यसअघि अंग्रेजी भाषामा अनलिसिङ नेपाल र यसै साता मात्र अर्थात् अर्थतन्त्र मार्फत नेपाली अर्थतन्त्रका बहुआयामबारे चर्चा गरेका लेखक सुजीव शाक्य भन्छन्, “अर्थतन्त्रलाई आम जीविकासँग जोडिएकाले पुस्तक रुचिकर हुनसक्छ।”
देशको राजनीतिक, सामाजिक घटनाक्रमसँगै परिवर्तनको यात्रामा अर्थतन्त्र कसरी जोडिएको छ भन्ने विश्लेषण यो पुस्तकमा छ । देशले साँच्चिकै फड्को मार्ने हो भने के गर्नुपर्छ भन्ने कुरा पनि पुस्तकमार्फत पेश गरेको छु ।
यो पुस्तकका लक्षित पाठक को हुन् ?
पुस्तकले नेपाली पत्रपत्रिका, पुस्तक पढ्ने पाठक र अहिलेसम्म नेपालीमा पढ्न नरुचाउने पाठक समेतलाई तान्ने अपेक्षा छ । नेपालीमा अर्थतन्त्र, उद्यम, व्यापारसम्बन्धी सहज र सुरुचिपूर्ण पुस्तकको कमी रहेको अवस्थामा आफ्नै देश चिन्न खोज्नेहरूप्रति यो पुस्तक लक्षित छ । ऐतिहासिक आर्थिक घटनाक्रमलाई नयाँ चश्माले हेर्ने प्रयास गरिएकाले सबैखाले पाठकलाई यो रुचिकर हुनसक्छ ।
अर्थतन्त्रबारे अङ्ग्रेजीमा लेखिसकेपछि फेरि नेपालीमा पुस्तक लेख्न के कुराले प्रेरित गर्यो ?
धेरैले घच्घच्याएपछि नेपाली लेखनमा आएको हुँ । नेपाली भाषाको लेखनले नीतिनिर्माण तहमा बसेकादेखि आम पाठकसम्म पुग्न सजिलो हुन्छ । पछिल्लो समयमा कम्प्युटरमा नेपालीमा लेखन सजिलो भएको छ । नेपालीमा लेखिएका लेखमा आएका प्रतिक्रियाले उत्साहित भएर पनि नेपालीमै लेखें ।
आम पाठकका लागि अर्थतन्त्र निरस र अप्ठ्यारो विषय मानिन्छ, तपाईंको पुस्तकको सन्दर्भमा यो मान्यताले कस्तो प्रभाव पार्ला ?
अर्थतन्त्र भनेको राजनीति, समाजभन्दा अलग हुँदैन, यो प्राविधिक कुरा मात्र पनि होइन । जन्मेदेखि मृत्युसम्म दैनिक जोडिने अर्थतन्त्रलाई सरल तरीकाको प्रस्तुति आवश्यक छ । अर्थतन्त्रको इतिहास, सामाजिक संरचनासँग यसको सम्बन्धको विश्लेषणका साथै शक्ति, साधन र स्रोतको समुचित प्रयोगबाट के गर्न सकिन्छ भन्ने कुरालाई पुस्तकले सजिलो तरीकाले पस्किएको छ । आम जीविकासँग जोडिएको र अर्थतन्त्रलाई चौबाटोमा उभिएर हेरिएको हुँदा यो पुस्तक रुचिकर हुनसक्छ ।
हाम्रो सार्वजनिक वृत्तमा आर्थिक विषय बारेको पठन–लेखन र बहसको संस्कृति कस्तो देख्नुहुन्छ ?
आर्थिक विषयको डिस्कोर्स कमजोर छ । सारभूत र गम्भीर बहसका लागि अनुभव वा ज्ञान आवश्यक हुन्छ, नत्र बकम्फुसे गफ मात्र हुन जान्छ । विगत केही दशकका तुलनामा अर्थतन्त्रका विषयमा चासो, बहस र छलफल बढेको चाहिं हो । त्यसैले, राजनीतिक कुरा मात्र हुने ठाउँमा विस्तारै आर्थिक विषयले महत्व पाउन थालेको छ ।