सामान्यतया पेनाल्टी सूटआउटलाई ‘९० प्रतिशत गोल’ मान्ने गरिन्छ । बेलायतको ब्रुनेल युनिभर्सिटीले गरेको अध्ययन अनुसार, उत्कृष्ट गोलरक्षकले पचास प्रतिशत पेनाल्टी प्रहार कता जाँदैछ भन्ने ठम्याउन सक्छ तर बढीमा २५ प्रतिशत मात्र बचाउन सक्दछ ।
टीम नेपालका गोलरक्षक किरणको धारणा भने फरक छ । उनी ४० प्रतिशत भन्दा बढी पेनाल्टी प्रहार रोक्न सक्ने आत्मविश्वास व्यक्त गर्छन् । “पाँचमध्ये कम्तीमा दुई वटा पेनाल्टी प्रहार बचाउन सक्छु जस्तो लाग्छ”, उनी भन्छन् । एएफसी एशियन कप छनोट अन्तर्गत फिलिपिन्स विरुद्धको खेलमा पनि उनले पेनाल्टी बचाएका थिए । किरणको पेनाल्टी प्रहार रोक्ने क्रम माल्दिभ्सको ट्रष्ट एण्ड केयर स्पोर्टस् र भारतको मिनर्वा पञ्जाब फूटबल क्लबबाट खेल्दा पनि जारी रह्यो ।
ब्रुनेल युनिभर्सिटीको निष्कर्ष छ, ‘खेलाडीले बल प्रहार गर्नुभन्दा पहिला नै गोलरक्षकले कता डाइभ गर्ने भन्ने निर्णय गरिसकेको हुनुपर्दछ ।’ तर, किरण निर्णय मात्रै गर्दैनन्, विपक्षी खेलाडीको मनोबल कसरी कमजोर बनाउन सकिन्छ भन्नेतर्फ पनि लाग्छन् । “तिमी कता प्रहार गर्दैछौ भन्ने मलाई थाहा भइसकेको छ भन्ने सन्देश दिन खोज्छु” उनी भन्छन्, “जसले विपक्षी खेलाडीको प्रहार शतप्रतिशत सशक्त हुँदैन ।”
नेपालीको औसत उँचाइ ५ फिट ४ इन्च छ, २८ वर्षीय किरण भने ६ फिट २ इन्च अग्ला छन् । टीम नेपालका गोलकिपर प्रशिक्षक उपेन्द्रमान सिंह दक्षिण एशियाली देशका लागि किरणको उँचाइ र शारीरिक बनावट ‘पर्फेक्ट’ भएको बताउँछन् । आधुनिक फूटबलमा गोलकिपरलाई ११औं खेलाडी मानिन्छ । उसको भूमिका बललाई पोष्टभित्र पस्नुबाट रोक्नुमा मात्र सीमित हुँदैन । गोलपोष्ट बाहिर पनि आफ्नो कौशल प्रदर्शन गर्न सक्नु गोलरक्षकको विशेषता हो । र, किरण यसमा पनि अब्बल छन् ।
साफ सपना
धनकुटाको राजारानीमा जन्मेका किरणको सफलताको एउटै रहस्य हो, कडा मिहिनेत । यू–१६ मा अखिल नेपाल फूटबल संघ (एन्फा) एकेडेमीमा आवद्ध किरण समयक्रममा विभिन्न उमेर समूहका लागि छनोट भए पनि पटक पटक बेञ्चमै सीमित भए । तर, गुनासो कहिल्यै गरेनन् । “किरणको अर्को नाम मिहिनेत हो । उनी कहिल्यै सक्दिनँ, गर्दिनँ भन्दैनन्”, प्रशिक्षक सिंह भन्छन् ।
मच्छिन्द्र क्लबबाट व्यावसायिक फूटबल खेल्न शुरु गरेका किरणले सात वर्ष थ्रीस्टार क्लबबाट खेले । एक वर्ष मनाङ मस्र्याङ्दीबाट खेलेपछि उनी मल्दिभ्सको ट्रष्ट एण्ड केयर स्पोर्टस्मा अनुबन्धित भए । त्यसपछि भारतमा आई–लिग खेलिरहेको मिनर्वा पञ्जाबका लागि खेले । मिनर्वालाई उपाधि जिताउँदाका अहम् खेलाडी किरणले सातमध्ये चार खेलमा एक गोल पनि हुन दिएनन् ।
भारतले फूटबलमा गरेको लगानीबाट प्रभावित उनी, नेपालले उनीहरूबाट धेरै कुरा सिक्न सक्ने बताउँछन् । क्लबले दिने पारिश्रमिक नेपालको भन्दा ५–६ गुणा मात्रै बढी भए पनि त्यहाँको खेल वातावरणबाट धेरै कुरा सिक्नुपर्ने उनको सुझाव छ । “खेल्ने बेला मात्रै तालिम गर्ने, खानपान र जीवनशैलीमा ध्यान नदिने खेलाडीले भारतीय क्लबमा स्थान नै बनाउन सक्दैनन्” किरण भन्छन्, “नियमित तालिम र अनुशासनमा बस्न सके नेपालले अझै राम्रो नतिजा ल्याउनेमा कुनै शंका छैन ।”
मे २००८ मा कम्बोडियामा सम्पन्न एएफसी च्यालेन्ज कप छनोटबाट ‘डेब्यु’ गरेका किरणले राष्ट्रिय टीमबाट खेलेको दश वर्ष पूरा भएको छ । राष्ट्रिय टीमबाट ५० क्याप जितेका उनको अबको सपना छ, साफ च्याम्पियन बन्ने । १९९३ को साफमा तेस्रो भएको नेपाल त्यस यता फाइनल पनि पुग्न सकेको छैन । यो पटकको साफ ४ सेप्टेम्बरदेखि बाङ्लादेशमा हुँदैछ ।
तीन वर्षदेखिको लिग नहुनु, पूर्वाधार अभाव, खेलाडीमा ‘एक्स्पोजर’ को कमी, सधैंको एन्फा विवाद नेपाली फूटबलको तीतो यथार्थ हो । तर पनि आवश्यक तयारी गर्न सके नेपालले ऐतिहासिक उपलब्धि हासिल गर्ने किरणको विश्वास छ । “साफ जित्न हामी सक्षम छौं तर त्यसका लागि आजैदेखि तयारी थालिहाल्नुपर्दछ”, किरण भन्छन् ।