३० वैशाख - ५ जेठ २०७५ | 13-19 May 2018

‘‘नेपाल दक्षिणएशियाली फूटबलको ‘सुपर पावर’ बन्नेछ’’

Share:
  

बिक्रम राई
कर्माछिरिङ शेर्पा, अध्यक्ष, अखिल नेपाल फूटबल संघ
दुई दशकसम्म अखिल नेपाल फूटबल संघ (एन्फा) मा राज गरेका गणेश थापाकै पछिल्लो कार्यकालमा उपाध्यक्ष थिए, कर्माछिरिङ शेर्पा। तर, एउटै समितिमा रहेर पनि शेर्पा सधैं थापाका विरोधी बने। एन्फाभित्रै थापाको अनियमितता विरुद्घ सुषुप्त रुपमा ‘शुद्घीकरण अभियान’ को शुरुआत गरेका शेर्पाको आवाज त्यतिबेला सार्थक बन्यो, जब भ्रष्टाचार मुद्दामा विश्व फूटबल महासंघ (फिफा) ले अध्यक्ष थापामाथि कारबाही नै गर्‍यो।

बहिर्गमनपछि थापाले आफूनिकट मानिने नरेन्द्र श्रेष्ठलाई अध्यक्ष बनाएर एन्फामाथि आफ्नो वर्चस्व कायम राख्ने कोशिश जारी राखे। यसको सुइँको पाएको फिफा र एएफसीले एन्फामाथि कारबाहीको चेतावनी दिंदै तत्काल निर्वाचन गराउन ताकेता पनि गर्‍यो। तर, थापापक्ष लगायतको अनेक प्रपञ्च चिर्न नसक्दा निर्वाचनको मिति टरिरह्यो। हुँदाहुँदै २२ वैशाख तोकिएको एन्फाको १६औं कंग्रेस रोक्न अध्यक्षका अर्का प्रत्यासी थापाका नातेदार निवर्तमान उपाध्यक्ष मणि कुँवरले उम्मेदवारी दर्ता गरिसकेपछि एकाएक निर्वाचन प्रक्रियाबाट बाहिरिएको घोषणा गरे। तर, चौतर्फी दबाब र जोडबलपछि निर्वाचन सम्पन्न भयो र शेर्पा नयाँ अध्यक्षमा विजयी भए। हिजोको विद्रोही तर आजका नेतृत्वकर्ता कर्माछिरिङ शेर्पासँग बदनाम र विकृत एन्फाको छवि सुधार्नेसँगै ओरालो लागिरहेको नेपाली फूटबलप्रति खेलप्रेमीको विश्वास मर्न नदिने मुख्य चुनौती र अवसर दुवै छ। यिनै चुनौती र अवसरमा केन्द्रित हुँदै सन्त गाहा मगरले शेर्पासँग गरेको कुराकानीको संक्षेपः

एन्फा अध्यक्षमा आफ्नो विजयलाई कसरी हेर्नुभएको छ ?

फूटबल विकासमा मेरो नेतृत्वको टीमले उठाउँदै आएको अजेण्डालाई सबैले स्वीकार्नुभएको छ । यो अवसरसँगै चुनौती पनि हो । अब नेपाली फूटबललाई खेलाडी, समर्थक, सरोकारवालाले चाहे अनुसारको बनाउने जिम्मेवारी आएको छ । नेपाली फूटबल अब हिजोकै अवस्थामा रहन सक्दैन ।

लामो समयदेखिको एन्फा विवाद सकिएको हो ?

प्रष्ट भन्नुपर्दा काम गर्नुहुँदैन र काम नगरी हुँदैन भन्ने सोचाइ नै एन्फा विवादको जड हो । तीव्र रुपमा काम गरेपछि यो विवाद गौण हुन्छ जस्तो लाग्छ ।

नयाँ नेतृत्व चयनसँगै फिफा वा एएफसीबाट कारबाहीको जोखिम पनि टरेको हो ?

