३० वैशाख - ५ जेठ २०७५ | 13-19 May 2018

जनकपुर जलसा

Share:
  
- मनिष झा
स्थानीयले चाहे शहर कति सुन्दर हुनसक्छ भन्ने उदाहरण मोदी भ्रमणका बेलाको जनकपुर बनेको छ।

ईश्वरचन्द्र झा
जनकपुरमा नागरिक अभिनन्दन गर्ने क्रममा भारतीय प्रम नरेन्द्र मोदीलाई १२१ किलोको माला लगाइदिंदै ।
यो लेख प्रकाशित भइसक्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फर्किसकेका हुनेछन् । तर, उनको चर्चा भने चलिरहेकै हुनेछ ।

जनकपुरको बाटोहुँदै मोदी काठमाडौं आउने खबर सुनेपछि पटक पटक जनकपुर पुगेको मैले तयारीका विभिन्न चरण देखें । लाग्यो, मोदीको यो भ्रमणले जनकपुरलाई केही सफा हुने, व्यवस्थित हुने र चर्चा पाउने अवसर दिएको छ, केही न केही सकारात्मक परिवर्तनको संकेत गरेको छ ।

केही दिनअघि, हाल बेलायत बसिरहेका एक नेपालीसँग काठमाडौंमा भेट भयो । उनको मूलथलो जनकपुर नै रहेछ, स्वयंले बाल्यकालको केही समय त्यहीं बिताएका रहेछन् । रमाइला रमाइला स्मरण सुनाए । तर, कुराकानीकै क्रममा अचानक उनका आँखा रसाउन थाले । भावुक उनी भन्न थाले, “विदेशमै हुर्केका छोराछोरीलाई बाल्यकालका बिताएको ठाउँ भनेर घुमाउन लगेको, फोहोर र लामखुट्टेले आजित बनायो, बस्नै मानेनन् । जनकपुर मृत शहर झैं लाग्यो ।”

तीन वर्ष पहिले मेरा ती साथी परिवारसहित जनकपुर गए तर उनका स–साना छोराछोरी फोहोर देखेर गाडीबाट ओर्लिनै मानेनछन् । उनले त्यो अनुभव सुनाउँदा जनकपुरवासीको नाताले पनि म केही बोल्नै सकिनँ । भित्रभित्रै मन रोयो ।

विश्वमा कुनै पनि देश, शहर, ठाउँ वा संस्थाको अस्तित्वको आफ्नै आधार र तर्क हुन्छ, जहाँ मानव जाति र संसारलाई के फाइदा दिन्छ र दिइरहेको छ भन्नेबारे तर्क गरिन्छ । तर, केही वर्षयता जनकपुरको हकमा यस्तो तर्क कमजोर हुँदै गएको महसूस हुन थालेको छ । राजनीतिक रूपमा चर्चामा रहिरहने यो शहरले आफ्नो धर्म र संस्कृति हराउँदै र पहिचान बिर्संदै गएको पो हो कि झैं लाग्न थालेको थियो ।

यसकारण पनि म मोदी जनकपुर आउने कुरामा थोरै उत्साहित छु । किनभने, यो भ्रमणले जनकपुरलाई आफ्नो अस्तित्व खोज्न सहयोग पुर्‍याउँदैछ । एकै दिनका लागि जसरी शहर सफा पारिंदैछ । यो दिनको जनकपुरले स्वयं जनकपुरवासीलाई प्रयास गरे आफ्नो शहर कति सुन्दर हुनसक्छ भन्ने झ्ल्को दिनेछ । मानौं, ऐना देखाउनेछ । त्योभन्दा बढी स्थानीयलाई झ्न् गम्भीर र परिपक्व बनाउनेछ ।

एक विशेष भक्त

मोदी भ्रमणको पूर्वसन्ध्यामा हामी केही व्यक्तिहरू जनकपुरका मेयर लालकिशोर साहलाई भेट्न गयौं । तर, उनी सरसफाइमा आफैं झडु लिएर मुख्यमन्त्री लगायत नेता र मन्त्रीसँग व्यस्त थिए । उनीसँगको भेटमा स्वाभाविक जिज्ञासा सोधियो– मोदीबाट जनकपुरले के अपेक्षा गरेको छ ? मेयरको जवाफ थोरै अनपेक्षित थियो । “मोदी यहाँ जानकी मन्दिर दर्शन गर्न आउँदै हुनुहुन्छ र यस्तो बेला भक्तले भगवानसँग माग्ने हो, भक्तसँग हामीले माग्ने हैन । भगवानले उहाँको कामना पूरा गरून्, हाम्रो अपेक्षा त्यही हो ।” उनको भनाइले मन प्रसन्न भयो ।

अर्को दिन जानकी मन्दिरका दोस्रो महन्थ र कार्यकारी प्रमुख रामरोशन दाससँग भेट भयो । उनीसँग पनि उस्तै प्रश्न राख्यौं, “जानकी मन्दिरलाई मोदीले के दिनुहोला ?” “त्यो त भक्तको इच्छा हो, मन्दिरले भक्तसँग माग्ने होइन” उनी भन्दै थिए, “हामीले त आफ्नै सरकारसँग माग्ने हो । अहिलेका लागि एक विशेष भक्त आउँदै हुनुहुन्छ, उहाँलाई सहज दर्शन व्यवस्था मिलाएर खुशी दिने हो ।”

मधेश आन्दोलनताका निकै व्यस्त र उग्र थिए, सरोज मिश्र । मैले उनलाई सोधें, “मोदी भ्रमणका क्रममा प्रधानमन्त्री केपी ओली जनकपुर आउँदा विरोध हुन्छ कि हुन्न ?” तर, उनले विदेशी पाहुनालाई स्वागत गर्न देशकै अभिभावकका रूपमा आउने ओलीको विरोध होइन, स्वागत हुने बताए । “हामीबीचको तिक्तता बाँकी छ तर त्यो बहस पछि गरौंला, पाहुना आउँदा सबै मिलेर स्वागत गर्ने हो”, उनको भनाइ थियो ।

त्यसो त यसअघि नै जनकपुरमा तीन भारतीय राष्ट्रपति आइसकेका छन् । तर मोदीको यो भ्रमण बहालवाला भारतीय प्रधानमन्त्रीको पहिलो जनकपुर भ्रमण हो । यो भ्रमणलाई मोदीको राजनीतिक स्वार्थसँगै नेपालको राजनीतिमा मधेश र धर्म सम्बन्धी बहससँग पनि जोडिएर हेरिएको छ । तर यसपटकको मोदी भ्रमण विशेष हुने र यसले जनकपुरलाई आफ्नो अस्तित्व खोज्न प्रेरित गर्नेछ भन्ने विश्वास गर्न सकिन्छ ।

“यही बेला जनकपुर जान पाए हुन्थ्यो, अहो ! कस्तो सजिएको तिम्रो शहर”, कतिपय साथीहरूको यस्तो भनाइले मेरो विश्वासलाई थप बल दिएको छ ।

comments powered by Disqus

रमझम