनि ब्याङ्कमा राख्न थालेकोले सापटी माग्ने साहूहरूको भीड ब्याङ्कतिर बढ्न थालेको छ । पर्यटनबाट पोखरालाई फाइदा हुन नसकेको र पोखरामा बनेका ८० प्रतिशत घरमा लाहुरेको लगानी रहेको गुरुङको दावी छ । उहाँका अनुसार लाहुरेले एउटा घर बनाउने लगानी गर्दा पोखरामा दुईवटा घर बन्छन्, लाहुरेलाई घडेरी (जग्गा) बेच्नेले पनि त्यो पैसाबाट घरै बनाउँछ ।

आईडी कार्ड पाएर भू.पू. का हजारौँ छोराछोरी हङकङतिर लागेपछि पोखरामा अपराध र अशान्ति कम भएको ठान्नुहुने उपमेयर काम गर्ने जाँगर र पैसा खेलाउने ढङ्ग नभएर भू.पू. लाहुरेहरू फेरि विदेशतिरै लाग्ने गरेको बताउनुहुन्छ । परिवारमा नियन्त्रण हुन नसकेर लाहुरेका छोराछोरीले सही बाटो समात्न नसकेको ठान्नुहुने क्याप्टेन गुरुङ : “भविष्यमा सकेँ भने राम्रो बोर्डिङ स्कूल चलाउँछु, मकैको तेल निकाल्नु पनि फाइदाजनक होलाजस्तो छ । अहिले बल्ल म पैसा चलाउन सक्ने भएको छु ।” ल


सफल उद्यमी

नेपालको पहिलो चाउचाउ उद्योगका अध्यक्ष मेजर वृषराज गुरुङ पेन्सन पकाएर आएका सिपाहीहरूको बारेमा प्रसङ्ग कोट्याउनासाथ धाराप्रवाह बोल्न थाल्नुहुन्छ, “लाहुरेहरू टट्टू जस्ता हुन्, एकोहोरो हिँडाइदियो हिँडिमात्र रहन्छन्, पल्टनमा बस्दा लाटो जस्ता हुन्छन् । अङ्ग्रेजी पढेको भए पो अरू कुरा सिक्न सक्थे ! त्यसै भएर नेपाल फर्किएपछि केही गर्न जान्दैनन्, पैसा ब्याङ्कमा थुपारेर बस्छन् । घर बनाउँछन्, सापटी दिन्छन्, अनि कति चाहिँ डुब्छन् ।”

रु. १३ करोड बराबरको पूँजीका गण्डकी तथा एभरेष्ट नूडल्स प्रा.लि. का अध्यक्ष गुरुङका अनुसार, लाहुरेहरूको लगानीमा सफलतापूर्वक चलेका उद्योगहरूमध्ये उहाँको उद्योग पहिलो नम्बरमा पर्छ । वार्षिक रु. ६ करोडभन्दा बढीको कारोबार गर्ने यी दुवै कम्पनी नाफामा सञ्चालित छन् । गण्डकी नूडल्स्को उत्पादन र नेपालकै पहिलो तयारी चाउचाउ ‘रारा’ ले नेपालको इन्स्ट्याण्ट नूडल्स् (तैयारी चाउचाउ) को ५० प्रतिशत बजार ओगटेको छ । “मैले स्कूल पढ्न नपाएर ठूलो हण्डर खाएँ, त्यही सोचेर छोराछोरीलाई पढाउन खोजेँ तर धेरै राम्रो पढेनन्,” मेजर गुरुङ भन्नुहुन्छ, “पढाइ मात्र हैन उद्योग–व्यवसाय गर भन्दा पनि मान्दैनन्, दुईवटा छोरा हङकङमा आई.डी. लिएर बसेका छन्, कान्छोलाई विद्वान् बनाउँछु भनेर नौ वर्ष बुढानीलकण्ठमा राखेर पढाएँ, त्यो पनि भर्खरै कोरियामा हण्डर खाएर फर्किएको छ । लाहुरेका सन्तान पैसाले बिग्रिए भन्छन्, त्यो साँचो हो ।” मेजर गुरुङको विचारमा पर्यटनबाट पोखराले खासै आम्दानी गर्न सकेको छैन, बरू पोखराको विस्तार भू.पू.हरूको लगानीबाटै भएको छ । ६९ वर्षीय गुरुङ गण्डकी र एभरेष्ट नूडल्सका उत्पादनको मार्केटिङ्ग गर्न विदेशीलाई ल्याउनु नपरेकोमा गर्व गर्नुहुन्छ । उहाँको कम्पनीमा २७५ जनाले रोजगारी पाएका छन् । पाँच करोडको लागतमा “हिमश्री फूड प्रोडक्ट” नामको अर्को कम्पनी खोल्ने तयारीमा लाग्नुभएका मेजर साहेबका अनुसार पाको उमेरका लाहुरेहरू चाहिँ यस्ता उद्योगमा लगानी गर्न उत्साहित हुन थालेका छन् ।

comments powered by Disqus

रमझम