फिफा र एएफसीले तोकेकै समयमा निर्वाचन भएको छ । फिफा र एएफसीको अध्यक्षले बधाई पनि दिइसक्नुभएको छ । प्रतिबन्ध वा निलम्बनको जोखिम अब छैन ।

अध्यक्षका अर्का प्रत्यासी मणि कुँवरले विधानसम्मत नभएको भन्दै निर्वाचनमा भाग नै लिनुभएन । यसलाई विवाद सकियो भन्न मिल्ला र ?

बहिष्कारको कुरा सञ्चारमाध्यममा मात्रै आएको हो । मतदाताको अन्तिम नामावली प्रकाशित भएपछि कसैले बहिष्कार गरेको भन्छ भने त्योभन्दा हास्यास्पद के हुनसक्छ ! कुँवरजीले अध्यक्षमा उम्मेदवारी दिनुभएको थियो । भोट पनि प्राप्त गर्नुभएको छ । वास्तविकता यही हो ।

तपाईंको विजयसँगै कतिपयले दुई दशकदेखि एन्फाको नेतृत्व गरेका गणेश थापा युगको अन्त्यको रुपमा पनि टिप्पणी गरेका छन् । यसबारे के भन्नुहुन्छ ?

युग समाप्त वा शुरु भन्दा पनि एन्फाको सोह्रौं कंग्रेसले हामीलाई नयाँ इतिहास रच्ने अवसर र जिम्मेवारी दिएको हो । यसलाई म जिम्मेवारी हस्तान्तरणको सामान्य प्रक्रियाका रुपमा लिन्छु । त्यो युग अब इतिहास बनिसकेको छ ।

त्यसो भए एन्फामा व्याप्त भ्रष्टाचार लगायतका विकृतिबारे तपाईं स्वयंले थालेको शुद्धीकरण अभियान पनि इतिहासको गर्तमा पुग्यो त ?

मैले विगत बिर्सन खोजेको छैन । विगतमा गल्ती गरेकै कारणले केही साथीहरू महाधिवेशनबाट पछि हट्नु परेको कुरा सबैलाई अवगत नै छ । भ्रष्टाचारविरुद्ध हामीले आवाज उठाएका हौं । कारबाही गर्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दालाई तामेलीमा राखेको छ । यस्तो भएपछि के लाग्छ ? तर, सबैलाई अवगत नै छ, फिफाले कारबाही गरिसकेको छ ।

एन्फामा विगतमा जस्तो भ्रष्टाचार हुँदैन भन्ने सुनिश्चित कसरी गर्नुहुन्छ ?

भ्रष्टाचारको जड अपारदर्शिता र मनपरी प्रवृत्ति हो । आर्थिक नियमावली, खरीद नियमावली, टेण्डर सम्बन्धी मापदण्ड लगायतका नियम बनाएर काम गर्नेछु । नियमावली मस्यौदा गठन समिति पनि बनाइसकिएको छ । एक महीनाभित्र मस्यौदा साधारणसभामा पठाउँछु । एन्फा अब विधिविधान अनुसार चल्छ । सुधारको शुरुआत मूल नेतृत्वबाटै गर्न चाहन्छु ।

एन्फामा अध्यक्ष नै सर्वेसर्वा हुने परिपाटी अन्त्यको प्रत्याभूति कसरी गर्नुहुन्छ ?

विगत र अहिलेमा धेरै अन्तर छ । अहिले गणेश थापाको सट्टा कर्माछिरिङ शेर्पा आएको भन्ने मात्रै होइन, यो त परिवर्तनकामीको जित हो । यसको अर्थ विकृति दोहोरिंदैन भन्ने पनि हो । आर्थिक, प्रशासनिक र नीतिगत पारदर्शिता मेरा मूलमन्त्र हुन् । कुरा भन्दा कार्यान्वयनमा जोड दिन्छु ।

निर्वाचनमा पराजित र असन्तुष्ट पक्षलाई कसरी समेट्नुहुन्छ ?

