पूर्वको पशुपति भनेर प्रसिद्ध आदिकालको गुफामा रहेको प्राकृतिक मूर्तिलाई पौराणिक कालको भस्मासुरको कथासँग जोडेर अहिले हरेश्वर–हलेश्वर र हलेसी महादेव भनिन्छ । भारतबाट नेपालहुँदै भोट गएका बौद्ध तान्त्रिक सिद्ध पद्मसम्भव यही हलेसी गुफामा बसेको विश्वासमा बौद्धहरू पनि हलेसीलाई तीर्थस्थल मान्छन् ।
सनातनी शैवहरूले अघिदेखि महादेव भनेरै यहाँ दैनिक पूजा चलाउँदै आएका छन् । शैव पुजारीमा प्रायः सन्न्यासीहरू हुने हुँदा यहाँका पुजारी पनि गिरी, पुरी, सन्न्यासी नै हुन्थे । यी महन्त पुजारीहरूलाई सेन राजाले दिएका भूमिजग्गाका स्याहामोहरहरू प्रशस्त पाइन्छन् । चतरा मठका गुठी जग्गाका र हलेसी गुठी जग्गाका केही स्याहामोहर पहिल्यै हिमाल मा छापिइसकेका छन् । अहिले भोजपुरका ट्याम्के र सेल्मे उच्च पहाडका आग्नेय (पूर्व–दक्षिण) तिर र नैऋत्य (पश्चिम–दक्षिण) तिर बगेका खोला, डाँडापाखामा रहेका सिद्धथान, देवीथान, महादेव थानहरू उल्लेख गरेर तिनका नित्यनैमित्य पूजाका लागि राखेका गुठी जग्गाका प्राप्त दुई पत्र, जो भोजपुरमा छापिएका हुन्– यहाँ प्रस्तुत गरिएको छ ।
ट्याम्केको फेदबाट पूर्व पसारिएको डाँडामा भोरनागी देवी, पूर्व बगेको सिक्तेल खोला दक्षिणको कालीडाँडाको उत्तर पाखामा पखुवा देवी छन् । दैनिक बलि दिइने यी दुवै देवीथानमा राई पुजारी छन् । सेल्मेबाट दक्षिण डाँडाको पामाखाम भञ्ज्याङबाट पूर्व बगेको बेहेरे खोलाकै तीरमा बेहेरेश्वर महादेव थान छ । बडेमाको ठूलो ढुंगालाई महादेव मूर्ति मानिने यहाँको बारेमा रमाइलो दन्त्यकथा छ । बेहेरे खोलाको शिरदेखि दक्षिणपट्टि मानिस पुग्न नसकिने अपट्टे भीर छ । जहाँ, वारिबाट हेर्दा जन्ती हिंडेका, बोकेको डोलीमा झपन हालेको चित्र देखिन्छ– जसलाई गोल्मा राजा गोल्मा रानीको बिहेसँग जोडेर कथा कहिन्छ । पहराको वरिपरिको रानीवनमा अघिअघि गौरी गाईहरू चर्थे पनि भनिन्छ । भोजपुर सदरमुकामको सिद्धकाली र पहिलेको छोटी अड्डा खोटाङको सिद्धकालीमा जस्तै बेहेरेश्वर महादेवमा गोल्मा देवीको पनि दैनिक पूजाका लागि गुठी खेत राखेर पुजारी बाहुनलाई दिइएको छ ।
पूर्वका तीर्थमै पर्छ, पञ्चकोशी र अरुण–तमोरको सङ्गम त्रिवेणीदेखि उत्तर पाखामा अवस्थित जालपादेवी थान । यसको गुठी हजार मुरी धान फल्ने खेत तल टारमा छ । नित्य पूजा हुने यहाँ भाकल गर्नेहरूको धुइरो लाग्छ । त्रिवेणी दक्षिण माथि डाँडामा मैना राजा मैना रानीको थान छ । शिवपार्वती थान हो, यो । माझ्किरातका राईहरूको पुख्र्यौली थलो– बराह क्षेत्रको ठीक पश्चिम महाकोशी पारि डाँडामा पर्ने जालपादेवी र मैनाथानमा राई नै पुजारी छन् । पूजा खर्च चतराबाट आउँछ । प्राचीनतम महादेवथान मानिने मैनाथानका राई पुजारी आफूलाई ऋषिकुलीन ब्राह्मण मान्छन् ।
हिमवत्खण्डमा समेत उल्लेख यस थानका बारेमा महाकवि कालिदासले पनि वर्णन गरेका छन् । यसैका आधारमा बी.पी. कोइरालाले सुम्निमा लेखेका हुन् । सबै बाहुन–क्षत्री लगायत पूर्वेलीहरू सधैं धूप हाल्दा साल्पा राजा साल्पा रानी, गोल्मा राजा गोल्मा रानी, मैना राजा मैना रानी भनी पुकारा गर्छन् ।
