२-८ वैशाख २०७५ | 15-21 April 2018

घरका औजार

Share:
  

दैनिक जीवनमा प्रयोगमा नआउने स–साना औजार घरमा नहुँदा कहिलेकाहीं नसोचेको दुःख पाइन्छ । सुन्दा सानो तर समस्या ठूला भइदिन्छन् । जसले समयको बर्बादीसँगै अनावश्यक तनावसमेत दिन्छ ।

ललितपुरका रमेश न्यौपानेलाई त्यस्तै भयो । कामको सिलसिलामा विदेश जाने क्रममा घरबाट निस्कनै लाग्दा उनलाई सूटकेशको पांग्रा फुस्किन लागेको थाहा भयो । मर्मतका लागि पेचकस नहुँदा हत्तपत्त छिमेकीको सूटकेशले काम चलाउनु प¥यो । “पेचकसको जोहो नहुँदा झण्डै प्लेन छुटेको” ६ महीनाअघिको घटना सम्झँदै उनी भन्छन् ।

राति परीक्षाको तयारी वा अरु जरुरी काम, घरभित्रकै समस्याले बत्ती अनायासै निभ्यो भने के गर्ने ? तर, टेस्टरसहितको पेचकस छ भने वायरिङमा कहाँसम्म बिजुली प्रवाह भइरहेको छ भन्ने थाहा हुन्छ । स्वीच बिग्रेको, तार छुटेको, चिम खुकुलो भएको जस्ता समस्या आफैं मर्मत गर्न सकिन्छ । तार, टेप र प्लायर पनि छ भने त अर्को कोठाको स्वीचमा तार जोडेर पनि तत्कालका लागि उन्मुक्ति मिल्छ ।

प्रेसर कुकरको सेफ्टी भल्भ बिग्रने वा बिंड फुस्कने साझा समस्या हो । प्रेसर कुकर किन्दा सामान्यतया एउटा अतिरिक्त सेफ्टी भल्भ पनि पाइन्छ । तर, बिग्रेको भल्भ फेर्न प्लायर वा रेञ्च नहुँदा मिस्त्रीकहाँ पुग्नुपर्छ । पैसा र समय खर्च हुन्छ ।

कहिलेकाहीं बाथरुमको चुकुल बिग्रेर, बन्द ढोका नखुलेर, चाबी हराएर पनि समस्या निम्तिन्छ । धारा चुहिने, फ्लश सिस्टम बिग्रिने समस्या पनि सामान्य नै हो । गिजरमा पनि घरीघरी पानी बन्द भइरहन्छ । यस्तो बेला तत्कालै मिस्त्री उपलब्ध नहुने पनि हुनसक्छ । हथौडा, पेचकस जस्ता औजार आफूसँगै छन् भने सामान्य मर्मत आफैंले गर्न सकिन्छ ।

बालबालिकाका सामान्य खेलौनादेखि थुप्रै सामान सामान्य मर्मत गर्न पनि विभिन्न साइजका पेचकस, रेञ्च, प्लायर, टेप, सानो हथौडा जस्ता औजार घरमा राखिराख्नु अत्यन्त जरुरी हुन्छ । होम ग्याजेट्स मर्मतका लागि त रिपेयरका साधनहरु भनी अनलाइन स्टोरमै किन्न पाइन्छ (हे. तस्वीर) ।

तर, कुनै बिग्रेमा तुरुन्तै खोलखाल भने गर्नुहुन्न । पहिले समस्या पहिल्याउनुपर्छ र आफैंले मर्मत गर्न सक्ने हो, होइन भनी विचार गर्नुपर्छ । पहिले कहिल्यै नगरेको खण्डमा भने होशियारी अपनाउनुपर्छ । खासगरी बिजुली सम्बन्धी काममा सतर्क हुनैपर्छ ।

घरेलु औजार खरीद गर्दा पनि सावधानी अपनाउनु पर्छ । एकातर्फ चेप्टो र अर्कोतर्फ क्रस भएको पेचकस किन्दा एउटैले दुई फरक ठाउँमा काम दिन्छ । धातुको भन्दा काठको बिंड भएका हथौडा चलाउन सहज हुन्छ । प्लाएर किन्दा ठूलो र सानो दुवै आकारका वस्तु अँठ्याउन सक्ने, तार काट्न समेत उपयोगी हुने खालको राम्रो हुन्छ । रेञ्च चाहिं सानो ठूलो पार्न सकिने, सबै आकारका नटबोल्टमा उपयोगी हुने छनोट गर्नुपर्छ ।

बजारमा यस्ता सबै खाले औजार भएको टूल सेट नै किन्न पनि पाइन्छ । सेट किन्दा आवश्यक भन्दा अनावश्यक सामान बढी छन् कि भनी जाँच्नुपर्छ । औजार सँगै धारामा लगाउने टेप, विद्युतीय तारमा चाहिने टेप र नाप्न प्रयोग हुने टेप पनि किन्नुपर्छ । र, यस्ता औजारहरु बालबालिकाको पहुँचभन्दा टाढै राख्नुपर्छ ।

comments powered by Disqus

रमझम