व्यक्तिभन्दा पनि कार्यक्रम महत्वपूर्ण हो । कार्यक्रम मार्फत सबैलाई समेट्छौं । नेपाली फूटबलको विकास हुनु नै सबैलाई समेट्नु होइन र !

नेपाली फूटबलले पनि ‘म्याचफिक्सिङ’ जस्तो अप्रिय अवस्थाको सामना गर्‍यो । यस्तो बदनामी दोहोरिन नदिन एन्फाले के गर्छ ?

म्याचफिक्सिङमा संलग्नलाई कडा कानूनी कारबाहीको भागिदार हुने वातावरण बनाउँछौं । आफ्नै नीति पनि तर्जुमा गर्छौं । प्रतियोगिताहरूको दौरान त्यस्तो गतिविधि नहोस् भनेर विशेष सतर्कता अपनाउँछौं ।

२०७० यता एन्फाले ‘ए’ डिभिजन लिग नगर्दा नेपाली फूटबल विकास अवरुद्ध बनेको छ । यसबारे कत्तिको गम्भीर हुनुहुन्छ ?

चार–चार वर्ष लिग नहुँदा एउटा उमेर समूह नै फूटबल खेलबाट बञ्चित भयो । त्यो खेलाडी पुस्तामाथि अक्षम्य अन्याय भयो । नयाँ खेलाडी उत्पादन हुनै पाएन । खेलाडीहरू खाली बस्नु पर्‍यो । कति पलायन भए । नयाँ खेलाडी उत्पादन नभएपछि राष्ट्रिय टीमको प्रदर्शनमा पनि असर पर्ने नै भयो ।

अब कहिले हुन्छ त लिग ?

लिग सञ्चालनका लागि कमिटी गठन भइसकेको छ । एक हप्ता भित्र मिति घोषणा भइसक्छ । क्लबहरूलाई तयारीका लागि कम्तीमा ४५ दिन चाहिन्छ । खेलाडी अनुबन्ध गर्न, आर्थिक स्रोत जुटाउन समय चाहिन्छ । जेसुकै भए पनि अबको दुई महीना पूरा नहुँदै लिग सञ्चालन हुन्छ ।

आगामी सेप्टेम्बरमा बंगलादेशमा हुने साफ च्याम्पियनसिपको तयारीबारे पनि सोच्न भ्याउनुभएको छ कि ?

हामी साढे दुई दशकदेखि साफको फाइनलमा पनि पुग्न सकेका छैनौं । लिग नहुँदा नयाँ खेलाडी आउन सकेका छैनन् । तर पनि हामी स्वर्ण पदक जित्ने लक्ष्यसहित बाङ्लादेश पुग्छौं । अहिलेलाई मुख्य कुरा प्रशिक्षण नै हो । नेपाललाई उपाधि जिताउने गरिको तयारीका लागि एन्फाले कुनै कसर बाँकी राख्दैन ।

नेपाली फूटबल विकासका दीर्घकालीन योजना के के छन् ?

नेपाललाई तीन महीनाभित्र फूटबलमय बनाउँछौं । त्यसपछि दीर्घकालीन लक्ष्य बनाएर अघि बढ्छौं । प्रदेशस्तरमा एकेडेमी बनाउने, प्रशिक्षक, रेफ्री र जिल्ला फूटबल संघका पदाधिकारीका लागि कोर्स सञ्चालन गर्न प्रक्रिया अगाडि बढाइसकिएको छ । ४५ जिल्लामा ट्रेनिङ सेन्टर स्थापना गरिनेछ । प्रतियोगिता र प्रशिक्षण नियमित सञ्चालन गरिनेछ । मेरो कार्यकालमा फूटबलमा नेपाल दक्षिणएशियाको ‘सुपर पावर’ बन्छ ।

comments powered by Disqus

रमझम