१६–३० भदाै २०५६ | 1-15 Sep 1999

लाहुरेको स्वामित्व

Share:
  
- कमलमणि दीक्षित

राजा (जय) प्रतापमल्लले १७२७ सालमै रानीपोखरीको माहात्म्य बखानेर शिलापत्र कुँदाउँदा नेपाली भाषाको प्रयोग किन गरे ? किन छाने उनले त्यो पर्वते कुरा आफ्नो शिलालेख लेखाउँदा ? मैथिली पनि चलेको थियो उपत्यकामा त्यस बेला साहित्यिक काममा, नेवार भाषा त थियो नै । अनि काठमाडौँ खाल्डोका वरिपरि पहाडमा रिङ्गै तामाङहरूको बस्ती थियो, र तामाङ भाषा पनि प्रशस्तै बोलिन्थ्यो । हुँदाहुँदै पनि प्रताप मल्लले पर्वते खसभाषा नै छाने, किन ? त्यस भाषाको प्रेमले होइन, हो भने व्यावहारिकताका दृष्टिले हो, एक किसिमको बाध्यताले । आफूले भनेका कुरा सकेसम्म प्रचार होस्, सकेसम्म धेरै मान्छेले पढून्, बुझ्ून् भनेर उनले त्यसो गरेका थिए ।

प्रतापमल्लको बाध्यताको कुरा यहाँ त्यसै उठाइएको होइन । अर्को एउटा बाध्यताको कुरा गर्न मन लाग्यो । यसपटक अङ्ग्रेजहरूको, ईष्ट इण्डिया कम्पनीको, अनि ब्रिटिश सरकारको । कलकत्ताको फोर्ट विलियममा सुरक्षित भएर बसेपछि सन् १८२० (१८७७ साल) मा उनीहरूले सर्वप्रथम ‘नेपाल ल्याङ्ग्वेज’ को व्याकरण बनाउन लगाए, जे. एटनलाई । त्यसको लगत्तैपछि नेपालमा बाइबल अनुवाद भयो, सन् १८२१ मा । नेपाली भाषाको प्रेमले ईष्ट इण्डिया कम्पनीले व्याकरण र बाइबल बनाएका थिएनन्, राजनीतिक उद्देश्य थियो, र धर्म प्रचारको उद्देश्य थियो, नेपालभर पुग्नलाई माध्यम यही भाषामात्र हुनसक्छ भन्ने बुझ्े उनीहरूले शुरुमै ।

सन् १८१६ मा अङ्ग्रेजहरूसँग हारेपछि नेपालका लडाकूहरूले त्यो आफ्नो युद्धकौशल अब नेपालमा उपयोग हुन सक्तैन भन्ने बुझ्े । अनि त्यो सेवा रणजीतसिंहको फौजमा बेच्न सकिन्छ कि भनी उनीहरू लाहोर पुगे र ‘लाहुरे’ भए । लाहुरेहरू पञ्जाव पुग्दा पनि आ–आफ्ना भाषा त लिएरै गएका थिए । त्यहाँ गुरुङ थिए, मगर थिए, तामाङ, राई, लिम्बू पनि थिए नै शायद । त्यहाँ पुगेका लिम्बूले गुरुङसँग पनि बोल्नै पर्‍यो, बूढामगरसँग पनि बात मार्नै पर्‍यो । अनि बाध्यताले जुम्लाको खसभाषा अँगाल्नुपर्‍यो, नत्र त व्यवहारै चल्ने भएन ।

१९१५ सालतिर मुस्ताङ, टुकुचेका ‘थकाली’ बलवीरले आफ्नो चलेको भाषा छाडेर प्रत्येक थकाली परिवारले ‘पर्वते’ बोलीमा कुराकानी गर्नु भन्ने थिति बाँधिदिए । किन होला ? पर्वते अर्थात् नेपाली भाषाको प्रेमले होइन, व्यापारी सुझ्बुझ्ले गर्दा हो । फेरि त्यही शब्द अघि सार्नुपर्छ, बाध्यता । यहाँनिर चाहिँ आर्थिक वा व्यापारिक बाध्यता भन्नुपर्छ । सधैँ थाकखोला वरिपरि मात्र व्यापार गरेर पुग्दैन– दक्षिणतिर बढ्ने हो, पूर्व–पश्चिम लाग्ने हो भने नेपाली नबोले आफू ठगिइन्छ, नेपालीमा पोख्त नभए तलका पर्वतेहरूले आफूलाई ठग्छन् भन्ने बुझ्े बलवीरले ।

