२-८ वैशाख २०७५ | 15-21 April 2018

योनीस्रावको उपचार

Share:
  
- डा. सुमनराज ताम्राकार
बेलैमा गरिएको असामान्य योनीस्रावको जाँचबाट पाठेघरको मुखको क्यान्सरको शंका पनि निवारण गर्न सकिन्छ।

सामान्यतः योनीस्राव (सेतो पानी) को बहाव महिलापिच्छे मासिक चक्र अनुसार फरक हुन्छ । यतिलाई अधिक वा त्यतिलाई कम भन्न पनि गाह्रो छ । भित्री कपडा भिज्ने वा प्याड नै प्रयोग गर्नुपर्ने गरी हुने योनीरसको बहावलाई अधिक मान्नुपर्छ । त्यसमा सामान्य र संक्रमित खालको छुट्याउन आन्तरिक जाँच पड्ताल गर्नुपर्ने हुन्छ । योनीस्रावको जाँचबाट गर्भ रहने वा नरहने अवधिका साथै पाठेघरको मुखको क्यान्सर पत्ता लगाउन सकिन्छ ।

गर्भावस्था, पिल्स सेवनताका, महीनावारीको मध्य अधिक योनीरस बग्नुलाई सामान्य नै मान्नुपर्छ । पाठेघरको मुखमा कुनै समस्या भएर योनीस्राव बढेको हो भने सामान्य शल्यक्रियाजन्य उपचार आवश्यक हुन्छ । झ्जिो लाग्ने गरी योनीस्राव बढ्नुको कारण पिल्स सेवन हो भन्ने पत्ता लागे खान बन्द गर्नुपर्छ । यौनाङ्गको नियमित सरसफाइ सबभन्दा महत्वपूर्ण हुन्छ ।

कुनै कारणले शरीरमा ईस्ट्रोजेन हर्मोनको उत्पादन वृद्धि भयो भने योनीद्वारको बाह्य सतह र पाठेघरको मुखको ग्रन्थीमा योनीस्रावको बहाव बढाउँछ । यौवनावस्था, महीनावारीको मध्यतिर (डिम्ब निस्किने बेला) र महीनावारी अगाडि अधिक योनीरस उत्पादन हुनु चाहिं अस्वाभाविक होइन । त्यसको कारण जननेन्द्रियमा रगतको बहाव बढ्नु पनि हो । त्यस्तै, यौनजन्य फिल्म, यौन सम्बन्धी सोचलगायतका कारणले हुने यौन उत्तेजनाको बेला योनीद्वारको दुवैतिर बार्थोलिन ग्रन्थीबाट अधिक मात्रामा ग्रन्थीरस उत्पादन हुन्छ । गर्भावस्थामा हुने अधिक ईस्ट्रोजेन हर्मोन उत्पादनले पनि योनीस्राव बढाउँछ ।

यौनाङ्गमा कुनै संक्रमण हुँदा योनीस्राव बढ्ने, रङ फेरिने, गन्हाउने, योनीद्वार चिलाउने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने जस्ता लक्षण चिह्नहरू देखा पर्छन् । विना संक्रमण कहिलेकाहीं स्वाभाविक उत्पादन भई योनीस्राव असामान्य हुनसक्ने कुरा माथि उल्लेख गरिसकियो । त्यसबाहेक पाठेघरको मुख वा योनीद्वारमा संक्रमण भएको, पाठेघरको मुखको वा योनीद्वारको भित्तामा ट्युमर (क्यान्सर) पलाएको वा योनीद्वारमा कुनै प्रकारको बाह्य वस्तु अड्केको अवस्थामा पनि असामान्य प्रकारको योनीस्राव बग्छ ।

पाठेघरको मुखको वा योनीद्वारको भित्ताको ट्युमर भएको अवस्थामा रगत मिसिएको गन्हाउने योनीस्राव बग्छ । यसका साथै कडा एन्टिबायोटिक्स औषधि सेवन, मधुमेह, एचआईभी/एड्स जस्ता मानव शरीरको प्रतिरक्षा प्रणाली कमजोर हुने अवस्थामा पनि योनीस्राव असामान्य हुन्छ ।