बेहेरेश्वर र गोल्मा देवीको गुठीको अधिकार वसुदेव उपाध्यायबाट झिकी हरिकृष्ण अधिकारीका नाममा गरिदिएको लालमोहर (वि. सं. १९०४)
१) स्वस्ति श्रीमन्महाराजाधिराजस्य रुक्का–
आगे हरिकृश्न अधिकारिके सिक्तेलका अम्बलमध्ये श्रीबिहारेश्वरमहादेव पूजा निमित्य अधिदेखि रह्याको आरुबोट्या खेत मुरी २० दे खाल्या खेत मुरी ४० का पैदावारले अघिदेखि चलिआयाबमोजिम श्रीगोलमादेवीको र श्रीविहारेश्वरमहादेवको नित्य नैमित्यका पूजा चलाउनु भनि वसुदेव पाध्याका नाउमा भयाको मोहर हानि तिम्रा नाउमा गुठीको मोहर गरिबक्स्यौ, आफ्ना खातिरज्मासँग अघिदेखि चलिआयाबमोजिम नित्य नैमित्यिक पूजा चलाई हाम्रो जय मनाई सेष रह्याको लि भोग्य गर, इति सम्वत् १९०४ साल मिति माघशुदि ५ रोज ५ शुभम् (पीठमा) मार्पmत्–चतुर्भुजदत्त अज्र्याल÷रुजु जयबहादुर कुवर
खोटाङ खुटेश्वर र कालिका गुठी जग्गामा रकम नलाग्ने भन्ने पत्र
(श्री ३ रणोद्दीपसिंहको छाप)
२) गुठीकहचरीका हाकिम कारीदांहरूले पुर्जि हेरी माझ्किरात खोटां बस्न्यां देवीभक्त पाध्या खोटांको श्रीकालिका गैंञा सिद्ध खुटेश्वरका नित्तेनैमित्ये पूजालाई राम्रुम्टिसमेत् खला ४ को ज्मा खेत १।२० र फुलबारी झरु बढारु बस्न्या कुवापानी घडेरी गुठ गरी हाम्रा बाज्या बाबाका जिम्मा सनद गरी बक्सी पूजा चढाई आयामा डिठ्ठां गंजसिंमार्फत ७४ सालमा नगरा चढाउदा खोटांगको सिह्रान् भांमतिको पुछार बाझ्ी मुरी २० बीह्राई नगार्चिलाई दिनु भनया मेरा बाबा देवदत्तका नाउमा मोहर गरी बक्स्याबमोजिम नगरा चलाई श्रीखुटेश्वरको देवालय बनाई नीत्ते नैमित्येको पुजा चलाई आयाका थिञ्यूँ ४ सालमा देवालय खेत खोलाले लैजादा आफ्ना घरबाट धुप अक्षता लगि पुजा चलायाका थिञ्युँ सो खोलो फर्कि बगर बस्याको खेत ६०।७० मुरीसम्म बीह्राई गुठी कचहरिमार्फत राजगुठी सो बिह्रौटोका आमदानीले नीत्ते पुजा चलाई सेख कसरात श्री ५ सरकार बुझउनु भन्ने भै सेख बुझउनुपर्दा बगेको देवालय बन्न सकेको छैन, पर्वपर्वमा मेला भर्न आउन्या जात्रु आउँदैछन् देवालय नहुदा बेसोभा भयाको छ, गुठजग्गालाई लाग्याको सालबसालको कसरात् रु. १२ माफ गरी बक्स्या मेरा घरको खर्च लगाई यसै सालमा देवालय बनाई सर्कारको जय मनाई पुजा चलाउदा हुँ भन्या रपोट माझ्किरात खोटां बस्न्या देवीभक्त पाध्या बोझले हाम्रा हजुरमा चह्राई बींति पार्दा जाहेर भयो, तसअर्थ श्रीकालिका गैञाँ सीद्ध खुटेश्वरका गुठिमा कसर लाग्याको छ, देवालय पनि खोलाले त्यो लग्यो कस्सर ठेगको रु १२ लाग्याको माफिको सनद गरीबक्स्या भत्क्याको पाटि देवालय बनाउँदा हुँ भनी बींति गर्याको हुनाले बेहोरा यही रहेछ भन्या उनले देवालय पाटि बनाइ साबुद राखु ज्याल (स)म्म अघि भयाका लालमोहरबमोजिम कसर नलाउनु भन्या जो चाहिन्या बेहोराको निजका नाउमा सनदै गरिदिन्या काम गर, इति संवत् १९३६ साल मिति मार्ग वदि ४ रोज ६ शुभम्
(यी दुई पत्र गुठी तहसिल कार्यालयबाट प्राप्त भएका हुन् ।)