आप्रवासन आधुनिक मानवको नियति बन्दै गइरहेको छ । गाउँबाट शहर होस् वा स्वदेशबाट विदेश, भाग्य र भविष्य अजमाउन मानिस यात्रा गरिरहेको छ । यी मानिसका अनेक चित्र, चरित्र छन् । भित्रभित्रै खोक्रो किन नहोस्, उसलाई आडम्बर देखाउनुपर्छ । र, मानिसको त्यो आडम्बर र खोक्रोपन प्रदर्शित हुने सबैभन्दा गतिलो ठाउँ भनेकै ब्यांक्वेट हुन् । ब्यांक्वेटमा आयोजित पार्टी÷भोज भतेर हुन् ।
शहरको चर्चित ब्यांक्वेट क्लब सेभेन मा तीन अलग पात्रले अलग अलग कार्यक्रम आयोजना गर्छन् । तीमध्ये एक हुन्, ‘मिस गोमा’ । मिस गोमाको ढोंगी व्यक्तित्व, अंग्रेजी भाषाको प्रधानता र निम्तालुहरूले उनको विगत र वर्तमान बारे गरेका टिप्पणीहरूले दर्शकको ध्यान खिचिरहन्छ । मिस गोमाका आधा निम्तालु त उनको ‘बर्थ डे’ भन्दै आइपुग्छन्, बाँकी भने उनको छोरीको । बिहे नभएकी गोमाले आफ्नो ‘पप्पी’ अर्थात् कुकुरको बच्चाको बर्थ डे आयोजना गरेको रहस्य खुल्दा दर्शक हाँसो थाम्न सक्दैनन् ।
विदेशबाट आएको बरुणले आफ्नो घरपूजा समेत ब्यांक्वेटमै गराइरहेको छ । तर, पछि थाहा हुन्छ, उसले त घडेरी समेत किनेको हुँदैन । पार्टीमा उसकी विदेशी श्रीमतीलाई पूर्व नेपाली गर्लफ्रेण्डले गरेको व्यवहारले मानवीय सम्बन्धका बहु पाटा रहस्योद्घाटन गरिदिन्छ ।
तेस्रो पार्टी आइटी कम्पनीका म्यानेजर ईश्वरप्रसादको हुन्छ । एउटा कविको सम्मानमा आयोजना गरिएको पार्टीमा मन्त्री अतिथि हुन्छन् । सम्मान, सम्मानित र सहभागीको व्यवहारले कार्यक्रमले बेग्लै मोड लिन्छ । तीनवटै पार्टीका आयोजकहरूले क्लब सेभेन का म्यानेजरलाई पूरै पैसा भने तिर्दैनन् । तलब नपाएर कामदार हडतालमा उत्रन्छन् । शहरको अर्थतन्त्र कसरी जुगाडको भरमा चलेको छ भन्ने कुरा नाटकले कटाक्ष गरेको छ ।
नाटकको ‘क्लाइमेक्स’ झनै रोचक र विचित्रको छ । सेलिब्रेटीसँग फोटो खिच्ने, सेल्फी खिच्ने होड छ । सम्मानित कविको सर्ट, कोट र टाइ उतारेर निम्तालुले उसको शरीरमै लेख्न थाल्छन् । विचरा कवि ट्वाल्ल पर्छ । सम्मानित हुनेसँगै पैसा उठाएर सम्मान गर्ने परम्पराको असंगतिलाई नाटकमा सूक्ष्म शैलीमा चित्रण गरिएको छ । नाटकका नारी पात्रहरू आधुनिक परिधानमा छन् तर उनीहरूको समझ पुरातन छ । नाटक अवधिभर दर्शकले आफू, आफूले चिनेका, जानेका र भेटेका सामाजिक पात्रहरूलाई मञ्चमा एकाकार भएको पाउँछ ।
दुई दर्जन बढी पात्रलाई स्टेजमा एकैपटक उतार्नु, ती सबैलाई मौलिक कलेवर दिनुले निर्देशकीय परखको तारिफ गर्न कर लाग्छ । प्रशिक्षार्थी भइकन पनि सबै कलाकारले उम्दा अभिनय गरेका छन् । ‘इम्प्रोभाइज्ड’ भइकन पनि निर्देशकद्वय दयाहाङ राई र राजन खतिवडाले नाटकलाई स्तरीय, पृथक् र मौलिक उँचाइ दिन सफल भएका छन् । रंगमञ्चमा देखिरहेका कलाकारहरूको ‘स्टेरियोटाइप’ भूमिका हेरिरहेकाहरूलाई ‘क्लब सेभेन’ फरक स्वादको भोजन हो । त्यस मानेमा दर्शकले समयको सही सदुपयोग भएको महसूस गर्न सक्छन् ।
एउटा नाटकको सार्थकता शायद समाजको असंगतिलाई मञ्चमा उतारेर दर्शकलाई भरपुर मनोरञ्जन दिनुमा हुन्छ । यसरी हेर्ने हो भने, क्लब सेभेन सफल रचनाका रुपमा दर्ज भएको छ, जसलाई २९ वैशाखसम्म हेर्न सकिनेछ ।
शंकर तिवारी