१६-२२ वैशाख २०७५ | 29 Apr- 5 May 2018

काठमाडौंको सम्मोहन

Share:
  

डुक्साङ्ग शेर्पा
मौरा मोयनिहान पहिलो पटक सन् १९७३ मा काठमाडौं आएकी थिइन्, त्यसबेला उनका बुवा ड्यानियल प्याट्रिक मोयनिहान भारतका लागि अमेरिकी राजदूत थिए । “म त्यतिबेला १५ वर्षकी मात्र थिएँ, काठमाडौंले मलाई गज्जबको झट्का दिएको थियो”, उनी सम्झिन्छिन् ।

पहिलो भेटमै काठमाडौंसँग मौराको माया बस्यो । यहाँको कला र सांस्कृतिक सम्पदासँग आत्मीयता झाङ्गिदै गयो । “यस्तो ठाउँ संसारमा अन्यत्र कतै छैन” उनी भन्छिन्, “काठमाडौंको सुन्दरता वर्णन गर्नै सकिंदैन । प्रत्येक दिन नयाँ मन्दिर, रहस्यमय स्तूप र अर्को जात्रा भेटिन्छ ।”

मौराको कला प्रदर्शनी ‘हु लभ्स् काठमाडौं मोर द्यान मी ?’ यतिबेला लाजिम्पाटस्थित काठमाडौं आर्ट ग्यालरीमा प्रदर्शन भइरहेको छ । २२ वैशाखसम्म चल्ने प्रदर्शनीमा ४० वटा चित्रकला राखिएका छन् । जसमध्ये एउटा मसी, कोलाज र पानीरंगको मिश्रण भएको राजा वीरेन्द्र र रानी ऐश्वर्यको मध्यम आकारको पेन्टिङ पनि छ ।

काठमाडौंमा मौराको पहिलो कला प्रदर्शनी सन् १९९९ मा संगीता थापाको सिद्धार्थ आर्ट ग्यालरीमा भएको थियो, अहिले उनकी छोरी शिताष्मासँग काठमाडौं आर्ट ग्यालरीमा काम गर्न पाउँदा रोमाञ्चित अनुभव भइरहेको उनी बताउँछिन् ।

बुवासँगै भारतमा रहँदा मौराले नयाँदिल्लीस्थित अमेरिकन स्कूलमा अध्ययन गरिन्, त्यसपछिका धेरै वर्ष एशियाका विभिन्न देशमा पत्रकारका रुपमा काम गरिन् । दुई वटा ‘बेस्ट सेलिङ’ आख्यान योगा होटेल र कभर गर्ल लेखिन्, जसका धेरै भाग लेख्दा उनी नेपालमै थिइन् । यस बाहेक उनी गीतकार, गायक, मोडल, अभिनेत्री, डिजाइनरका रुपमा समेत चिनिइन् ।

विख्यात अमेरिकी कलाकार एण्डी वारहलको इन्टरभ्यू म्यागेजिनमा कभर स्टोरी छापिंदा मौरा २३ वर्षकी थिइन्, त्यसपछिको पाँच वर्ष उनीहरूले सँगै काम गरे । “एण्डीले नै मेरो प्रतिभा र सृजनात्मकता विकास गर्न प्रोत्साहित गरेका हुन् । उनी सज्जन र उदार चेतले भरिएका थिए”, उनी भन्छिन् ।

प्रत्येक पटक काठमाडौं आउँदा मौरा बौद्ध, पशुपतिनाथ र स्वयम्भूनाथ पुग्छिन् । यी प्राचीन पवित्रस्थलसँग जोडिएको इतिहास, पौराणिक कथा, कला, संस्कृति र परम्पराले सधैं आध्यात्मिक चेतनाको विकास गराएको उनको अनुभव छ । “मभित्रको कलाकारलाई काठमाडौंले सधैं पोषित गरेको छ” उनी भन्छिन्, “नेपालमा कला केवल सजाउनमा सीमित छैन, यो त संस्कृति र जीवनशैलीको अभिन्न अंग हो । प्रत्येक कला आफैंमा तपस्या हो ।”

धर्म र साहित्यकी विद्यार्थी मौराले धेरै वर्ष हिन्दू र बौद्ध प्रतिमाको अध्ययनमा बिताइन् । न्यूयोर्कस्थित रुबिन म्यूजियम अफ आर्टमा परामर्शदाताका रुपमा पनि काम गरिन् ।

नयाँ पुस्ताका शिक्षित नेपाली, विशेषगरी महिलाबाट मौरा प्रभावित छिन् । “नेपालको भविष्य बारे धेरै मानिस निराश हुने गर्थे, तर हेर्नुस् त यहाँको संस्कृति, परम्परा र सुन्दरताको संरक्षण भएको । नेपालीहरू ‘रेजिलियन्ट’ छन्, द्वन्द्व र भुइँचालो जस्ता परिस्थितिमा विचलित भएनन् ।”

पछिल्ला तीन दशकमा एशियाको यात्रा गर्दा मौराले रङ, ब्रस, पेन्सिल र कागज कहिल्यै छुटाइनन् । छिटै सुक्ने भएकाले उनी वाटर कलरमा चित्र बनाउन रुचाउँछिन् ।

“नेपालको समृद्ध र विविधतापूर्ण संस्कृतिमा हिन्दू मिथक र बौद्ध दर्शनका बीज भेटिन्छन्, कलाकारका लागि यो एउटा उत्सव, चुनौती र खोज हो” मौरा भन्छिन्, “मेरो मुटुमा एउटा चुम्बक छ जसले मलाई नेपालतिर तानिरहन्छ ।”

डुक्साङ्ग शेर्पा

comments powered by Disqus

रमझम