१६-२२ वैशाख २०७५ | 29 Apr- 5 May 2018

उदाहरणीय सहकारी

Share:
  
- तुलसी गौतम
आफ्नै ब्राण्डमा दूध बेच्न पूर्वाधार निर्माण गरिसकेको साना किसान कृषि सहकारी संस्था, महदैया रूपन्देहीलाई खुला दूध बेच्न नै भ्याईनभ्याई छ।

तस्वीरहरुः तुलसी गौतम
वार्षिक करीब सात लाख लीटर दूध उत्पादन गरिरहेको साना किसान कृषि सहकारी संस्था, महदैया रूपन्देहीले आफ्नै ब्राण्डमा पोका दूध बिक्रीका लागि पूर्वाधार निर्माण गरे पनि बजारमा अत्यधिक मागका कारण खुला दूध नै बिक्री गरिरहेको छ । संस्थाले किसानहरूलाई सहुलियत दरमा ऋण दिनुका साथै कृषि र पशुपालनमा विभिन्न अनुदान र विद्यार्थीको शिक्षामा समेत सहयोग गरिरहेको छ ।

बुटवल उपमहानगरपालिका–१५, सेमलारको महदैयामा २०४० सालमा कृषि विकास ब्यांकअन्तर्गत सञ्चालित साना किसान विकास आयोजनाले ७८ समूहमा आवद्ध ५१३ किसानलाई सामूहिक रूपमा व्यावसायिक काम गर्न सिकायो । यी किसानहरूलाई समेटेर २०५८ सालमा सहकारी स्थापना गरियो । सहकारी गठन हुँदा ५१३ सदस्यको शेयर रकम रु.३४ हजार ५०० रहेकोमा आयोजनाले स्वामित्व हस्तान्तरण गर्दा उसको लगानी रकम रु.५३ लाख ३० हजार थपियो । अहिले यो पूँजी बढेर रु.३ करोड पुगेको छ भने शेयर सदस्य संख्या २,५५० छ ।

बढ्दो कारोबार

वर्षेनि कारोबार बढ्दै जाँदा चैत २०७४ सम्म सहकारीको कारोबार रु.५५ करोड ११ लाख पुगेको छ । सदस्य किसानहरूले व्यावसायिक रूपमा गाईभैंसी पालन गर्न थालेपछि सहकारी आफैंले दूध संकलन गरी बेच्ने योजना बनायो । २०७१ सालमा २०० किसानबाट संकलित दूध भण्डारण गर्ने, चिस्याउने र पूर्वाधार निर्माणका लागि कृषि विकास मन्त्रालयको व्यावसायिक कृषि तथा व्यापार आयोजनाले सहयोग गर्‍यो । पत्रिकामा प्रकाशित सूचना अनुसार प्रतिस्पर्धी प्रस्ताव पेश गरी अनुदान पाउन सकिएको दूध संकलन केन्द्रका संयोजक एवं सहकारीका उपाध्यक्ष गोपाल पौडेल बताउँछन् ।

कुल रु.९३ लाख ३० हजार लागतको परियोजनामा सरकारी अनुदान रु.३९ लाख ८७ हजार एवं सहकारीको आफ्नै लगानी रु.५३ लाख ४३ हजार ५०० छ । परियोजनाका हाल दुग्ध प्रशोधन भवन, चार ठाउँमा संकलन केन्द्रहरू छन् । अहिले दैनिक करीब दुई हजार लीटर दूध संकलन र ६०० किसान प्रत्यक्ष लाभान्वित भएको उपाध्यक्ष पौडेल बताउँछन् ।

शुरूमा सहकारीको दूध दुग्ध विकास संस्थानलाई बिक्री गरिएकोमा अहिले स्थानीय डेरीहरूबाट बढ्दो मागका कारण सहकारीले संकलित दूधमध्ये ५० प्रतिशत दुग्ध विकास संस्थानलाई र बाँकी ५० प्रतिशत दूध स्थानीय पर्वत डेरी, नरेश्वर डेरी, एस.के. डेरीलगायतलाई लिखित सम्झैता गरी बिक्री गरिरहेको छ ।

सहज ऋण र सहयोग

सहकारीले पशुपालनमा रु.९ करोड र कृषिमा रु.१२ करोड लगानी गरेको छ । एकजना किसानलाई पशुपालन या कृषिका लागि रु.१५ लाखसम्म ऋण दिइन्छ । ऋणको भाखा बढीमा तीन वर्ष र व्याजदर उद्देश्य हेरी ९ देखि १५.५ प्रतिशतसम्म छ ।

दूध उत्पादनका लागि गाईभैंसी खरीद गर्नेले ९ प्रतिशत व्याजदरमा ऋण पाउँछ तर पशु बीमा अनिवार्य छ । तरकारी खेतीका लागि यही दरमा ऋण लिन ५ कट्ठा भन्दा बढी जग्गामा खेती गरेको हुनुपर्छ । अन्य कृषि कार्यमा साढे १३ प्रतिशत व्याज लाग्छ भने विवाह, ब्रतबन्ध जस्ता सामाजिक कार्यमा ऋण लिनेका लागि व्याजदर १५.५ प्रतिशत छ ।

सहकारीले शेयर सदस्यहरूलाई घाँसको बीउमा ५० प्रतिशत अनुदान, पशुलाई निःशुल्क खोप र कृषि तथा पशुपालन सम्बन्धी तालिम पनि उपलब्ध गराउन थालेको छ । पाँच कट्ठा भन्दा बढी जग्गामा तरकारी खेती गर्ने शेयर सदस्यले मल र बीउमा संस्थाबाटै अनुदान पाउन थालेका छन् भने संस्थाकै पहलमा केही विद्यार्थीलाई अध्ययनका लागि इजरायल पठाइएको छ ।

दूधको गुणस्तर कायम राख्न पशुको थुनदेखि भण्डारणसम्मको सरसफाइमा विशेष ध्यान दिइएको, आवश्यक प्राविधिक प्रक्रिया पालन गरिएकोले दूधको माग दिनदिनै बढिरहेको पौडेल बताउँछन् ।

संस्थाका सदस्य किसानलाई कृषि र पशुपालन व्यवसायमा प्रोत्साहित गर्दै उनीहरूको उत्पादनको बजार सुनिश्चितता समेत गरेको साना किसान कृषि सहकारी उदाहरणीय संस्था बनेको छ ।

comments powered by Disqus

रमझम