६-१२ जेठ २०७५ | 20-26 May 2018

वनस्पतिको डेटा ब्यांक

Share:
  
- कमल मादेन

सन् १८०२ मा फ्रान्सिस् बुखानन् ह्यामिल्टनले काठमाडौंबाट संकलित केही वनस्पतिका नमूना र तिनका रंगीन स्केच एडवार्ड जेम्स स्मिथलाई पठाए । स्मिथले तीमध्ये केही नमूनाको विवरण र स्केचसहितको लेख १८०५ मा ‘एक्जोटिक बोटानी’ जर्नलमा छपाए, जसमध्ये मगर काँचेको एक प्रजाति ‘बेगोनिया पिक्टा’ पनि थियो । मगर काँचेको यही प्रजाति नेपालबाट वैज्ञानिक नाम पाउने पहिलो वनस्पति बन्यो ।

नेपाली वनस्पतिका यी र यस्ता थुप्रै ऐतिहासिक तथ्य समेटिएको पुस्तक हो, फ्लावरिङ प्लान्ट्स अफ नेपालः एन इन्ट्रोडक्सन । केशवराज राजभण्डारी, संजीवकुमार राई, गंगादत्त भट्ट, रीता क्षेत्री र सुवास खत्री लिखित र वनस्पति विभागद्वारा हालै मात्र प्रकाशित यो पुस्तकमा सन् १८०५ देखि २०१७ सम्मको वनस्पति अध्ययन अनुसन्धानसँग सम्बन्धित प्रकाशनको झल्को पाइन्छ ।

पुस्तकमा नेपाली वनस्पति अनुसन्धानकाललाई तीन खण्ड (पहिलोः १८०२–१९४७, दोस्रोः १९४८–१९८२ र तेस्रोः १९८३–२०१७) मा विभाजन गरिएको छ । दुई शताब्दी लामो यो अवधिमा कुन कुन पुस्तकमा के कस्ता नेपाली वनस्पति समावेश गरिएको छ भन्ने जानकारीसहितको उप–संहार पनि दिइएको छ । जसअनुसार, नेपालमा १९३ परिवार अन्तर्गत १ हजार ५१५ जातिका जम्मा ५ हजार ३०९ प्रजाति (घर पालुवाबाहेक) पाइएका छन् । उल्लिखित १९३ परिवारमध्ये ‘पोएसी’, ‘एस्टेरेसी’ र ‘अर्किडेसी’ परिवारका सबैभन्दा बढी क्रमशः ४०६, ३९४ र ३८१ प्रजाति सूचीकृत छन् ।

पुस्तक फ्लावरिङ प्लान्ट्स अफ नेपालः एन इन्ट्रोडक्सन

लेखक केशवराज राजभण्डारी, संजीवकुमार राई, गंगादत्त भट्ट, रीता क्षेत्री र सुवास खत्री

प्रकाशक वनस्पति विभाग

पृष्ठ ४३२+३२

पुस्तकले फ्लोरा अफ नेपाल प्रकाशनबारे १९९३–२०१७ सम्ममा भएका विभिन्न बैठक र उपलब्धिबारे पनि उल्लेख गरेको छ । यसका साथै वनस्पतिका कृति प्रकाशनको वर्तमान अवस्था र वनस्पति विभागको प्रयासको पनि चर्चा गरिएको छ । पुस्तकले फ्लोरा अफ नेपाल का कुल १० भागमध्ये बाँकी ९ भाग प्रकाशन हुन नसक्नुको कारण खोतल्ने चेष्टा गरेको छ ।

पुस्तकमा नेपाली वनस्पति

सन् १८१४ मा नेपालका वनस्पतिको सूची समेटिएको पहिलो पुस्तक होर्टस बेन्गालेन्सिस् प्रकाशित भएको देखिन्छ । विलियम रक्सबर्ग लिखित यो पुस्तकमा नेपालबाट ह्यामिल्टनले बीउ संकलन गरी रोयल बोटानिकल गार्डेन कलकत्तामा उमारिएका केही दर्जन प्रजातिका वनस्पति पनि समावेश छ । तर, वनस्पतिको सूची बाहेक अन्य विवरण नभएकाले रक्सबर्गको पुस्तकलाई नेपाली वनस्पति छापिएको पहिलो पुस्तक मान्न मिल्दैन ।

