२३-२९ वैशाख २०७५ | 6-12 May 2018

अठोटको उडान

Share:
  

ङिमा पाख्रिन
सानो छँदा रत्न तामाङ (४०) लाई कागजको हवाईजहाज उडाउन निकै रमाइलो लाग्थ्यो । ठूलो भएर साँच्चिकै हवाईजहाज उडाउन पाए झन् कस्तो होला भन्दै उनी दुईहात फिजाएर उडेको नाटक पनि गर्थे । जहाजबारेको कौतूहल पाल्दापाल्दै बाल्यकाल बित्यो ।

उनै तामाङ विभिन्न हण्डर खाँदै अमेरिकामा पाइलट तालिम लिएपछि सन् २०१० मा व्यावसायिक पाइलट बने । अहिले डलासस्थित गामा एभिएशन इन्जिनियरिङमा एभिओनिक्स सुपरभाइजर छन् ।

जन्म गाउँ काभ्रेको ठूलोपर्सेल पारिपट्टिको डाँडोमा हेलिकप्टर आएपछि दौडिंदै हेर्न पुगेको स्मरण गर्दै तामाङ भन्छन्, “बिरामी लिन पल्लो गाउँ आएको हेलिकप्टर हेर्न दौडिएको थिएँ, तल खोलामा नपुग्दै उडिहाल्यो ।”

काभ्रेकै पञ्चकन्या माध्यमिक विद्यालयमा पढेका उनी काठमाडौंमा कलेज पढ्दै गर्दा परिवारलाई आर्थिक रुपमा सघाउनुपर्ने भएपछि पर्यटन क्षेत्रमा काम गर्न थाले । त्यसैक्रममा उनी सन् २००१ मा अमेरिका पुगे । “नेपालमा पाइलट ट्रेनिङ स्कूल नभएकोले विदेश नआई धरै थिएन, त्यसमाथि आफैं कमाएर पढ्नुपर्ने”, तामाङ भन्छन् ।

अमेरिका आएको पाँच वर्षपछि सन् २००६ मा मात्र उनी टेक्ससस्थित ‘स्काईमेट्स फ्लाइट एकेडेमी’ मा भर्ना हुन सके । सँगसँगै हवाईजहाज मर्मत सम्बन्धी अर्को स्कूल ‘एभिएशन इन्ष्टिच्यूट अफ मेन्टेनेन्स्’ मा पनि पढ्न थाले । तालिमका क्रममा कहिले फ्लोरिडास्थित ‘पाम बिच फ्लाइट ट्रेनिङ सेन्टर’ त कहिले ‘एभिएटर एअर’ चहार्नुपथ्र्यो । अन्ततः कमर्सियल पाइलट बन्नु अगाडि नै उनले एअरक्राफ्ट मेन्टेनेन्स्मा ‘ब्याचलर इन एभिएशन साइन्स’ पूरा गरे ।

अध्ययनका क्रममा महँगो शुल्क बुझाउन उनलाई हम्मेहम्मे पथ्र्यो । “जहाँ जहाँ काम पाइन्छ, रातभर काम गर्थें, दिउँसो स्कूल त्यसपछि गृहकार्य” तामाङ भन्छन्, “तीन घन्टा भन्दा बढी सुत्न पाउँन्नथें ।”

अहिले भने उनी जहाजको इलेक्ट्रिकल सिस्टममा देखिएको खराबी पत्ता लगाई मर्मत गर्ने कामको रेखदेख गर्छन् । बेलाबेला जहाज उडाउँछन् पनि । उनको अबको चाहना फ्लाइट इन्स्ट्रक्टर बन्ने छ त्यसका लागि उनी नेपालमै पाइलट ट्रेनिङ स्कूल खोल्न चाहन्छन् ।

ङिमा पाख्रिन, अमेरिका

comments powered by Disqus

रमझम