६-१२ जेठ २०७५ | 20-26 May 2018

सगरमाथामा कीर्तिमानको ओइरो

Share:
  
यस वर्ष पर्वतारोहणको पहिलो सिजन सकिनुअगावै सगरमाथामा नयाँ–नयाँ कीर्तिमान बनिसकेका छन्।

वसन्त वर्षको त्यस्तो याम हो जुनबेला आरोहीका आँखा मात्रै होइन पाइला पनि हिमालको चुचुरोतर्फ लम्किरहेका हुन्छन् । अहिले आरोही र शेर्पा गाइडहरू सगरमाथाको चुचुरोमा पाइला राख्न आधारशिविरबाट उत्साहका साथ माथि–माथि लम्किरहेका देखिन्छन् । उत्सवमय छ, सगरमाथा ।

यसपटक ४ जेठसम्म २०० भन्दा बढीले सगरमाथा आरोहण गरिसकेका छन् भने अन्य उक्लिरहेका छन् । आधारशिविरमा रहेका सम्पर्क अधिकारी तिलकराम पाण्डेका अनुसार पर्वतारोहणका लागि मौसमको अनुकूलता आगामी सातासम्म कायमै रहनेछ । उनी भन्छन्, “यो वर्ष सगरमाथामा थुप्रै नयाँ कीर्तिमान बनेका छन्, थप बन्ने अपेक्षा गरेका छौं ।”

२ जेठमा मात्रै दुई कीर्तिमान बने । दुईजना शेर्पा गाइडले आफ्नो कीर्तिमान आफैंले तोडेर नयाँ कीर्तिमान बनाए भने दुवै खुट्टा नभएका चिनियाँ नागरिक सिया पोयुले सफलतापूर्वक सगरमाथा आरोहण गरेर विश्वलाई चकित पारे । त्यसको भोलिपल्ट इटालियन अन्तरिक्ष यात्री माउरिजियो चेलीले पृथ्वीको सर्वोच्च शिखरमा पुग्ने पहिलो युरोपियन अन्तरिक्ष यात्रीको कीर्तिमान बनाए ।

सोलुखुम्बुका कामीरिता शेर्पा (४८) ले पनि २२औं पटक शिखरमा पुगेर विश्वमा सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गरेको कीर्तिमान राखे भने नवौं पटक चुचुरोमा पुगेकी लाक्पा शेर्पा (४४) ले सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने महिलाको कीर्तिमान बनाइन् । सेभेन समिट्स ट्रेक्स का मिङ्मा शेर्पा भन्छन्, “कामीरिता शेर्पा नयाँ लिजेन्ड हुन्, नयाँ अप्पा शेर्पा ।”

२ जेठ बिहान लाक्पा शेर्पाले नवौं पटक सगरमाथा चढेर कीर्तिमान राख्दै गर्दा अरु आरोही भने अक्सिजनको समस्यासँग जुधिरहेका थिए । अक्सिजन सिलिण्डरमा आएको खराबीको कारण २६ आरोही बीचबाटै ओरालो लाग्नु परेको थियो । केहीलाई भने शेर्पा गाइडहरूले आफ्नो अक्सिजन सिलिण्डर दिए– आफ्ना लागि जोखिम मोल्दै ।

यसपटकको पर्वतारोहणमा २ जेठसम्म सबै आरोही सुरक्षित रहेको पर्वतारोही अलन अर्नेटले आफ्नो ब्लगमा लेखेका छन् । तर आरोहीका सिलिण्डर रेगुलेटरमध्ये १० वटा रेगुलेटरले एक्कासी काम नगर्दा केही टोलीले यात्रालाई विराम दिनुपर्‍यो । अर्नेटका अनुसार ती सिलिण्डर समिट अक्सिजन (एसओ) ले उपलब्ध गराएको थियो । उनले ब्लगमा सबै सुरक्षित भन्दाभन्दै पनि यसपटक सगरमाथा र मकालुमा गरी दुई शेर्पा गाइडले ज्यान गुमाएका छन् ।

यो सिजनमा २९ वटा हिमालमा गरी ८३९ जनाले हिमाल आरोहण गरेका वा गर्दैछन् । जसबाट १ हजार २०० हाईअल्टिच्यूड गाइड र हजारौं भरियाहरूले रोजगारी पाए । सगरमाथा मात्रै आरोहण गर्न स्वीकृति लिएका ३४६ मध्ये ३२६ जना विदेशी छन् । नेपाली पत्रकार महिलाको समूहसहित १५ नेपाली महिला पनि सगरमाथा आरोहणका क्रममा छन् ।

