छ? दिउँसो वा रातीका बस चढ्नुभएको
कुनै पनि आकारप्रकारका गाडी भए पनि सार्वजनिक यातायातका साधनमा चढ्नु भनेको केही घण्टाका लागि आफूलाई असुरक्षा र अपमानको बलिवेदीमा चढाउनु हो। गाडी मालिकले सकेसम्म कोचेर राखेका सीटमा सिण्डिकेटले मनोमानी ढङ्गले तोकेको भाडा तिरेर चढेका यात्रुलाई खलासीले गालीकै तहमा झ्रेर व्यवहार गर्छ र ड्राइभरले बेस्सरी हुँइक्याउँछ। नेपालको यातायात व्यवसायमा वार्षिक अर्बौं रुपैयाँको विनिमय हुन्छ तर गाडी चढ्नुअघि वा चढिसकेपछि सबैभन्दा कम ध्यान दिइने व्यक्ति भनेको यात्री हो, जसले पैसा तिरेका कारण मात्र यत्रो उद्यम चलिरहेको छ। यात्रीको सुविधाको ख्याल राखिंदैन र उसका कुरा सुनिंदैन।
हाम्रा यात्रुवाहक जीप भनिने पुरातात्विक महत्वका खटाराहरूमा अघिल्ला दुई हारका लागि चार वटा र पछाडिका लागि एउटा गरी पाँच ढोका हुन्छन्। 'थर्डसीट' भनिने तेस्रो हारमा बस्न पछाडिको ढोकाबाट छिर्नुपर्छ र चारजना कोचिनुपर्छ। मोटरसाइकल 'मोडिफाइ' गर्नेहरूलाई खोजीखोजी कारबाही गर्ने प्रहरी प्रशासन गाडीमा थपिएका सीटबारे किन बोल्दैन? 'जीप' लगायतका साना गाडीका अघिल्लो सीटमा तीन जना यात्रु राख्न पाउने नियम किन बनाएको? त्यसले यात्रुको त हुर्मत लिन्छ नै, ड्राइभरलाई समेत गाह्रो हुन्छ र दुर्घटनाको सम्भावना बढ्छ। पहाडी भेकमा हुने जीप दुर्घटनामा यस्ता कुरा कत्तिको जिम्मेवार छन्? जवाफ दिनुपर्छ कि पर्दैन?
अनि पुलिसले कारबाही गरुर्यो भनेर मुलुक ठप्प पार्छन् यातायात व्यवसायीहरू। सरकार लत्रिन्छ। सिण्डिकेट हुँदैन भन्छ, तर 'सिण्डिकेट खारेज गरेर वार्तामा आओ' भन्ने हिम्मत गर्दैन।
नेपालका यातायात व्यवसायीहरू भनेका सुविधाका होइन, असुरक्षा र अपमानका ठेकेदारहरू हुन्। यो अव्यवस्थालाई सरकारी वरदहस्त प्राप्त छ। र नै यसको संस्थागत विकास र विस्तार भएको छ। यातायात माफियासित आफ्नो साँठगाँठ छैन भन्ने हिम्मत भएका प्रशासकहरू सातामा वा महीनामा एकपटक आफ्नो जिल्लाका सार्वजनिक यातायातका साधनमा यात्रा गरेर हेरुन्। तर प्रधानमन्त्रीले बस चढेको जस्तो नाटक होइन, यात्रुकै हैसियतमा ५० किलोमिटरभन्दा बढी जीप वा माइक्रो वा बस चढेर हेरे भने उनीहरूले आफैं बुझछन् कुरा। नत्र होइन होइन भन्दाभन्दै मुलुक नै सिण्डिकेटले चलाउला!