९-१५ वैशाख २०७५ | 22-28 April 2018

वास्तविकता यस्तो हो

Share:
  

हिमाल खबरपत्रिका को २—८ वैशाख अंकमा ‘तुलसीमेहर स्मारक महागुठीः भू—माफियाको पकडमा’ शीर्षकमा प्रकाशित समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । नेपाल चर्खा प्रचारक गान्धी—तुलसी स्मारक महागुठी (संस्था), महागुठी क्राफ्ट विथ कन्साइन्स (कम्पनी) तथा महागुठी नेपालका सम्बन्धमा प्रकाशित उक्त समाचारमा स्रोतको रूपमा उल्लेख गरिएको समाज कल्याण परिषद्को प्रतिवेदन स्वयंमा तथ्यमा आधारित नभएको हाम्रो धारणा छ । स्रोत नै गलत भएपछि समाचार पूर्वाग्रही देखिने नै भयो । वास्तवमा तथ्य यस्तो हो ः

१. महागुठी क्राफ्ट विथ कन्साइन्स मुनाफा वितरण नगर्ने कम्पनीको रूपमा ९ चैत २०६७ मा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको हो । सामाजिक उद्यममार्फत संस्थाका सामाजिक तथा कल्याणकारी उद्देश्यहरू हासिल गर्ने लक्ष्यका साथ उक्त कम्पनी दर्ता गरिएको हो । नेपाल चर्खा प्रचारक गान्धी—तुलसी स्मारक महागुठी कम्पनीका संस्थापकहरू मध्येको एक हो । कम्पनी ऐन, २०६३ अनुसार मुनाफा वितरण नगर्ने कम्पनी स्थापना गर्न कम्तीमा पाँच जना संस्थापकहरू आवश्यक पर्ने भएकोले संस्थाका पदाधिकारी तथा सदस्यहरू समेत रहेका र सामाजिक क्षेत्रमा कार्य गर्दै आएका व्यक्तित्वहरूलाई समेत संस्थापकहरूमा समेटी उक्त कम्पनी दर्ता भएको हो । कम्पनी ऐनको दफा १६७(१)(छ) मा भएको व्यवस्था अनुरूप कम्पनीको एक सदस्यको हैसियतमा संस्थाको पनि मताधिकार छ । कम्पनीको सञ्चालक समितिमा पनि संस्थाको प्रतिनिधि सञ्चालक हुने व्यवस्था छ ।

२. महागुठी क्राफ्ट विथ कन्साइन्स (महागुठी शप) परियोजना संस्थालाई आर्थिक टेवा दिने उद्देश्यले संस्थाकै कानूनी संरचनाभित्र संचालित एक परियोजना हो । यसले उद्यमशीलता विकास, रोजगारी सृजना तथा आर्थिक स्वावलम्बनका लागि काम गर्दै आएको थियो । जसमा संस्थाकै तत्कालीन उपाध्यक्ष, महासचिव, कोषाध्यक्षहरूको समेत प्रत्यक्ष संलग्नता थियो । परियोजनालाई सामाजिक उद्यमको रूपमा सञ्चालन गर्न र परियोजनामा कार्यरत कामदार कर्मचारीहरूको समेत आर्थिक हित तथा सुरक्षाको सुनिश्चितता गर्ने उद्देश्यले संस्थाको कार्य समितिले परियोजना सञ्चालन गर्न कम्पनी स्थापना गर्ने निर्णय गरेको थियो । तत्कालीन महासचिवको हैसियतमा उजुरीकर्ता महालक्ष्मी श्रेष्ठज्यू स्वयम्ले कार्य समितिको उक्त निर्णय प्रमाणित गर्नुभएको हो ।

३. महागुठी नेपाल (कम्पनी) कम्पनी ऐन, २०६३ अन्तर्गत ३० कात्तिक २०६३ मा दर्ता भएको हो । नेपाल चर्खा प्रचारक गान्धी–तुलसी स्मारक महागुठीअन्तर्गतको महागुठी क्राफ्ट विथ कन्साइन्स (महागुठी शप) परियोजनाबाट प्रत्यक्ष रूपमा निकासी गर्न नसकिने भएकोले परियोजनाका तत्कालीन पदाधिकारीहरूको सहमतिमा केही कर्मचारीहरूको सहभागितामा महागुठी नेपाल नामक नाफा वितरण नगर्ने कम्पनीको स्थापना गरी निर्यातका कार्यहरू गरिंदै आएको थियो । साथै उक्त कम्पनीले सम्पूर्ण कारोबारहरू विद्यमान कानूनी व्यवस्था अनुसार गर्दै आयबाट परियोजनालाई टेवा पु¥याउँदै आएको छ ।

४. संस्थाको नाममा सञ्चालन हुँदै आएको परियोजनाको विधिवत् विघटनपश्चात् परियोजनाका चल अचल सम्पत्ति, हिसाबकिताब र सम्पूर्ण कागजातहरू संस्थाका तत्कालीन महासचिव महालक्ष्मी श्रेष्ठज्यूले १ साउन २०६९ मा संस्थाका उपाध्यक्ष, अध्यक्ष, कोषाध्यक्षका रोहबरमा बुझ्बुझरथ गरी लिनुभएको हो । आफैंले बुझ्बुझरथ गरी लिएको सम्पत्ति तथा जायजेथाहरूलाई ‘लुटपाट गरी कब्जा गरिएको’ भनेर निवेदन दिने र सोही कुरालाई समाज कल्याण परिषद्ले आफ्नो प्रतिवेदनमा उल्लेख गर्नु निज श्रेष्ठले आफूले गरेका गल्तीलाई ढाकछोप गर्न समाज कल्याण परिषद् जस्तो संस्थालाई समेत गलत प्रभावमा पारेको र अरूको चरित्र हत्या गर्ने सुनियोजित चाल रहेको स्पष्ट हुन आउँछ ।

५. जहाँसम्म परिषद्को अनुसन्धान प्रतिवेदन तथा सोको कार्यान्वयन सम्बन्धी विषय छ, संस्था तथा कम्पनीका हकमा परिषद्को निर्णय कानूनी रूपमा अधिकारक्षेत्र बाहिरको, पूर्वाग्रही तथा प्राकृतिक न्यायको सिद्धान्तको विपरीत समेत भएकोले सो सम्बन्धमा १० साउन २०७२ मा नेपाल सरकारका तत्कालीन मुख्य सचिवसमक्ष छानबिनको लागि यस कम्पनीबाट निवेदन गरिएको थियो भने अन्य निकायहरूमा पनि पत्राचार गरी छानबिनको लागि अनुरोध गरिएको हो । तत्पश्चात् समाज कल्याण परिषद्ले ७ असोज २०७२ को पत्रमार्फत विभिन्न निकायहरूबाट प्राप्त पत्रको अध्ययन भइरहेको र उक्त विषयमा पछि जानकारी गराउने जनाउँदै पत्राचार समेत गरेको थियो । ६.केही व्यक्ति तथा समूह हाम्रो संस्था, कम्पनी तथा यहाँ संलग्न व्यक्तिहरूको चरित्रहत्या गर्ने नियोजित उद्देश्यले भ्रामक सूचना र प्रोपोगान्डा फैलाइरहेका छन् । यस्तो प्रवृत्तिबाट सचेत रहन सबैमा आग्रह गर्दछु ।

सुनिल चित्रकार

प्रमुख कार्यकारी अधिकृत

महागुठी क्राफ्ट विथ कन्साइन्स

comments powered by Disqus

रमझम