गोर्खा फौजका हेडक्वार्टरहरूमा सैनिक शिक्षाबाहेक भाषाको शिक्षा पनि दिइन्थ्यो– नेपाली र अङ्ग्रेजी उनीहरूले सिकेकै हुन्थे । अङ्ग्रेजहरूले, गोरा अफिसरहरूले नेपाली भाषाको मायाले होइन सैनिक आवश्यकताले, बाध्यताले नेपाली सिकेका हुन्थे, आफ्ना मातहतका सिपाहीहरूसँग बोल्न, राम्ररी काम लिन । गुरुङ, राई, मगर, लिम्बू, ठकुरी, क्षेत्री सबैसँग एउटै भाषामा बोल्नु व्यावहारिक थियो । त्यही सजिलो हुन्थ्यो । त्यसैले बाध्यताले नेपाली भाषा मलायाका जङ्गलदेखि लण्डनका ब्यारेकहरूसम्म र फकल्याण्डको युद्धभूमिसम्म पनि फैलियो, फैलिँदै गयो । हाम्रा रिकुटे, लाहुरेहरू पूर्वमा भारत, बर्मा, मलाया, इण्डोनेशियासम्म अनि पश्चिममा मध्यपूर्व, युरोप पनि पुगे लडाइँ गर्दै । तर सधैँ लडाइँ गरेर सकिँदैन । सिपाहीहरूले म्याद पुगेपछि पेन्सन लिएर घर फर्कनै पर्छ । घर फर्किँदा यी लाहुरेहरू, गोर्खा सिपाहीहरूले छाउनीमा बोल्ने भाषा नै लिएर फर्के । घरमा उनका जहान–परिवारले राई, वान्तवा बोले पनि, गुरुङ या छन्त्याल भाषा बोले पनि यिनीहरूले खस भाषाको ज्ञान भने नेपाली पहाडका कुना–कुनामा फिँजाए । यसै क्रममा यो भाषा ताप्लेजुङ पुग्यो, घान्द्रुक गयो; सोलु, सल्लेरी अनि खाँदबारी पुग्यो । भनेको के भने, इम्फालबाट फर्के पनि डार्डेनल्सबाट फर्के पनि नेपाली भाषा दोब्बर ऊर्जा लिएर नेपालमा फर्कन्थ्यो लाहुरेहरूका साथ ।

एउटा कुरा निर्धक्क स्वीकार्नुपर्छ । अहिले रेडियो नेपाल देशभरि सुनिन्छ, नेपाली भाषा देशका कुनाकुनामा कानमा पर्छ । पहिले यस्तो नहुँदासम्म नेपालका त्यतिबेला दुर्गम पहाडी क्षेत्रमा नेपाली भाषालाई पुर्‍याउने साधन थिए यिनै विदेशी सेनामा काम गरेर फर्केर आएका रिकुटे, लाहुरे, गोर्खा जवानहरू । त्यो कार्य गर्ने एउटा ‘सिङ्गल फ्याक्टर’ अर्थात् महत्वपूर्ण साधनको नाम लिने हो भने निःसन्देह त्यो हुनेछ, लाहुरेहरू । नेपाली भाषाको फैलावटमा गोर्खा भर्ति वा अरु कामबाट नेपाल फर्कने मातृभाषा नेपालीनै नभएका लाखौँ जवानहरुको देनलाई भाषाविद् र समाजशास्त्रीले ध्यान पुर्‍याएको देखिँदैन । आजसम्म यो भाषाको फैलावटको कुरा गर्दा नेपालको एकीकरणको प्रक्रिया र क्षेत्री–बाहुन देशको मध्य पहाडी भागमा सबैतिर छरिनु कारण देखाइन्छ । तर मुख्यतः जनजाति रहेका लाहुरेहरुको नेपाली भाषा देशभरि बोलिनुमा जुन सहभागिता छ, त्यो स्वीकार्नु पर्छ । अतः आ–आफ्नो मातृभाषाबाहेक नेपाली भाषाकै स्वामित्व पनि सबैको साझ हो भन्न गाह्रो पर्दैन ।

आज आएर नेपाली भाषालाई सरकार र राजनीतिले मात्र होइन, अर्थतन्त्रले पनि च्यापेको छ । पत्रकारिता, विज्ञापन क्षेत्र र जहाँ त्यहीँ देखिन्छ । नेपालमा नेपालीमा पैसा छ, नेपालीमै प्रतिष्ठा छ, कमाउन सके । कुनै एक समुदायको नभएर नेपाली भाषा सबैको भइसक्यो र आउने दिनहरूमा यसको सामाजिक र आर्थिक फाइदा सबैले लिन पाउनु पर्छ, खासगरी नेपालीलाई नेपालको बनाउन त्यत्रो भूमिका खेल्ने सिपाही लाहुरेका सन्तानले त !

comments powered by Disqus

रमझम