“चेपाङहरूले गिठ्ठा भ्याकुर, तरुल, खाएर जीवन बिताउनु परेको छ । पौष्टिक खाना नपाउँदा उनीहरू कुपोषणको शिकार भएका छन् । सरकारले उनीहरूलाई चामल बाँड्नुपर्छ”, जताततै सुनिन्छ, पत्रिकामा पनि बारम्बार छापिन्छ ।
जर्मनी पुगेर केही दिनअघि मात्र फर्केका एकजना साथीले बडो जिज्ञासु हुँदै भने, “जर्मनीमा त एरिएल याम खाइयो । बडो मीठो र स्वस्थकर रहेछ । नेपालमा पाइन्छ कि पाइँदैन हँ ! पत्ता लगाएर बारीतिर रोप्न पाए हुन्थ्यो !” मलाई अचम्म लागेन । र, हामीकहाँ चेपाङले खाने गिठ्ठा नै एरिएल याम हो भनें । उनी एकछिन अकमक्क परे । “त्यसो भए किन त चेपाङले खान पाउँदैनन् भनिएको त ?” साथीको प्रश्न स्वाभाविक थियो ।
कारण, देशभित्रैका वनस्पति, जडीबुटी कति पौष्टिक छन् भन्नेतर्फ वास्ता नै गरिंदैन । बाहिरका कृषि उपज मात्र राम्रो र गुनिलो हुन्छ भन्ठान्छन् । चेपाङले जंगलमा पाइने गिठ्ठाको तीतोपन हराओस् भनी केहीबेर उमालेर तरकारी जस्तै गरेर पकाएर खान्छन् । गिठ्ठाबाट छ्याङ पनि बनाउँछन् ।
बहुगुणी गिठ्ठा–भ्याकुर
संसारमा ६०० किसिमका गिठ्ठा पाइन्छ । पोषण र औषधीय तत्व पाइने भएकाले पश्चिम अफ्रिका, जापान र बेलायतमा यसको प्रयोग बढी हुने गरेको छ ।
गिठ्ठामा कार्बोहाइड्रेट र रेसादार पदार्थ पर्याप्त पाइन्छ । यसको प्रयोगले कब्जियत र कोलेस्टेरोल कम हुन्छ । भिटामिन बी र फोलिक एसिड पनि प्रदान गर्छ । सन्तान विकलाङ्ग हुन नदिन गर्भवतीलाई पर्याप्त फोलिक एसिड आवश्यक पर्छ । यसका साथै गिठ्ठामा म्याग्नेसियम, पोटासियम, लौहतत्व पनि रहेको हुन्छ ।
हामीकहाँ अक्षय तृतीयामा सातु–सर्बत र योमरी पूर्णिमामा योमरी खाए झैं अफ्रिकामा गिठ्ठा खानकै लागि पर्व मनाइन्छ । गिठ्ठालाई पीठो बनाएर केकमा हालेर वा सूप बनाएर खाने चलन छ । जापानमा गिठ्ठाको नुडल पनि बनाइन्छ । चीनमा गिठ्ठाको रसलाई बाहिरी घाउ, पिलो आदिमा लगाइन्छ । गिठ्ठालाई विभिन्न खानेकुरासँग मिसाएर खाँदा स्वाद र पौष्टिक बढ्न जान्छ । व्यावसायिक रूपमा खेती गरी पीठो, नुडल्स, चिप्स आदि उत्पादन पनि गर्न सकिन्छ ।
नेपालमा भने गिठ्ठालाई हेपिएको छ । यसलाई खेती गरेर लोकप्रिय बनाउन सकियो भने यसले खाद्यसुरक्षामा महत्वपूर्ण स्थान खेल्न सक्छ । चेपाङले खाने वनतरुल अर्को पौष्टिक फल हो । जुनेलोका फाइदाबारे कमै जानकार चेपाङहरू यसबाट छ्याङ र रक्सी बनाउँछन् । तर, यसलाई खानेकुरामा प्रयोग गर्ने हो भने कुपोषण कम गर्न सकिन्छ ।
चेपाङ भाषामा ‘ताउसी’ भनिने अमला पनि ‘भिटामिन सी’ ले युक्त फल हो । तर, अमला बेचेर चाउचाउ र बिस्कुट किन्ने प्रवृत्ति बढेको छ । त्रिफला, च्यावनप्रास आदि औषधिमा अमलाको अहम् भूमिका धेरैलाई थाहै छैन ।
चेपाङका खानामा सिस्नोको पनि अधिक प्रयोग हुन्छ, जसमा भिटामिन ए, सी, डी, लौहतत्व, क्याल्सियम जस्ता सूक्ष्म पोषक तत्व पाइन्छ । तारे होटलहरूमा एक कचौरा सिस्नोको सूपको झ्ण्डै रु.६०० पर्छ ।
कालो कर्कलोको नाम कमैले सुनेका हौंला । पुस–माघमा पाइने यसबाट तरकारी बनाउन सकिन्छ । कागुनोबाट जाँड बनाएर चेपाङहरूले त्यसमा रहेको पोषणको दुरुपयोग गरिरहेका छन् । यसको पीठोबाट विभिन्न स्वादका परिकार बन्दछ ।
सिप्लिकानको औषधीय महत्वबारे चेपाङहरूलाई पनि थोरबहुत थाहा छ । यसको पत्तालाई उमालेर १०–१२ घन्टा त्यसै छोड्छन् र तीतोपन हराएपछि तरकारी वा अचार बनाएर खान्छन् । रुघा, खोकी, ज्वरो आदिको घरेलु उपचार गर्न यसको प्रयोग गरिन्छ ।
कालो निगुरोको तरकारी पनि धेरैले मन पराउँछन् । नदी किनार र जंगलमा पाइने यो वनस्पतिलाई चेपाङहरू जापास भन्दछन् । जंगलमा पाइने वनकुरिलो, पांग्रा, बयर पनि पोषणका उत्तम स्रोत हुन् ।
विडम्बना के छ भने, हामीकहाँ गिठ्ठाजस्ता पोषक तत्वहरू हेपिएको छ । यसलाई खेती गरेर लोकप्रिय बनाउन सकियो भने खाद्य सुरक्षामा महत्वपूर्ण स्थान खेल्न सक्छ । तर, हाम्रा कृषि मन्त्रालय, कृषि वैज्ञानिक र कर्मचारीहरू ‘चेपाङको खानाले कुपोषण गराउँदैन’ भन्न हिच्किचाउँछन् । चेपाङका यी जंगली खानेकुरा मासिंदै गएकोमा चिन्ता होइन, बेवास्ता गर्नमा फाइदा देख्छन् ।