१-१५ भदौ २०६९ | 17-31 August 2012

टेरेन भूमिसुधारले अख्तियारलाई

Share:
  
p11a

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती सेवा नियमावली विपरीत दोहोरो पारिश्रमिक लिएका एक सह–सचिवमाथि कार्बाहीका लागि गरेको सिफारिस कार्यान्वयन भएन। भूमिसुधार मन्त्रालयको स्थलरुप नापी महाशाखाका उप–महानिर्देशक मधुसूदन अधिकारी एडीएम कार्टो कन्सल्ट एण्ड म्याप पब्लिसर प्रालिको प्रतिनिधित्व गर्दै काम गरेको समाचार हिमाल (हे.१६–३० चैत २०६८) मा प्रकाशित भएपछि अख्तियारले छानबिन गरेको थियो। 

छानबिनपछि अख्तियारले उच्च तहको कर्मचारीले पालना गर्नुपर्ने आचारसंहिता पूरा नगरेको भन्दै मन्त्रालयलाई लेखेको पत्रमा उपमहानिर्देशक अधिकारीले आफ्नी श्रीमतीको एडीएम प्रालिको प्रतिनिधित्व गरेको पाइएको उल्लेख छ (हे. पत्र)। तर, मन्त्रालयले उपमहानिर्देशक अधिकारीसँग सामान्य सोधपुछबाहेक केही गरेको छैन। मन्त्रालयका प्रवक्ता कृष्णबहादुर राउतले हिमाल सँग भने “छलफल भइरहेको छ, के गर्ने भन्ने निर्णय भएको छैन।”    

निजामती सेवा नियमावली २०५० को नियम ११७ मा व्यवसाय गर्न, कुनै बैंक वा कम्पनीको स्थापना, रजिष्ट्रेशन वा सञ्चालनको काममा भाग लिन, कुनै व्यापार गर्न वा अन्यत्र कुनै प्रकारको सेवा स्वीकार गर्न चाहने राजपत्राङ्कित निजामती कर्मचारीले सम्बन्धित मन्त्रालयबाट वर्षेनि स्वीकृति लिनुपर्ने व्यवस्था छ। तर, उपमहानिर्देशक अधिकारीले २०६५/६६ यता त्यस्तो स्वीकृति लिएको रेकर्ड मन्त्रालयमा छैन।

रामजी दाहाल


ट्राफिक चेकिङमा ज्यान गयो


p11
आमाको ११ दिने काममा दिदी सिर्जनाका साथ ओमलाल। 

मादक पदार्थ सेवन (मापसे) परीक्षणमा खटिने ट्राफिक प्रहरीहरूको आचरण विवादास्पद बन्दै गएको छ। उनीहरूमाथि सवारी चालकहरूलाई अमर्यादित व्यवहार गरेको आरोपहरू लाग्दै आएकोमा पछिल्लो पटक मोटरसाइकल यात्रीको मृत्युको कारण बनेको उजुरी परेको छ। म्हेपीका ओमलाल प्रधानले आफूलाई ट्राफिक प्रहरीले एक्कासी कठालो समातेर तान्दा मोटरसाइकल पछाडि बसेकी आमाको मृत्यु भएको भन्दै हनुमानढोकामा जाहेरी दिएका छन्। 
१४ साउनको राती साढे ९ बजेतिर जमलमा भएको मापसे चेकिङमा दरबारमार्गका प्रहरी जवान गंगादत्त बोगटीले रोकेको बा ३१ प ४५३० नम्बरको बाइकबाट लडेकी सुवर्ण लक्ष्मी प्रधान (५१) को उपचारका क्रममा निधन भएको जाहेरीमा उल्लेख छ। 

पारिवारिक जमघटबाट फर्कंदा ट्राफिक प्रहरीको मापसे चेकमा परेपछि 'आफूले पार्टीमा थोरै पिएको तर नमातेको' बताउँदै आमा पनि भएकोले जान दिन अनुरोध गर्दा प्रहरी जवान बोगटीले बाइकको चाबी खोसेर लाइसेन्स मागेको प्रधानको भनाइ छ। लाइसेन्स दिएर रसिद बुझेपछि पनि बोगटीले चाबी नदिएको उनी बताउँछन्। आमा समेतले बारम्बार अनुरोध गरेर चाबी पाएपछि 'कसैलाई त्यसै छाड्ने कसैको चाबी नै नदिने? सबैलाई नियम बराबर हुनुपर्छ' भन्दै हिंड्न लाग्दा बोगटीले अचानक कठालो समातेर बाइक हुत्तिएर लडेको उनी बताउँछन्। “आमा अर्कोतिर पछारिनुभयो, मलाई चार जना ट्राफिकले हिर्काउन थाले, आमा बेहोश हुँदा पनि उनीहरूले वास्तै गरेनन्” प्रधान भन्छन्, “हाम्रो पछिपछि आएकी दिदीले आफ्नो स्कुटर त्यहीं छाडेर आमालाई ट्याक्सीमा अस्पताल लग्नुभयो।”