अन्तरिक्ष सम्बन्धी अनुसन्धान गर्ने अमेरिकी संस्था नासाले दुई जुम्ल्याहा दाजुभाइमध्ये एक स्कट केलीलाई गत वर्ष अन्तरिक्षमा पठाएर र अर्कोलाई पृथ्वीमै राखेर गरेको संभावित आनुवंशिक परिवर्तनको अध्ययन जस्तै सगरमाथामा पनि अर्का दुई जोडी जुम्ल्याहा अमेरिकी दाजुभाइले आफ्नो शरीरमा आउन सक्ने आनुवंशिक परिवर्तनको अध्ययन गर्दैछन् । जुम्ल्याहा दुई जोडी (चार जना) मध्ये दुई जना सगरमाथा आरोहणका क्रममा छन् भने उनीहरूका जुम्ल्याहा दाजुभाइ दुई जना समुद्र सतहको उँचाइमा बसेका छन् । आरोहणमा रहेका यी दुई अमेरिकीले केही दिनअघि क्याम्प–३ बाट क्याम्प–२ सम्म स्की गरेपछि विवाद समेत भएको थियो ।


२२ औं पटक शिखरमा

“देशलाई रेकर्ड चाहिन्छ तर रेकर्ड राख्ने मान्छे चाहिंदैन”, १४ चैतमा सगरमाथा आधारशिविर जानुअघि कामीरिता शेर्पाले हिमाल सँग भनेका थिए ।

सोलुखुम्बुको खुम्बु–पासाङल्हामु–५ थामेका ४८ वर्षीय उनै कामीरिताले २ जेठ बिहान साढे आठ बजे २२औं पटक सगरमाथाको शिखर टेकेका छन् । र, विश्वमै सबैभन्दा बढी पटक सगरमाथा आरोहण गर्ने व्यक्तिका रुपमा देशकै मान बढाएका छन् ।

सेभेन समिट्स ट्रेक्स्का गाइड शेर्पा नौ चिनियाँ पदयात्रीसँगै १ जेठ राति क्याम्प फाइभबाट उकालो लागेर अर्को दिन बिहान शिखरमा पुगेका थिए । यसअघि कामीरितासँगै आप्पा शेर्पा र फुर्वाटासी शेर्पाले २१औं पटक सगरमाथा आरोहणको कीर्तिमान बनाएका थिए । आप्पा र फुर्वाटासी दुवैले पुनः सगरमाथा चढ्ने सम्भावना नरहेको बताउँदै आएका छन् ।

आरोहणअघि कुरा गर्दै कामीरिताले कीर्तिमानको भोक आफूमा नभएको तर, पेशा नै यही भएकाले चढ्नु परेको पटकपटक बताएका थिए । “थुप्रै शेर्पाहरूले कीर्तिमान बनाएका छन्, आङरिता शेर्पाले विना अक्सिजन १० पटकसम्म सगरमाथा चढेर वल्र्ड रेकर्ड बनाएका छन्, खै के भएको छ र ?” उल्टै उनले प्रश्न तेस्र्याए, “कीर्तिमान बनाएपछि के हुन्छ ?”

“कामीरिताले विश्व कीर्तिमान बनाएर देशलाई ठूलो गुन लगाएका छन्, अब उनी जस्ता कीर्तिमानधारी आरोहीलाई कसरी सम्मान गर्ने भन्ने दायित्व सरकारको हो”, नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष आङछिरिङ शेर्पा भन्छन् ।

सन् १९९२ देखि पर्वतारोहण क्षेत्रमा काम थालेका कामीरिताले १९९८ मा पहिलो पटक गाइडकै रुपमा सगरमाथा आरोहण गरेका थिए । २००९, २०१० र २०१३ मा उनले एकै सिजनमा तीनपटकसम्म सगरमाथाको शिखर टेके । उनका दाजु लाक्पारिताले पनि १७ पटक सगरमाथा आरोहण गरिसकेका छन् ।

थामे प्राविमा कक्षा ४ सम्म पढेका कामीरिता अहिले बौद्धमा डेरा गरी बस्छन् । छोरो कक्षा १२ मा पढिरहेका छन् भने छोरीले एसईई परीक्षा दिएकी छन् । आरोही शेर्पाको भविष्यप्रति चिन्तित देखिने कामीरिता छोराछोरी भने सगरमाथा नचढुन् भन्ने चाहन्छन् । “सरकारले हिमालको राजस्वमा मात्र ध्यान दिएको छ, हामी शेर्पाको भविष्यबारे सोचेको छैन” उनको गुनासो छ, “सिजनको कमाइले परिवार धान्ने हो, तलमाथि केही भइहाले कसले हेर्ने !”

गुनासोबीच पनि कामीरिताको कर्म भने जारी छ । साथीहरूले उनलाई ३०औं पटकसम्म सगरमाथा चढ्न हौस्याइरहेका छन् । “तर, २५ पटकसम्म म चढ्छु भन्ने लाग्छ,” उनी भन्छन् ।

रविन गिरी

comments powered by Disqus

रमझम