अस्पतालको स्त्री रोग विभागमा आउने महिलामध्ये करीब १० प्रतिशतमा असामान्य योनीस्राव सँगै यौनाङ्ग चिलाउने समस्या देखिने गरेको छ । त्यसको कारण चाहिं शरीरमा हिस्टामिन नामक रसायनिक पदार्थको अधिक उत्पादन वा ट्राइकोमोनास र क्यान्डिडा जीवाणुको संक्रमण हो । त्यसको अलावा सोरियासिस, इन्टरट्राइगो, लुतो र डर्मेटाइटिस जस्ता छालाको समस्या, वरिपरि संक्रमण, सुजन, नाइलनबाट बनेका भित्री लुगा (प्यान्टी) लगाउँदा पनि यौनाङ्ग चिलाउने समस्या आउँछ । लामो समय दराजमा थन्क्याइएका भित्री लुगा एकपटक नधोई वा घाममा नसुकाई लगाउँदा फङ्गस, भाइरस, जुम्रा, चुर्ना, भिरिङ्गी, एलर्जीलगायतका कारणबाट पनि यौनाङ्ग वरिपरि चिलाउने हुन सक्छ ।

यी सामान्य कारणहरू नियमित सरसफाइबाट निर्मूल हुने लागे पनि कहिलेकाहीं मधुमेह, थाइरोइड, मनोरोग, भिटामिनको कमी, कुपोषण र क्यान्सरको पूर्व लक्षणको रूपमा पनि चिलाएको हुनसक्ने हुनाले बढी सजगता अपनाउनु वा यौनाङ्गको आन्तरिक परीक्षण गराउनु बुद्धिमानी हुन्छ । परीक्षणमा क्यान्डिडा, धातुमेह, क्लामाईडिया, ट्राइकोमोनासको संक्रमण भएको पत्ता लागे महिलाको पति वा पार्टनरलाई पनि उपचार गर्नुपर्छ । कारकतत्व अनुसार औषधोपचार हुन्छ । त्यसक्रममा विभिन्न एन्टिमाइक्रोबियल, प्रतिजैविक औषधिको प्रयोग गर्नुपर्ने हुन्छ । धातुमेह, क्लामाईडिया र ट्राइकोमोनास संक्रमणमा बहुऔषधि चाहिन सक्छ ।

क्यान्डिडा वा मोनिलियासिस (फङगाई) को संक्रमणमा दही जस्तो सेतो छोक्राछोक्रा र ब्याक्टेरियल भजाइनोसिसमा कुहिएको मासु जस्तो खैरो रंगको गन्हाउने योनीस्राव हुन्छ । त्यस्तै, ट्राइकोमोनास नामक परजीवीको संक्रमणमा हरियो वा पहेंलो योनीस्राव हुन्छ भने पाठेघरको मुखको सुजनमा पानी जस्तो पातलो योनीस्राव निस्कन्छ ।

धातुरोग, क्लामाईडियाका कारण भएको गम्भीर खालको अधिक योनीस्रावले निसन्तान हुने समस्या निम्त्याउन सक्छ । यी रोगबाट संक्रमित पुरुषमा लक्षण नदेखिन सक्छ, देखा परे पनि महिलाभन्दा फरक हुन्छ । महिलामा धातुमेह रोग लाग्दा योनीद्वारबाट पहेंलो वा हरियो योनीस्राव बग्ने, पिसाब पोल्ने, हल्का ज्वरो आउने, तल्लो पेट दुख्ने, यौनक्रियाका बेला पीडा हुने, रगत बग्ने हुन्छ भने पुरुष पार्टनरमा लिङ्गबाट धातु बग्ने, पिसाब पोल्ने, अण्डकोष दुख्ने हुन सक्छ । संक्रमित व्यक्तिसँग यौनसम्पर्क राखेको केही दिनपछि यस्तो लक्षण देखापर्छ ।

comments powered by Disqus

रमझम