६-१२ जेठ २०७५ | 20-26 May 2018

चेत खुल्ने कहिले ?

Share:
  

हिमाल खबरपत्रिका (३० वैशाख– ५ जेठ) मा प्रकाशित आवरण रिपोर्ट ‘कलंकी–नागढुंगाः सकसमार्ग’ ले जनताले दिनहुँ भोगिरहेको सकसलाई उजागर गरिदिएको छ । धूलो धुवाँको सकस काठमाडौंवासीका लागि स्थायी समस्या जस्तै भइसकेको छ । मेलम्चीको पाइप विछ्याउने नाममा होस् या सडक विस्तारका नाममा; जताततै बेहाल छ । अब बर्खा लागेसँगै धूलो धुवाँ मात्र होइन, हिलो पनि थपिनेछ ।

काठमाडौंको प्रदूषण निर्मूल पार्छु भनेर उम्मेदवारी दिएका मेयरबाट अपेक्षा राख्नु त आफैं मूर्ख बन्नु जस्तो भइसकेको छ । वातानुकूलित गाडी चढ्ने मन्त्री र उच्च तहका कर्मचारीले पनि यसलाई समस्या नै ठानिदिएनन् । संविधानमै प्रत्याभूत स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने जनताको हकअधिकारलाई उपेक्षा गर्नु मौलिक अधिकारको हनन् पनि हो । राज्यका निकायहरूले बेवास्ता गरिरहेको जनसरोकारको विषयलाई महत्व दिएर हिमाल ले चौथो अंगको भूमिका राम्रैसँग निर्वाह गरेको छ, सम्बन्धित निकायको चेत कहिले खुल्ने हो पर्खनु बाहेक उपाय छैन ।

शशिधर पाण्डे, अनलाइनबाट

शपिङमा फड्को

अनलाइन शपिङ सम्बन्धी (३० वैशाख– ५ जेठ) रिपोर्ट ‘किनमेलमा क्रान्ति !’ ले धेरै कुरा बुझन मद्दत गरेको छ । हामी जस्ता परम्परागत किनमेलमा अभ्यस्तहरूलाई पनि यसले फाइदा नै हुने देखायो । तर, ठूलो लगानीका बहुराष्ट्रिय कम्पनीहरूको प्रवेशले स्थानीय बजार संस्कृति र परम्परागत किनमेल प्रणालीलाई तहसनहस पारेर मुनाफा मात्रै सोहोर्ने काम नगर्ला भन्न सकिन्न । रिपोर्टमा इन्टरनेटमा नेपालीको बढ्दो पहुँच भनिए पनि फेसबूक चलाउन पनि धौ–धौ हुने एनटीसीको डाटा प्याक चलाउनेको संख्या गन्ती गरिएको उक्त तथ्यांक अनलाइन शपिङ लगायतका काममा उपयोग हुन सक्ला जस्तो लाग्दैन । त्यसमाथि अनलाइन भुक्तानीका लागि आवश्यक प्रविधिको विकास नभएको, उपलब्ध समय, सोच र अभ्यास अनुसार पनि वस्तु छोएर विचारेर किन्ने हाम्रो परम्परामा अनलाइन शपिङले अहिले क्रान्ति नै ल्याउला भन्ने लाग्दैन ।

टीकादत्ता पोखरेल, अनलाइनबाट

विद्यार्थीलाई सजिलो

नेपाली विद्यार्थीलाई नेपालमै बसेर विदेशका ठूला विश्वविद्यालयहरूसम्म पहुँच र जानकारी दिने शैक्षिक परामर्श केन्द्रको (३० वैशाख– ५ जेठ) हिमाल अन्तरक्रियाले हामी दूरदराजका विद्यार्थीलाई पनि धेरै कुरा थाहा भएको छ । यस्ता जानकारी र शिक्षामूलक समाचार प्रकाशित भइरहुन् । हामी विद्यार्थीलाई शैक्षिक परामर्शमा सजिलो पारिदिने हिमाल लाई धन्यवाद ।

मीरा राई, अनलाइनबाट

महिलालाई किन दोस्रो दर्जा !