सन् १८२५ मा ल्याटिन भाषामा प्रकाशित डेभिड डनको पुस्तक प्रोडोमस् फ्लोरा नेपालेन्सिस् मा नेपालमा पाइएका ७१२ प्रजाति समावेश छन्, जसमध्ये धेरैजसो विश्वको निम्ति नयाँ थिए । कहिल्यै नेपाल नआएका डनले पनि ह्यामिल्टन र इडवार्ड गार्डनरबाट संकलित नमूनालाई नै आधार बनाएका थिए ।

त्यसो त सन् १८२०–२१ मा करीब एक वर्ष काठमाडौं बसेका नाथानियल वालिचको पुस्तक टेन्टामेन फ्लोरा नेपालेन्सिस् इलुस्टे«ट् को पहिलो भाग सन् १८२४ मै प्रकाशित भइसकेको थियो तर दोस्रो भाग सन् १८२६ मा मात्र छापिएकाले प्रोडोमस् फ्लोरा नेपालेन्सिस् लाई नै नेपाली वनस्पतिको पहिलो पुस्तक मानियो । पुस्तकले रक्सबर्ग लिखित होर्टस बेन्गालेन्सिस् र फ्लोरा इन्डिका लाई नेपालीलाई पहिलोपटक परिचित गराएको छ ।

नेपाल आएका बेलायतीहरुले उच्च हिमाली क्षेत्रमा पाइने फूल फुल्ने वनस्पतिको बीउ संकलन गर्दै आफ्नो मुलुक लैजान्थे । जुन केही वर्षअघिसम्म कायमै थियो । हिजोआज बेलायतका थुप्रै उद्यान, घर, होटलमा तिनै नेपाली बीउका फूलले ढकमक्क देखिन्छ । सन् १९७८ सम्म प्रकाशित पुस्तकहरुमा बेलायतमा १७४ प्रजाति नेपालको वनस्पति रोपिएको जनाइएको थियो । जसमध्ये गुराँसको एक प्रजातिसहित जम्मा ८ प्रजाति त नेपालकै रैथाने नै थिए । नेपालको एक रैथाने ‘प्रिमुला शर्मी’ बेलायतमै उमारेर त्यहीं अध्ययन गरेपछि सन् १९४१ मा नामकरण भएको हो । तर, पुस्तकमा नेपालको वनस्पति प्रजाति त्यहाँ उल्लिखित संख्या जति मात्र हो भन्न सकिन्न । यसैगरी सन् १९७८ यता कति नेपाली बीउ बेलायत पुर्‍याइयो भन्ने तथ्यांक हामीसँग छैन ।

वनस्पति विभागद्वारा २०१५ मा प्रकाशित अ ह्यान्डबूक अफ द अर्किड्स अफ नेपाल अनुसार, नेपालमा ४५१ प्रजातिको सुनाखरी पाइएका थिए । तर, पछिल्लो पुस्तकले ३८१ प्रजाति मात्र गणना गरेको छ । खासगरी एमएल बेनर्जी र पी प्रधान लिखित द अर्किड्स अफ नेपाल हिमालय (सन् १९८४) र सि. ह्वाइट र बि. शर्मा लिखित वाइल्ड अर्किड्स अफ नेपालः अ गाइडलाइन इन दि हिमालयन अर्किड्स अफ त्रिभुवन राजपथ एण्ड चितवन जंगल (सन् २०००) मा उल्लिखित कतिपय सुनाखरीका प्रजाति फेला नपरेको पुस्तकमा जनाइएको छ ।

पुस्तकमा उल्लिखित अधिकांश पुस्तक पुस्तकालयमा पाइन्न । त्यसैले पनि यो पुस्तक नेपाली वनस्पति अध्ययन अनुसन्धान गर्नेले नपढी हुन्न । पुस्तकको नाममै ‘एक परिचय’ जोडिए पनि २०० वर्षसम्मको तथ्य, तथ्यांक समेटिएकाले यसलाई नेपाली वनस्पतिको महाग्रन्थ भने फरक पर्दैन । पुस्तकका मुख्य लेखक केशवराज राजभण्डारी वनस्पति अध्ययन अनुसन्धानका लागि सिद्धहस्त नाम हुन् । प्रस्तुत पुस्तकलाई उनको जीवनकालकै एक महत्वपूर्ण कृतिका रुपमा लिन सकिन्छ । राजभण्डारीको अध्ययनमा थप जोडबल र सहयोग गर्ने अन्य लेखकहरु पनि धन्यवादका पात्र छन् ।

comments powered by Disqus

रमझम