२३-२९ वैशाख २०७५ | 6-12 May 2018

दुर्गमको आर्जन

Share:
  
बाटो, बिजुली र पानीको समस्याबाट पिरोलिएका उत्तारी मोरङको वाराङ्गी र सिंहदेवीमा गरीबी निवारण कोषको अनुदान राहत बनेको छ।

मोरङको लेटाङ नगरपालिका–७ वाराङ्गीमा अहिलेसम्म बिजुली पुगेकै छैन । पहाडी क्षेत्र भएकाले धान पनि कमै फल्छ । भर्खरै बनिरहेको कच्ची बाटोमा गाडी चल्न गाह्रो भएकाले स्थानीयवासी पाँच घण्टा उकालोओरालो गर्दै वडा कार्यालयसम्म पुग्छन् ।

बाटो र बत्ती नभए पनि वाराङ्गीवासीको मुहार अँध्यारो छैन । यहाँका ४१५ परिवार कृषि र पशुपालनबाट आत्मनिर्भर बन्न थालेका छन् । गरीबी निवारण कोषको रु.५० लाख ७३ हजार र स्थानीयको रु.५ लाख ३० हजारको लगानीमा किसानले बाख्रा, भेडा, बंगुरपालन, तरकारी, अदुवा, अलैंची, अम्रिसो खेतीका साथै किराना पसलसमेत सञ्चालन गरेका छन् ।

कोषको रकम स्थानीय सामुदायिक प्रयास नेपाल संस्थामार्फत गाउँका समितिहरूमा पुग्ने र समितिले नै १ प्रतिशत ब्याजदरमा आफ्ना सदस्यहरूलाई ऋण लगानी गर्ने प्रावधान छ । परिवार संख्याका आधारमा प्रति घरधुरी रु.२० हजारसम्म ऋण लिने सुविधा छ ।

तस्वीरहरूः कमल रिमाल
वाराङ्गीका बाख्रा पालक किसान केशरबहादुर खड्का ।

लेटाङ–२ असारेडाँडाका कान्छाबहादुर लिम्बूले संस्थाबाट रु.१५ हजार ५०० ऋणमा आफ्नो रु.१० हजार थपेर पाँच वटा बाख्रा र एउटा बंगुर किने । बंगुरका ९ वटा पाठापाठी बेचेर रु.३५ हजार कमाए ।

मंगलबारेकी सोममाया लावतीले पनि रु.२० हजार ऋण लिएर बंगुरका तीन वटा माउ र दुई वटा पाठा खरीद गरिन् । “दुई वर्षमा २५ वटा पाठापाठी बेचिसकें” लावतीले भनिन्, “जम्माजम्मी रु.५० हजार नाफा कमाएँ ।”

कोषको रकम परिचालनको जिम्मेवारी पाएको सामुदायिक प्रयास नेपालका कार्यकारी निर्देशक बालकृष्ण पाण्डे पहाडी विकट क्षेत्र साविक सिंहदेवी र वाराङ्गी गाविसमा ३० वटा संस्थामार्फत रु.१ करोड ४ लाख लगानी भइसकेको छ ।

साहू खोज्नुपर्दैन

केराबारी गाउँपालिका–२ सिंहदेवीस्थित दर्शन सामुदायिक संस्थाका अध्यक्ष खड्गबहादुर ठकुरी मासिक ५ प्रतिशत ब्याजदरमा ऋण लगानी गरेर त्यसैलाई पेशा बनाएका स्थानीय साहूहरू सहकारीमा पैसा जम्मा गर्न थालेको बताउँछन् । “कतिले त पहिले पहिले बाहिरको पैसामा ‘जे पायो त्यही नगर्नु’ भन्दै धम्की पनि दिए”, उनी भन्छन् । केराबारी–२ का वडाध्यक्ष प्रेमबहादुर लिम्बू पनि चर्को ब्याजबाट स्थानीयले राहत पाएको बताउँछन् ।

धनकुटाको पाख्रिबासबाट अकबरे खुर्सानीको बेर्ना रु.५ प्रति गोटा खरीद गरी ल्याएर स्थानीय किसानलाई सहुलियत दर रु.१ मा वितरण गर्दै सिंहदेवी बिहीबारे सामुदायिक संस्थाका प्रतिनिधि । 

सिंहदेवीका विभिन्न गाउँमा १५ वटा सामुदायिक संस्थामार्फत कोषको रु.५३ लाख ५१ हजार पाएर ४४४ परिवार लाभान्वित छन् । संस्थामार्फत उनीहरूले मासिक रु.५० देखि रु.१०० सम्म बचत गर्न पनि थालेका छन् ।

संस्थाहरूको संजालका संयोजक तथा केराबारी–२ का वडा सदस्य खगेन्द्र जमरकट्टेल यो कार्यक्रमले गाउँका गरीबको जीवनस्तर सुध्रिएको बताउँछन् ।

घरमै पानी

केराबारी–२, संगम टोलमा पानीको ठूलो समस्या थियो । चैत र वैशाखमा जरुवा सुकेपछि पानी खोज्न भीरको बाटो जानुपथ्र्यो ।

अहिले भने टोलका ४१ परिवारले घरघरै पानी पाएका छन् । गरीबी निवारण कोषकै भरथेगमा गाउँको माथिल्लो मुहानबाट ल्याएको पानी ट्यांकीमा जम्मा गरी ९ वटा धारा जडान गरिएको छ । “पुस्तांैदेखिको पानीको समस्या हटेको छ”, एकता सामुदायिक संस्थाका अध्यक्ष समेत रहेका जमरकट्टेल भन्छन् । उनका अनुसार, कोषको रु.९ लाख ९१ हजार र गाउँलेको रु.४ लाख ८९ हजार बराबरको श्रमदानबाट पिउनेपानीको प्रबन्ध मिलाइएको छ ।

सिंहदेवी बिहीबारे बजारमा पनि पानीकै समस्या थियो । कोषको रु.९ लाख ६१ हजार र स्थानीयको रु.३ लाख १२ हजारको श्रमदानमा ट्यांकी निर्माण गरी सात वटा धारा जोडियो । लेटाङ–७ वाराङ्गीमा पनि कोषको रु.१३ लाख ३८ हजार सहयोगबाट पानीको समस्या समाधान भएको छ ।

प्रयास नेपालका कार्यक्रम संयोजक नेत्र अधिकारीका अनुसार, सिंहदेवी र वाराङ्गीमा कोषको रु.५१ लाख ९३ हजार सहयोगमा तीन वटा खानेपानी र दुई वटा सिंचाइ परियोजना संचालनमा आएका छन् । गरीबी निवारण कोष भौतिक पूर्वाधार महाशाखा प्रमुख दिलमानसिंह बस्न्यातका अनुसार, कोषले देशका ५८ जिल्लामा गरीबी निवारणसम्बन्धी ६ हजार ६३६ वटा कार्यक्रम संचालन गरिरहेको छ ।

कमल रिमाल, विराटनगर

comments powered by Disqus

रमझम