१६–३० भदाै २०५६ | 1-15 Sep 1999

गुर्खा र गोर्खाको कमाइ

Share:
  

डेभिड सेडन्

नेपालीहरूले विदेशमा काम गरेर पैसा कमाउन थालेको दुई सय वर्षजति हुन थाल्यो । भारतमा रहेको ब्रिटिश आर्मीमा ‘गुर्खा’ भर्ती हुन थालेपछि शुरुको एकसय वर्षसम्म तिनीहरूले कमाएको पैसा र पेन्सनवापत आउने रकम नै नेपालका लागि विदेशी मुद्रा आर्जनको मुख्य स्रोत बनेको थियो । त्यसबेला भर्ती हुनेहरू मुख्यतः नेपालको पश्चिम र पूर्व पहाडका हुन्थे; पश्चिम पहाडबाट गुरूङ र मगर तथा पूर्व पहाडबाट राई, लिम्बूहरूको बाहुल्य रहन्थ्यो ।

पहिलो विश्व युद्धपछि नेपालीहरू (भूतपूर्व सैनिकहरू लगायत) ले भारतमा सेनाको नोकरी बाहेक अन्य रोजगारमा हात हाल्न थाले । भारत स्वतन्त्र भएपछि गुर्खा सैनिकहरू ब्रिटिश र भारतीय सेनामा बाँडिए, भारतीय सेनामा (‘गोर्खा’ नामाकरण गरेर) भर्ती प्रशस्त बढ्यो र त्यसै बेलादेखि मुलुकबाहिर सैनिक सेवामा संलग्न हुनेहरूको सङ्ख्या भारतीय सेनामै अधिक रहेको छ ।

बेलायतको उपनिवेशकालको उत्तराद्र्धमा ब्रिटिश गुर्खालाई दक्षिण पूर्वी एसियामा खटाएपछि बहालवाला र भूतपूर्व ब्रिटिश गुर्खा सैनिक तथा तिनका परिवारहरूको बसोबास हङकङ, सिङ्गापुर र ब्रुनाईमा व्यापकरूपमा विस्तारित भयो ।

विगत २० वर्षको अवधिमा नेवार, थकाली र मनाङका व्यापारीहरूका साथै भूतपूर्व सैनिक तथा अन्य नेपालीहरूले दक्षिणपूर्वी एसियाका देशहरूमा राम्रो पैसा आउने काम गर्ने गरेका छन् । हाल त्यो स्थिति पूर्वी एसिया (मुख्यतः जापान, दक्षिण कोरिया) मा पनि देख्न पाइन्छ । बितेको एक दशकको अवधिमा खाडीका देशहरूमा पनि रोजगारीका प्रशस्त सम्भावनाहरू खुलेका छन् । वैदेशिक रोजगारका लागि अहिले खाडीक्षेत्र नेपालीहरूका लागि द्रुतगतिले आकर्षक बन्दै गएको छ ।

वैदेशिक रोजगार र त्यहाँबाट नेपाल भित्रिने रकमबारे हालसालै गरिएको एक अध्ययन फोरेन लेबर माइग्रेसन एण्ड द रेमिटेन्स इकोनोमी अफ नेपाल का अनुसार विश्वका विभिन्न भू–भागमा काम गरेर नेपालीहरूले कमाएको रकम जोड्दा वार्षिक ६०—७० अर्ब रुपैयाँ हुन आउँछ । जसमध्ये ३०—४० अर्ब रुपैयाँ भारतमा सरकारी र निजीक्षेत्रमा काम गर्नेहरूबाट आउँछ भने ३० अर्ब विश्वका अन्य क्षेत्रबाट आउने गरेको छ । यो रकम नेपालको कुल गार्हस्थ उत्पादनको झ्ण्डै २० प्रतिशत हो र यसमा पेन्सन रकम जोडिएको छैन । ‘परोक्ष रूपमा रहेको आम्दानी’ बाट प्राप्त यति ठूलो रकमको झ्ण्डै १०—१५ प्रतिशत भने भारतीय गोर्खा र ब्रिटिश गुर्खाहरूको रोजगारबाट आएको देखिन्छ । तर नेपालको सरकारी आँकडामा नेपालीहरुले विदेशमा कमाएर स्वदेशमा पठाउने गरेको रकम निकै कम देखिन्छ । धेरैजसोले हुण्डी गरेर वा अन्य अनौपचारिक माध्यमबाट पैसा पठाउने भएकोले यस्तो भएको हुनसक्छ । सरकारी लेखामा गुर्खा र गोर्खाहरूद्वारा प्रेषित रकम एक चौथाईदेखि एक तिहाईसम्म मात्र देखिन्छ, जुन उनीहरूको वैदेशिक रोजगारबाट हुने कुल आम्दानीको परिदृश्यमा मेल खाँदैन ।