वैदेशिक रोजगार सम्बन्धी (३० वैशाख– ५ जेठ) रिपोर्ट ‘घर फर्कने छटपटी’ ले सरकारको नालायकी देखाइदिएको छ । एक त सरकार देशमै रोजगारी दिन सक्दैन, जो रोजगारीका लागि विदेश गएका छन् उनीहरूलाई संरक्षण त परको कुरा घर फर्कने वातावरण बनाउन पनि सक्दैन । यो त ‘गरीब देशको हरिप चाला’ मात्र भयो । विदेश भन्दैमा सबै ठाउँ असुरक्षित हुँदैनन्, र देशभित्रै पनि महिला शोषणका कथाहरू कम छैनन् । सरकारले कम्तीमा पनि खाडी मुलुकमा रहेका महिलालाई घर फिर्तीको सहज वातावरण बनाउनु जरूरी छ । उसो त प्रतिबन्ध लगाउनु समस्याको समाधान होइन । स्वदेशमै रोजगारीका अवसरको सिर्जना र विदेशिएकाको संरक्षण प्रमुख कुरा हो ।

जुनकिरी हमाल, अनलाइनबाट

बुझौं छिमेकको महत्व

‘मोदी भ्रमणपछिको सम्बन्ध’ (३० वैशाख– ५ जेठ) सम्पादकीयले भारतलाई व्यावहारिक रूपमै छिमेकीप्रति सम्मान, सद्भाव र समानता देखाउन सक्नुपर्छ भन्ने सन्देश दिएको छ । ‘ठूल्दाइ’ को अहंबाट उसलाई कत्तिको नरम बनाउँछ त्यो त समयले नै देखाउनेवाला छ । तर मोदीले छिमेकको महत्व भने राम्रैसँग बुझेको हुनुपर्छ । यो बुझदा नै भारत र मोदीको हितमा हुनेछ । सानो भनेर हेप्ने हो भने त चीनले पनि भारतलाई हेप्छ नै, के हेपिन भारत तयार हुन्छ ?

विवेक यादव, अनलाइनबाट

सटिक स्तम्भ

‘भोगेको, देखेको, सुनेको’ स्तम्भ सटिक छ । यस्ता स्तम्भ राखेर हिमाल ले पाठकलार्ई धेरै गुन लगाएको छ । छोटा, रमाइला र रुचिकर यस्त स्तम्भ अरू पनि थपिउन् । लामा–लामा उच्चाट लाग्दा रिपोर्ट भन्दा त यस्तै कुराले पाठकलाई आकर्षित गर्छन् । स्तम्भकार भैरव रिसालले हिमाल मा निरन्तरता दिइरहनुस् । शुभकामना ।

भुवन पौडेल, अनलाइनबाट

विनाश नभई विकास हुँदैन

जलविद्युत् आयोजनाको प्रभाव सम्बन्धी स्थलगत रिपोर्ट ‘मासिए जलचरः नासिदै संस्कृति’ (३० वैशाख– ५ जेठ) ले एउटा पाटोलाई मात्र हेर्न खोजेजस्तो लाग्यो । देशको समृद्धिमा टेवा पुर्‍याउने आयोजना निर्माण हुँदा त वातावरणमा होस् या अन्य क्षेत्रमा केही प्रभाव त पर्छ नै । के जलचर मासिए, संस्कृति नासियो भनेर विद्युत् उत्पादन नै नगर्ने त ? त्यसो हो भने त हिजोको जस्तो ढुंगे युगमा नै बस्नुपर्ने भयो । बाटो निर्माण गर्दा जंगल मासिन्छ, वातावरणमा असर त पर्छ नै, के त्यसो भने बाटो नै नबनाउने त ? हो, प्रभावलाई कम गर्ने कार्य भने गर्नैपर्छ । त्यसो त रिपोर्टले विद्युत् आयोजनाले दिएको योगदान, स्थानीय सडक निर्माण र त्यस क्षेत्रको विकासका लागि दिएको अवसर लगायतका कुरालाई पूरै बेवास्ता गरेको छ ।

सोमराज वाग्ले, अनलाइनबाट

comments powered by Disqus

रमझम