२३-२९ वैशाख २०७५ | 6-12 May 2018

आतुर जनकपुर

Share:
  
भारतीय प्रम नरेन्द्र मोदीको जनकपुर भ्रमणको घोषणासँगै स्थानीयमा उत्साह चुलिएको छ।

९ मंसीर, २०७१ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर भ्रमण गर्ने कार्यक्रम तय हुँदाहुँदै स्थगित हुन पुग्यो । तर, यसपटक मोदीको जनकपुर भ्रमण निश्चितप्रायः बनेपछि स्थानीयमा उत्साह छाएको छ । “भारतीय प्रधानमन्त्रीको इच्छा र पूर्ण तयारी हुँदाहुँदै भ्रमण गराउन नसक्नु सुशील कोइराला सरकारको असफलता थियो भने अहिले आएर भ्रमण हुनु ओली सरकारको सफलता हो”, विश्लेषक भोगेन्द्र झ भन्छन् ।

अहिलेसम्म कुनै पनि देशका प्रधानमन्त्रीले काठमाडौं नटेकी मुलुककै अर्को भागबाट भ्रमण थाल्नु आफैंमा ऐतिहासिक अवसर हो । यो अवसर छोप्न संघीय, प्रदेश र स्थानीय सरकारले आ–आफ्नो स्तरबाट तयारी तीव्र बनाएका छन् । २० वैशाखको प्रदेश–२ को मन्त्रिपरिषद् बैठकले मोदी आउने दिन २८ वैशाखमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको समन्वयमा जनकपुर उपमहानगरपालिकाले प्रदेश–२ को १३६ वटै स्थानीय तहका प्रमुखलाई जनकपुरको बाह्रबिघामा मोदीको नागरिक अभिनन्दनमा सरिक हुन आमन्त्रण गरेको उपमहानगरपालिकाका मेयर लालकिशोर साह बताउँछन् ।

बिहान ९ बजे पटनाबाट जनकपुर अवतरण गर्ने मोदी र प्रम ओलीले सँगसँगै जानकी मन्दिरमा ‘खुरसो उपचार’ विधिले पूजाअर्चना गर्नेछन् । मोदी जानकी मन्दिर प्रवेश गर्दा प्रदेशका २०० बढी मठ मन्दिरमा एकैपटक शंख बजाएर पूजालाई भव्य र अविस्मरणीय बनाउने निर्णय पनि प्रदेश सरकारले गरेको छ । जनकपुर उपमहानगरपालिकाले ‘पाग र दोपटा’ सँगै जानकी मन्दिर अंकित स्नेहको प्रतीक र मैथिली भाषामा नागरिक अभिनन्दन पत्र प्रदान गर्नेछ । बाह्रबिघा मैदानको दक्षिणतिरबाट २०० मिटर ठाउँ छोडेर मञ्च निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ ।

अपेक्षा ‘रामायण सर्किट’

भारतीय प्रम मोदीको जनकपुर भ्रमणको पूर्वसन्ध्यामा नेपाल र भारतबीचको सम्बन्धका विविध आयामबारे चर्चा भइरहँदा जनकपुरको चासो पनि प्रकट भइरहेको छ । तर, उपमहानगरपालिकाका मेयर साह मोदी जनकपुर आउनु नै ठूलो उपहार भएकाले आफूहरू केही माग्ने मनस्थितिमा नभएको बताउँछन् ।

हुनत भारतीय राजदूत मञ्जीव सिंह पुरीले मोदीको जनकपुर भ्रमण अघि नै बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्लाई योजनाको सूची ल्याउन आग्रह गरेका थिए । तर, परिषद्ले पहिल्यै घोषित ‘रामायण सर्किट’ निर्माण योजनालाई मूर्तरूप दिने गरिको प्रस्ताव बुझउने तयारी गरेको छ । विश्लेषक झ मोदीको आगमनले जनकपुरको विश्वव्यापी प्रचार हुने भएकाले भ्रमण अविस्मरणीय बनाउन केन्द्रित हुनुपर्ने बताउँछन् ।

११ साउन, २०७३ मा जनकपुरको भ्रमण गरेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीले १५ मिनेटजतिको मन्तव्यको अधिकांश समय ‘जनकपुरधाम’को वर्णनमा खर्चेका थिए । उनले मिथिला नरेश राजा जनक, सुपुत्री सीता र याज्ञवल्क्यको तपोभूमि जनकपुरधाम र अयोध्यालाई जोडेर दुवै देशको सम्बन्ध थप प्रगाढ बनाउनुपर्ने र यसले द्विपक्षीय सम्बन्ध अझै उँचाइमा पुग्ने विश्वास व्यक्त गरेका थिए ।

मुखर्जीले भारतीय राष्ट्राध्यक्षको हैसियतमा जनकपुर भ्रमण गर्नुअघि संजिवा निलिम रेड्डी आर वेंकेटरमण र ज्ञानी जेल सिंहले पनि जनकपुर भ्रमण गरेका थिए । यस्तै तीन दशकअघि भारतीय जनता पार्टीका नेता एवम् पूर्व प्रधानमन्त्री अटलबिहारी वाजपेयी र चन्द्रशेखर पनि जनकभूमि जनकपुर आएका थिए ।

मधेशमै अविश्वास

भारतीय प्रम मोदीको जनकपुर आगमनलाई लिएर उल्लास देखिए पनि तराई–मधेशमै भारतद्वारा घोषित विकास योजनाको कार्यान्वयनको स्थिति भने निराशाजनक छ । यसले स्थानीयमा भारतप्रतिको विश्वास घटाएको छ ।

उदाहरणका लागि मोदीलाई अभिनन्दन गरिने जनकपुरको बाह्रबिघा मैदान र गंगासागर–धनुषसागरको सौन्दर्यकरणको साढे ५ करोड रुपैयाँको भारतीय योजनामा प्रश्न उठेको छ । त्रेता युगमा राम–सीताको स्वयंवरको क्रममा बाह्रबिघाको मैदान प्रयोग गरिएको र रामले धनुष तोड्दा एक टुक्रा धनुष सागरमा खसेको विश्वासले भारतले दुवै योजना आफूले बनाउने सहमति गरेको थियो । भारतीय योजनाको ८० प्रतिशत बढी रकम खर्च भइसक्दा बाह्रबिघाको अवस्था पहिलाको भन्दा जीर्ण छ । भारतले पटक पटक बनाउने प्रतिबद्धता जनाएको र सम्झैतासमेत गरेको हुलाकी राजमार्ग ‘आकाशको फल’ भएको छ ।

२ भदौ, २०६८ मा भारतीय राजदूत राकेश सूदले शिलान्यास गरेको धनुषा–३ का ६ वटा विद्यालयमध्ये एउटाको पनि निर्माण सकिएको छैन ।

राष्ट्रपति मुखर्जी जनकपुर भ्रमणमा आउँदा जनकपुरमा दुईवटा धर्मशाला र परिक्रमा सडक निर्माणको घोषणा गर्न पाउँदा आफू हर्षित भएको बताएका थिए । तर, उक्त योजनाको शिलान्यास समेत हुनसकेको छैन ।

ईश्वरचन्द्र झा, जनकपुर

comments powered by Disqus

रमझम