तैपनि, सन् १९८० को दशकमा अनुमानतः प्रत्येक वर्ष ब्रिटिश गुर्खाबाट चार करोड ७० लाख र भारतीय गोर्खाबाट १० करोड अमेरिकी डलर नेपाल आएको अनुमान थियो । यो तथ्याङ्कबाट भारतीय र बेलायती सेनामा काम गर्ने नेपालीहरूबाट हरेक वर्ष मोटामोटी १५ करोड अमेरिकी डलर आएको देखिन्छ । भारतीय र ब्रिटिश सेना तथा बु्रनाईमा सुरक्षा सेवा गरेवापत आर्जित रकम अधिकांश तिनै ठाउँमा पुग्छन्, जहाँबाट ती जवानहरू रोजगारका लागि गएका हुन्छन्, अर्थात् पश्चिम र पूर्वी पहाडमा । सन् १९९६ को राष्ट्रिय जीवनस्तर सर्वेअनुसार विदेशमा (भारत बाहेक) काम गर्न जाने नेपालीहरूमा दुई तिहाई पूर्वी र पश्चिम पहाडका नै छन् । सो सर्वेले भारतबाहेक अन्य मुलुकमा काम गर्न जानेहरूमध्ये आधाजसो र अझ् उत्तर अमेरिका तथा युरोपमा जानेहरूमध्ये दुई तिहाई शहरी क्षेत्रका रहेको देखाएको छ ।

विगत २०, ३० वर्षको अध्ययनबाट के देखिन्छ भने विदेशमा गरेको आर्जनले ग्रामीण क्षेत्रबाट शहरी क्षेत्रमा बसाइँ सर्ने प्रवृत्तिलाई बल पुर्‍याएको छ भने बहालवाला र भूतपूर्व सैनिकहरू तथा तिनको परिवारले गर्ने लगानीको ढाँचामा परिवर्तन आएको छ । उनीहरूले धेरैजसो लगानी खेती किसानीमा भन्दा अरू क्षेत्रमा गरेका छन् र गाउँबाट बजार र बजारबाट शहरतिर स्थानान्तरण भएका छन् । विदेशी सेनामा भर्ती भएका अहिलेका युवाहरू धेरैजसोले आफ्नो बासस्थान छोडेर नयाँ ठाउँमा बसोबास गरेको र सेनामा काम गरेवापत आउने पैसा र निवृत्तिभरणका कारण खेती किसानीमा कम सहभागी हुन थालेको पाइन्छ । गोर्खा सेनामा भर्ती भएका बाबुहरूले आफ्ना छोराहरूलाई पनि सेनामै पठाउने व्यापक चलन छ । यसले कृषि व्यवसायमा लाग्नुभन्दा विदेशमा बसेर कमाएको पैसाबाट आरामदायी जीवनयापन गर्नेतर्फ उन्मुख गराउँछ ।

अधिकांश परिवारमा विदेशमा कमाएको पैसा घरायसी काममा खर्च गर्ने प्राथमिकता पहिलो देखिन्छ । धेरैजसोले विदेशको कमाईलाई उपभोग्य सामानमा खर्च गर्छन्, ऋण तिर्छन्, घर बनाउँछन् र विवाह जस्ता संस्कारमा धेरै खर्च गर्दछन् । त्यसपछि बल्ल व्यापार, गैरकृषि व्यवसाय तथा शिक्षामा लगानी हुनथालेको छ । रोजगारीको अवसर पाउन र गोर्खा सैनिकमै भर्ना हुन पनि शिक्षाको महत्व छ भन्ने बुझन थालिएको छ ।

रोजगारीका लागि विदेश जानु ग्रामीण नेपालका लागि एउटा सुन्दर सपना बनेको छ । सेनामा भर्ती हुनु एकदमै प्रतिस्पर्धी छ । जसको विदेशमा सम्पर्क छ वा विदेश जानका लागि लगानी गर्नसक्ने क्षमता छ ती दक्षिण पूर्वी वा पूर्वी एसियाली देशमा गएर काम गर्छन् । त्यस्तो नहुनेहरू रोजगारीका लागि भारत जान्छन् । यसरी हेर्दा विदेशमा काम गर्नेहरूमध्ये करीब १० देखि १५ प्रतिशत मात्र गोर्खा सेनामा छन् । विदेश गई अन्य काम गर्नेहरूको तुलनामा भारत र बेलायती सेनामा भर्ती हुनेहरूको कमाई बढी हुन्छ । यसले ग्रामीण क्षेत्रमा असमानताहरू बढाएको छ ।

सेनामा काम गरेर कमाएको पैसाले नेपालको पूर्व र पश्चिमका पहाडी क्षेत्रको विकासमा कसरी प्रभाव पारेको छ भन्ने कुराका बारेमा खासै अध्ययन भएको छैन । तर अहिलेसम्मका गतिविधिहरूबाट सेनाबाट भएको कमाईले त्यस क्षेत्रमा उल्लेख्य परिवर्तनहरू ल्याएको छ । लामो समयदेखि निश्चित क्षेत्रबाट र त्यो पनि निश्चित समुदायबाट सेनामा भर्ती गरिँदै आएकाले उक्त क्षेत्रले गुर्खा र गोर्खाहरूमार्फत उल्लेख्य कमाई गर्न सकेको छ ।

सेडन् दुई दशकअघि प्रकाशन भएको ‘नेपाल इन् क्राइसिस्’ का लेखक हुनुहुन्छ र हाल बेलायतको युनिभर्सिटी अफ् इस्ट एङ्गलियामा अध्यापन गर्नुहुन्छ ।

comments powered by Disqus

रमझम