आफूलाई भने आमा 'कोमा'मा गएको बताउँदा पनि प्रहरीले त्यो रात दरबारमार्ग परिसरमा थुने

p11b
जाहेरीपछि शव बुझेको पत्र। 

 राखेको प्रधान बताउँछन्। प्रहरीको पिटाइबाट उनको शरीरका विभिन्न भागमा नीलडाम बसेको शिक्षण अस्पतालका डा. हरिहर वस्तीले गरेको घाउ–जाँच रिपोर्टमा उल्लेख छ। बुबा मुटु रोगी भएकाले घटनाबारे मुख नखोलेका प्रधान दिदी–भाइले १८ साउनमा आमाको मृत्यु भएपछि ट्राफिक प्रहरीविरुद्ध जाहेरी दिएका हुन्। चेकिङ प्वाइण्टका कमाण्डर रहेका प्रसनि टोपेन्द्रबहादुर खत्री चिट काट्दा भनाभन भएपछि मोटरसाइकल नियन्त्रणमा लिन खोज्दा अगाडिको बाइकमा ठोक्किएको बताउँछन्। उनले ठक्करबाट बा ४० प ४६२५ नम्बरको मोटरसाइकलमा क्षति पुगेको दाबी गरे। सो मोटरसाइकलका चालक भनिएका युवराज बराल स्टार्ट बन्द भएर रोकेको बेला पछाडिबाट प्रधानले ठक्कर दिएको बताउँछन्। प्रधानकी दिदी सिर्जना भने घाइते आमा न्युरो अस्पतालमा सिकिस्त भएको थाहा पाएपछि ट्राफिकले नक्कली प्रमाण खडा गरेको बताउँछिन्।
प्रधानले घटनास्थल नजिकै मेगा ब्याङ्क अगाडि जडित नेपाल प्रहरीको सीसीटीभी क्यामराको दृश्य हेर्न माग गरेका छन्। शुरूमा प्रहरीले बैंकको भएको बताएको सो क्यामरा महानगरीय प्रहरी आयुक्त कार्यालय रानीपोखरी मातहत रहेको बुझ्िएको छ। दरबारमार्गका ट्राफिक प्रहरी प्रमुख सीताराम हाछेथुले अनुसन्धान भइरहेकोले केही बताउन नमिल्ने बताए।

डम्बरकृष्ण श्रेष्ठ


डा. केसी फेरि अनशनमा
 

p11c

काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसी २९ साउनदेखि पुनः आमरण अनशनमा छन्। त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा राजनीतिक भागबन्डामा पदाधिकारी नियुक्त गर्न नहुने र रिक्त पद तत्काल पूर्ति गर्नुपर्ने माग गर्दै अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ केसीले आमरण अनशन दोहोर्‍याएका हुन्। 

अस्पतालमा वरिष्ठताका आधारमा वा प्रतिस्पर्धाबाट योग्य प्रमाणित भएकालाई मात्र पदाधिकारी नियुक्त गर्नुपर्ने मा  गरिरहेका डा. केसी २१–२४ असारमा दोस्रो पटक आमरण अनशनमा बसेपछि त्रिवि कार्यकारी परिषद्ले प्रा. डा. कुमुदकुमार काफ्लेलाई डीन नियुक्त गरेको थियो। डा. काफ्लेको उमेर हदका कारण २९ साउनदेखि स्वतः अवकाश पाएपछि पुनः राजनीतिक भागबन्डाका आधारमा नियुक्त गर्न नहुने, योग्य र सक्षम व्यक्तिलाई नियुक्त गरिनुपर्ने भन्दै प्रा.डा. केसीले फेरि अनशन थालेका हुन्। राजनीतिक आशीर्वादबाट आएका अस्पतालका पदाधिकारीहरूको चारवर्षे कार्यकाल पूरा भएर आठ महीना नाघ्दा पनि मन्त्रालय र विश्वविद्यालयबाट नयाँ पदाधिकारी ल्याउने पहल नगरेपछि डा. केसी सक्षम पदाधिकारी नियुक्तिका लागि अनशन बस्ने बाध्यतामा पुगेका हुन्। 

डा. केसीको अनशनमा शिक्षण अस्पतालका १८० मध्ये १६५ जना प्रा.डा. लगायत विभिन्न संघसंगठनले समर्थन जनाएका छन्। १९ वर्षदेखि शिक्षण अस्पतालमा कार्यरत इमानदार छविका डा. केसीले १६ वर्षदेखि दुर्गम क्षेत्रमा निःशुल्क सेवा गर्दै आएका छन् (हे. हिमाल १६–३१ असार २०६९ को आवरण)।
अनलाइन लिङ्कः http://www.himalkhabar.com/?p=4453

comments powered by Disqus

रमझम